काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएसँगै राज्यका विभिन्न निकायमा रहेका राजनीतिक नियुक्तिहरू खारेज गर्ने चर्चाले तीव्रता पाएको छ। प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेलगत्तै विभिन्न मन्त्रालय र सार्वजनिक निकायहरूमा भएका राजनीतिक नियुक्तिको विवरण संकलन कार्य सुरु भइसकेको छ।
स्वास्थ्य क्षेत्रमा पनि विभिन्न निकायहरुमा राजनीतिक नियुक्तिहरु हुँदै आइरहेको छ। विशेषगरी अस्पताल विकास समितिमा राजनीतिक पहुँचका आधारमा सोझै नियुक्ति दिने गरिन्छ भने परिषदहरुमा पनि राजनीतिक आस्थाका आधारमा नियुक्ति दिँइदै आएको देखिन्छ।
स्वास्थ्य क्षेत्र अन्तर्गतकै विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा कार्यरत उपकुलपतिहरूको नियुक्तिलाई लिएर पछिल्लो समय ठूलो जिज्ञासा उत्पन्न भएको छ।केहीले राजनीतिक भागवन्डाका आधारमा उपकुलपतिहरु नियुक्ति भइरहेको तर्क गरिरहेका छन् भने केहीले उपकुलपतिहरु प्रतिस्पर्धाबाट आउने भएकाले राजनीतिक नियुक्ति मान्न नमिल्ने बताइरहेका छन्।
स्वास्थ्यखबरमा पनि यो विषयमा धेरै जिज्ञासा आइरहेको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुको नियुक्ति पनि राजनीतिक हुन् र नयाँ सरकारको 'खारेजी सूची'मा पर्छन्? भन्ने जिज्ञासाका विषयमा स्वास्थ्यखबरले स्वास्थ्य मन्त्रालय र सम्बन्धित कानुनी प्रावधानहरूका विषयमा खोजी गरेको छ।
के स्वास्थ्यका उपकुलपति राजनीतिक नियुक्ति हुन्?
सामान्यतया विश्वविद्यालय र प्रतिष्ठानका शीर्ष पदहरूमा दलीय भागबन्डा हुने गरेको आरोप लाग्दै आए पनि स्वास्थ्य मन्त्रालयका अधिकारीहरू भने प्रतिष्ठानका उपकुलपति चयन प्रक्रिया 'विशुद्ध राजनीतिक' नभएको दाबी गर्छन्।
स्वास्थ्यखबरलाई प्राप्त जानकारी अनुसार हाल सञ्चालनमा रहेका ६ संघीय र २ प्रदेश गरी आठवटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू एक विशिष्ट कानुनी प्रक्रिया र मापदण्डका आधारमा छनोट गरिएका हुन्।
उपकुलपतिहरुको नियुक्ति सम्बन्धित प्रतिष्ठानको ऐन र नियमावली तथा मन्त्रिपरिषद्ले २०७३ सालमा पारित गरेको 'स्वास्थ्य मन्त्रालय अन्तर्गतका सार्वजनिक निकायका पदाधिकारी नियुक्तिको मापदण्ड र मनोनयन सम्बन्धी मापदण्ड' अनुसार भएका छन्। उपकुलपतिको नियुक्ति अघि सरकारले उपकुलपतिको नाम सिफारिसका लागि छनोट कमिटी बनाउने गर्छ। छनोट कमिटीले ऐन नियम र मापदण्ड अनुसार सार्वजनिक सूचना आह्वान गर्ने गरेको छ।
सार्वजनिक सूचना अनुसार उपकुलपतिका लागि योग्यता पुगेकाहरुले कमिटीमा आवेदन दिने छन्। यसरी आवेदन दिएका उम्मेदवारहरुको योग्यता, अनुभव र मापदण्ड अनुसारका सबै विवरण हेरेपछि सर्च कमिटीले प्रक्रिया पूरा गरेकाहरुको विवरण सार्वजनिक गर्ने छ। प्रक्रियामा आएकामध्येको विवरणहरु हेरेर कमिटीले सर्ट लिस्ट सार्वजनिक गर्ने छ। सर्ट लिस्टमा परेका उम्मेदवारहरुलाई कार्ययोजना प्रस्तुती र अन्तर्वार्ताका लागि बोलाइन्छ।
छनोट कमिटीले कार्ययोजना प्रस्तुती र अन्तर्वार्ताका आधारमा उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गर्ने र ती तीन जनामध्ये कुलपतिले एक जनालाई नियुक्त गर्ने प्रक्रिया रहेको छ।
'कानुन अनुसार प्रक्रियाहरु पूरा गरी प्रतिस्पर्धाबाट मात्रै नियुक्ति हुने भएकाले उपकुलपतिहरुको नियुक्तिलाई सिधै राजनीतिक नियुक्ति भन्न मिल्दैन' मन्त्रालयका एक उच्च तहका कर्मचारीले स्वास्थ्यखबरसँग भने।
उनका अनुसार स्वास्थ्य प्रतिष्ठानका उपकुलपतिहरूको हकमा ऐन र नियमावलीअनुसार प्रतिस्पर्धाबाट आएकाले उनीहरूलाई सोझै हटाउन कानुनी जटिलता हुन सक्ने देखिन्छ।
एक पूर्व उपकुलपतिले नाम उल्लेख नगर्ने सर्तमा भने 'कुनै प्राज्ञिक व्यक्ति कुनै एक प्रतिष्ठानमा २० देखि २५ वर्षसम्म काम गरेर त्यही संस्थाको उच्च ओहोदाको पद उपकुलपतिमा नियमअनुसार प्रतिस्पर्धाबाट नियुक्त हुन्छ भने त्यसलाई राजनीतिक नियुक्ति भन्न मिल्दैन।बरु उसको बढुवा भएर उच्च तहको जिम्मेवारी पाएको भन्न मिल्छ।'
उपकुलपतिहरुको नियुक्तिका विषयमा कानुनी प्रक्रिया स्पष्ट भए तापनि व्यावहारिक रूपमा राजनीतिक प्रभाव रहने गरेको गुनासो र बहस भने सधैँ हुने गर्छ। प्रतिष्ठानको माथिल्लो ओहोदामा प्रधानमन्त्री कुलपति र स्वास्थ्य सह-कुलपति रहने संरचनाले गर्दा राजनीतिक नेतृत्वको रुचि प्रत्यक्ष देखिने भएकाले पनि यसलाई व्यवहारिक रुपमा भने राजनीतिक नियुक्ति मान्ने गरिन्छ। यसका साथै विगतका धेरै नियुक्तिहरू राजनीतिक दलहरूबीचको शक्ति सन्तुलन वा 'भागबन्डा' का आधारमा हुने गरेको भन्दै बौद्धिक जगतले आलोचना गर्दै आएका पनि छन्।
सरकारले राजनीतिक नियुक्तिको विवरण संकलन गरिरहँदा स्वास्थ्य क्षेत्रका यी प्राज्ञिक र प्राविधिक पदहरूलाई कुन दृष्टिले हेर्छ भन्ने विषय भने पछिल्लो समय चासोका रुपमा हेरिएको छ।
संघीय स्वास्थ्य मन्त्रालय अन्तर्गत हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन्।
न्याम्समा प्राडा भुपेन्द्र बस्नेत, बीपीमा प्राडा विक्रम प्रसाद श्रेष्ठ, पाटनमा प्राडा बुद्धि प्रसाद पौडेल, कर्णालीमा सह-प्राडा पुजन कुमार रोकाया र पोखरामा प्राडा भरत बहादुर खत्री उपकुलपति छन्। राप्तीमा भने उपकुलपति पद रिक्त रहेकाले रजिष्ट्रार श्याम लम्सालले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका छन्।