नेपाल चिकित्सक संघको काउन्सिल परिषद्मा निर्वाचित सम्पूर्ण साथीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
बधाईसँगै केही अनुरोध पनि छन्।
तपाईंहरूले चिकित्सकहरूको विश्वास र मत प्राप्त गरेर यो जिम्मेवारी पाउनुभएको छ। आशा छ, यस निर्वाचनले तपाईंहरूलाई एउटा महत्त्वपूर्ण अनुभव पनि गराएको होला-चिकित्सकहरूको विश्वास जित्न कति मेहनत गर्नुपर्छ भन्ने।
नेपाल चिकित्सक संघ तथा नेपाल मेडिकल काउन्सिलका निर्वाचनमा हामीमध्ये धेरै चिकित्सकहरू उम्मेदवार बनेका थियौँ। महिनौँ दिन खटिएका थियौँ। अस्पताल–अस्पताल पुगेका थियौँ। प्रत्येक चिकित्सकलाई नमस्कार गर्दै मत मागेका थियौँ। मेचीदेखि महाकालीसम्म पुगेका थियौँ। परिवारबाट समय छुट्याएर यात्रा गरेका थियौँ, व्यक्तिगत खर्च पनि गरेका थियौँ।
यो सबै केवल एउटा पद प्राप्त गर्नका लागि मात्र थिएन; निर्वाचित भएर चिकित्सक र नेपालको स्वास्थ्य क्षेत्रका लागि केही राम्रो गरौँ भन्ने उद्देश्यले थियो।
यसपटक काउन्सिल परिषद्को निर्वाचनमार्फत तपाईंहरूले पनि त्यस यात्राको एउटा सानो अंश अनुभव गर्नुभएको छ। व्यक्तिगत रूपमा म यो निर्वाचन भएकोमा निकै खुसी छु। सायद यही अनुभवले हामीले विगतमा गरेको मेहनत, हाम्रो भावना र हाम्रो उद्देश्यलाई तपाईंहरूले अझ नजिकबाट बुझ्नुहुनेछ भन्ने आशा छ।
निर्वाचनका दिन धेरै साथीहरूले मलाई भन्नुभएको थियो :
“चुनाव त निकै गाह्रो हुँदो रहेछ, तपाईंहरू कसरी महिनौँ दिन यसरी हिँड्नुभएको थियो दाइ?”
हो, चुनाव गाह्रो हुन्छ।
तर त्योभन्दा पनि ठूलो कुरा हो- चिकित्सकहरूको विश्वास जित्नु र त्यो विश्वासलाई जिम्मेवारीमा रूपान्तरण गर्नु।
कसैलाई काउन्सिल परिषद्को भूमिका खासै आवश्यक छैन जस्तो लाग्न सक्छ। तर यसपटक करिब १,४०० चिकित्सकले मतदान गर्नु र ११६ जना उम्मेदवार मैदानमा हुनु आफैँमा यसको आवश्यकता र अस्तित्वप्रति चिकित्सक समुदायको चासोको संकेत हो।
अब मेरो अनुरोध छ :
काउन्सिलका प्रत्येक बैठकमा सकेसम्म सक्रिय रूपमा उपस्थित हुनुहोस्।
समस्या पर्दा तपाईंहरूको उपस्थिति हाम्रो हौसला बन्नेछ।
हामीले गरेका निर्णयमा साथ दिनुहोस्।
गलत लागे प्रश्न गर्नुहोस्।
सुझाव दिनुहोस्।
आवश्यक सुधारका लागि रचनात्मक भूमिका खेल्नुहोस्।
हामीलाई सुझाव दिनुहोस्।
आलोचना गर्नुहोस्।
प्रश्न गर्नुहोस्।
हामीलाई सम्मान दिनैपर्छ भन्ने अपेक्षा छैन, तर कृपया अनादर नगरिदिनुहोस्।
हामीलाई प्रेरित गर्न सक्नुहुन्न भने पनि, कृपया निरुत्साहित नगरिदिनुहोस्।
नेपाल चिकित्सक संघका केही व्यवस्था समयअनुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता छ। विगतमा सही रहेका केही प्रावधानहरू आजको सन्दर्भमा अझ सुधार गर्न सकिन्छ। त्यसका लागि हामी सबै मिलेर काम गरौँ।
तपाईंहरू जुनसुकै समूहबाट निर्वाचित हुनुभएको भए पनि, त्यो समूह निर्वाचनसम्मका लागि मात्र थियो। अब तपाईंहरू सम्पूर्ण चिकित्सक समुदायका प्रतिनिधि हुनुहुन्छ।
त्यसैले अब समूहभन्दा माथि उठौँ।
व्यक्तिगत आग्रहभन्दा माथि उठौँ।
र समग्र चिकित्सक समुदायको हकहितलाई केन्द्रमा राखौँ।
सामाजिक सञ्जालमा आफ्ना विचार राख्दा पनि संयमित र जिम्मेवार बनौँ। आलोचना गरौँ, तर आरोप–प्रत्यारोप र अनावश्यक विवाद नबढाऔँ। अब हामी सबैको काँधमा थप जिम्मेवारी छ।
निर्वाचन सकियो।
अब प्रतिस्पर्धा होइन, सहकार्यको समय हो।
व्यक्ति होइन, संस्था बलियो बनाउने समय हो।
समूह होइन, सम्पूर्ण चिकित्सक समुदायका लागि काम गर्ने समय हो।
पुनः सम्पूर्ण निर्वाचित काउन्सिल सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
-(डा. तेजसु सिंह मल्ल नेपाल चिकित्सक संघका सह-कोषाध्यक्ष हुन्।)