काठमाडौँ- नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन समितिले जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशलाई बेवास्ता गर्दै उपाध्यक्ष (बागमती प्रदेश संयोजक) पदका उम्मेदवार डा. अरुण शाहीको उम्मेदवारी खारेजीलाई निरन्तरता दिएको छ।
पूर्वनिर्धारित मितिभन्दा एक दिन ढिला गरी निर्वाचन समितिले आज साँझ सार्वजनिक गरेको उम्मेदवाररहरूको अन्तिम नामावलीमा डा. शाहीको नाम समावेश गरिएको छैन। उपाध्यक्ष पदका लागि उम्मेद्धारी दिएका डा. शाहीको नाम अन्तिम सूचीबाट हटाइएपछि निर्वाचन प्रक्रिया थप विवादमा तानिएको छ।
निर्वाचन समितिले चार दिनअघि डा. शाहीले वारेसनामामार्फत दिएको उम्मेदवारी रित नपुगेको दाबी गर्दै उम्मेद्वारी रद्ध गरिएको जनाएको थियो। तर, यस निर्णयविरुद्ध परेको उजुरीपछि मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेपाल चिकित्सक संघको आसन्न निर्वाचनका लागि डा. अरुण शाहीको उम्मेदवारी कायम गर्न निर्वाचन समितिलाई आदेश दिएको थियो। जिप्रकाले निर्वाचनसम्बन्धी नियमावलीविपरीत उम्मेदवारी खारेज गरिएको ठहर गर्दै निर्णय सच्याउन निर्देशन दिएको हो।
तर, जिप्रकाको आदेशपछि पनि निर्वाचन समितिले आफ्नो अडान परिवर्तन गरेन। आज समितिका संयोजक डा. प्रणयरत्न शाक्यद्वारा हस्ताक्षरित सूचनामा जिप्रकाबाट प्राप्त पत्र तथा निर्वाचन नियमावलीको अध्ययन गरिएको उल्लेख गर्दै पूर्व प्रकाशित सूचना बमोजिम रितपूर्वक उम्मेद्वारी दिएका उम्मेद्वारहरूलाई मात्र निर्वाचन प्रक्रियामा समावेश गरिएको दाबी गरिएको छ।
जिल्ला प्रशासनको आदेश बेवास्ता गर्दै अन्तिम नामावली सार्वजनिक गरिएपछि निर्वाचन समितिको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।