काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नागरिक समाज आयोगको प्रभावशाली 'स्टियरिङ कमिटी' मा नेपालबाट जुनू श्रेष्ठ चयन भएकी छिन्।
विश्वभरका पाँच सयभन्दा बढी नागरिक समाज संस्थाहरू आबद्ध रहेको यस आयोगको नेतृत्वदायी निकायमा प्रतिनिधित्व गर्ने श्रेष्ठ एकमात्र नेपाली हुन्।
श्रेष्ठ हाल 'इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस'मा 'सिनियर पोलिसी एन्ड एड्भोकेसी म्यानेजर' को रूपमा कार्यरत छिन्। विश्वव्यापी आँखा स्वास्थ्य नीति र बहुपक्षीय वकालतमा उनको लामो अनुभव रहेको छ। यसका साथै, उनी नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा समेत नीतिगत तहमा क्रियाशील छिन्।
श्रेष्ठले आफ्नो भूमिकामार्फत विश्वभरका नागरिक समाजका साझा चासो र अनुभवलाई डब्लुएचओको नीति तथा निर्णय प्रक्रियासँग जोड्ने प्रतिबद्धता व्यक्त गरिन्। 'नागरिक समाज–केन्द्रित सहभागिता, समावेशी संवाद र उत्तरदायी स्वास्थ्य शासन प्रवर्द्धनमा मेरो सक्रिय योगदान रहनेछ,' उनले भनिन्।
विश्व स्वास्थ्य नीति निर्माण, कार्यक्रम कार्यान्वयन र उत्तरदायित्वमा नागरिक समाजको सशक्त सहभागिता सुनिश्चित गर्ने उद्देश्यले डब्लुएचओले यस आयोगको स्थापना गरेको हो। आयोगको सर्वोच्च अङ्गको रूपमा रहेको स्टियरिङ कमिटीले समग्र रणनीतिक दिशा तय गर्ने, कार्ययोजना निर्माण गर्ने र डब्लुएचओसँगको सहकार्यलाई वैश्विक तथा राष्ट्रिय तहमा सुदृढ बनाउने भूमिका निर्वाह गर्दछ।
हालसम्म यस आयोगले विश्व स्वास्थ्य सभामा नागरिक समाजको प्रभावकारी सहभागिता सुनिश्चित गर्न, जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी संवादहरूमा योगदान पुर्याउन, युवा सहभागिता प्रवर्द्धन गर्न तथा दिगो स्वास्थ्य वित्तीयकरणका विषयहरूमा महत्वपूर्ण पहलहरू गरिसकेको छ। यति प्रभावशाली र सक्रिय प्लेटफर्मको नेतृत्व तहमा नेपाली प्रतिनिधित्व हुनु नेपालको नागरिक समाजको अन्तर्राष्ट्रिय पहिचान र प्रभाव विस्तार हुने उपलब्धिका रूपमा हेरिएको छ।