काठमाडौं– कामको व्यस्तताले गर्दा आफ्नो स्वास्थ्य जाँच गर्न भ्याउनुभएको छैन? वा स्वास्थ्य जाँचकै लागि कार्यालयमा बिदा मागिरहनुपर्ने हुन्छ?
अन्य दिन कार्यालय जानुपर्ने हुँदा स्वास्थ्य उपचारमा जान फुर्सद नपाउने र शनिबार अस्पतालहरुको सेवा पनि बन्द हुने कारणले धेरैले चाहेर पनि आफ्नो स्वास्थ्य जाँच समयमै गराउन पाउनुभएको छैन होला। कार्यव्यस्तताकै कारण कतिले त स्वास्थ्यमा समस्या नै देखिदा पनि उपचारमा बेवास्ता गरिरहनुभएको छ होला।
अब यस्तो समस्यामा रहेका व्यक्तिहरुले चिन्ता नलिहोस्। कामकाजी व्यक्तिलाई लक्षित गर्दै नर्भिक अस्पतालले शनिबार पनि अस्पतालको ओपीडी सहित प्रयोगशालाद लगायतका सेवा सञ्चालनमा ल्याएको छ। थापाथलिस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको सेवा अब शनिबार पनि खुला रहने भएको छ। यसअघि शनिबार आकस्मिक सेवा मात्र खुला रहने गरेको थियो।
अस्पतालको ओपीडी र प्रयोगशाला परीक्षण लगायतका सेवाहरु बैशाख १२ गते शनिबार देखि लागु हुने गरि हरेक शनिबार पनि खुला रहने व्यवस्था गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अजयकुमार मिश्रले जानकारी दिए।
सिइओ मिश्रका अनुसार शनिबारका लागि नियमित सञ्चालनमा रहेको आकस्मिक सेवासँगै अब ओपीडी सेवा अन्तर्गत रहेको डाक्टरको परामर्श, प्रयोगशाला परीक्षण, इमेजिङ सेवाहरु जस्तैः एक्सरे, सिटी स्क्यान, एमआरआई र स्वास्थ्य जाँचहरु शनिबार पनि खुला रहनेछन्।
यी सेवाहरुमा वैशाखभरका लागि १० प्रतिशत छुटको व्यवस्था समेत गरेको सिइओ मिश्रले जानकारी दिए।