काठमाडौं- नेपाल मेडिकल काउन्सिलको फुलहाउस बैठकले डा. यसोदा रिजाललाई दुई महिना निलम्बन गर्ने निर्णय दिएको छ। त्यसैगरी अर्का एक चिकित्सकलाई चेतावनी दिने र एकजनामाथि छानविन गर्ने निर्णय पनि गरेको छ।
अदालतको आदेशपछि पनि काउन्सिलले कारबाही गर्न आनाकानी गरेको विषयमा चौतर्फी दबाब परेपछि डा रिजाललाई निलम्बन गर्ने प्रस्ताव फुलहाउसमा लगिएको थियो। यसअघि उजुरी परेका र थाती रहेका अन्य दुई मुद्दामा पनि छलफल भएको हो। औपचारिक निर्णय भने ७२ घन्टापछि मात्रै सार्वजनिक हुनेछ।
काउन्सिल स्रोतका अनुसार डा रिजालले पुनरावेदन गरिसकेको भएकाले हाललाई २ महिना निलम्बन र पछि अदालतको फैसला आए त्योअनुसार निर्णय गर्नेगरी माइन्युट लेख्न फुलहाउसले 'म्यान्डेट' दिएको हो। अदालतबाट झुटा प्रमाण बनाएको अभियोगमा दोषी ठहर भइसकेकी डा. रिजालमाथि कारबाही गर्न काउन्सिलले लामो समय ढिलाइ गरेको आरोप पीडितको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोना सिंहको इजलासले २०८२ असार २३ मा फैसला गर्दै डा. यसोदा रिजाल र उनका बुबा दिवाकर रिजाललाई जनही एक महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो। फैसलामा डा. रिजालले अदालतलाई प्रभाव पार्ने उद्देश्यले झुटा चिकित्सकीय प्रमाण तयार गरेको ठहर गरिएको छ।
यो प्रकरण जबर्जस्ती करणी मुद्दासँग जोडिएको छ। एक पीडित महिला र दिवाकर रिजालबीच अंश मुद्दाको क्रममा चिनजान भएको थियो। त्यही सम्बन्धको लाभ लिँदै उनले जबर्जस्ती करणी गरेको सीताको आरोप थियो। उनले मुद्दा दायर गरिन् । तर करणी गरेको भनिएको समयमा दिवाकरले आफू नुवाकोटको खरानीटार अस्पतालमा उपचाररत रहेको भन्दै अदालतमा कागजात पेश गरेका थिए।
जाँचबुझका क्रममा उक्त कागजात डा. यसोदा रिजालले तयार पारेको पाइएको थियो। उच्च रक्तचापका कारण एक रात अस्पताल भर्ना गरिएको झुटो विवरण बनाइएको अदालतले ठहर गरेको छ। डा. यसोदा रिजाल खरानीटार अस्पतालको प्रमुख जिम्मेवारीमा थिइन् र दिवाकर उनका बुबा हुन्।
पीडित पक्षले ३० असोज २०७९ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उजुरी दिएपछि मन्त्रालयले छानबिन गरी आवश्यक कारबाही गर्न नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरेको थियो। मन्त्रालयको पत्रमा एकै दिन एउटै व्यक्ति अदालत र अस्पताल दुवै ठाउँमा उपस्थित देखिनु, बिना बिल र डाक्टरको नाम नखुलाइ कागजात बनाइनु गम्भीर व्यावसायिक आचरण उल्लंघन भएको उल्लेख गरिएको छ।
उक्त मुद्दा अदालतमा विचाराधीन रहँदै डा. रिजालले नेपाल मेडिकल काउन्सिलबाट ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिई अमेरिका पुगेकी छिन्। दोषी ठहर हुने निश्चित भएपछि नै उनले देश छाडेको आरोप पीडित पक्षको छ।