काठमाडौं- नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनको मतगणना आज १२ बजेदेखि सुरु हुने भएको छ। मतगणना जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण केन्द्रको हलमा हुने काउन्सिलले जनाएको छ।
काउन्सिलका रजिस्ट्रार डा. सतिश देवका अनुसार मतगणनामा करिब दुई दिन लाग्ने अनुमान गरिएको छ। सुरक्षाका साथै आवश्यक प्राविधिक तयारी पूरा भइसकेको र समयमै मतगणना सुरु गरिने उनले जानकारी दिए।
निर्वाचनमा काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी कुल ११ हजार ९ सय २२ मत खसेको छ। तीमध्ये काठमाडौं उपत्यकामा ५ हजार ७६ मत खसेको छ भने उपत्यका बाहिर ६ हजार ८ सय ४६ मत खसेको रजिस्ट्रार डा. देवले बताए।
एक उपाध्यक्ष र आठ सदस्य पदका लागि भएको निर्वाचन काठमाडौं उपत्यका बाहिर पुस ४ र ५ गते तथा काठमाडौं उपत्यकामा पुस ११ र १२ गते सम्पन्न भएको थियो। काउन्सिलको निर्वाचनका लागि देशभर २१ मतदान केन्द्र तोकिएको थियो।
निर्वाचनमा एक उपाध्यक्ष पदका लागि तीन जना तथा आठ सदस्य पदका लागि ३३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।