काठमाडौं- स्वास्थ्यखबर हेल्थ अवार्डको १४औं संस्करणको लागि आवेदन तथा मनोनयन प्रक्रिया खुला गरिएको छ। हेल्थ अवार्डका लागि असार १२ गते शुक्रबार देखि असार ३२ गते बिहीबारसम्म २१ दिनको समयभित्र आवेदन दिन सकिनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा स्वास्थ्य खबर फाउन्डेसनले स्वास्थ्यमा केन्द्रित रहेर काम गरिरहेका चिकित्सक, नर्स, जन/स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था, स्वास्थ्य अभियान्ता र स्थानीय तहलाई हेल्थ अवार्ड प्रदान गर्न लागेको हो।
यस वर्ष विभिन्न ७ वटा विधामा अवार्ड प्रदान गरिनेछ।
स्वास्थ्यका क्षेत्रमा कार्यरत व्यक्ति र संस्थाहरुले पुर्याइरहेका योगदानको कदर गर्दै अवार्ड प्रदान गर्न लागिएको फाउन्डेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
स्वास्थ्य क्षेत्रमा सक्रिय रुपमा काम गर्ने, सेवा प्रवाह, नीतिगत सुधार, अध्ययन अनुसन्धान वा स्वयंसेवा गर्दै आएका डाक्टर, नर्स, पारामेडिक्स, जनस्वाथ्यकर्मी, नीतिगत वकालतकर्ता, स्थानीय तह अभियानकर्ता तथा स्वास्थ्य क्षेत्रका संघसंस्थाहरुले समेत यस अवार्डमा सहभागिता जनाउन सक्नेछन्। प्राप्त आवेदन तथा मनोनयनहरुको मूल्यांकन स्वास्थ्य मन्त्रालयको सुपरिवेक्षणमा विज्ञहरु सम्मिलित स्वतन्त्र छनोट समिति मार्फत गरिने छ।
अवार्डका लागि व्यक्ति स्वंयले आवेदन दिन वा अन्य व्यक्तिले सिफारिस समेत गर्न सक्नेछन्। यो विधामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रमा कार्यरत जनशक्ति तथा संस्थाले समेत आवेदन दिन पाउने छन्।
यही भदौ महिनामा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी अवार्ड प्रदान गरिनेछ।
यस वर्षका विधाहरु
१. चिकित्सक
२. नर्स
३. जन/स्वास्थ्यकर्मी
४. स्वास्थ्य संस्था
५. महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका
६. स्वास्थ्य अभियान्ता
७. स्थानीय सरकार
अवार्डको लागि आवेदन तथा मनोनयनका मुख्य पक्षहरु
१. अवार्डका लागि आवेदन, सिफारिस तथा मनोनयनका लागि [email protected] मा इमेल गर्न सक्नुहुनेछ। वा यो लिंक [आवेदन/मनोनयन/सिफारिस फर्म- Click Here] मा गएर फर्म भर्न सक्नु हुने छ। (यो लिंकमा कुनै समस्या आएमा वा फर्म भर्न समस्या भएमा तपाईंहरुले [email protected] यो इमेलमा आवेदन सिफारिस र मनोनयन गर्न सक्नुहुने छ।)
२. अवार्ड दाबीकर्ता (आवेदक स्वयं वा मनोनयन गरिने व्यक्ति) ले स्वास्थ्य क्षेत्रमा गरेका योगदान संक्षिप्तमा उल्लेख गरिदिनुहोला।
३. अवार्डका लागि स्वास्थ्यका क्षेत्रमा गरेका कामको तथ्य तथ्यांक। सकेसम्म छोटो तर सान्दर्भिक सन्दर्भ सामग्री जस्तै फोटो, छोटो भिडियो, सम्मान आदि पनि चर्चा गर्न सकिनेछ।
४. स्वास्थ्यका क्षेत्रमा सृजनशील, अनुकरणीय र प्रेरणादायी कार्य गरेको।
५. दुर्गम तथा सिमित स्रोत साधन भएका क्षेत्रमा रहेर उदाहरणीय कार्य गरेको।