तपाईं-हामीमध्ये कतिपयको पिसाबमा कुनै समय रगत देखिन सक्छ। जसलाई मेडिकल भाषामा 'हेमाच्युरिया' भनिन्छ।
पिसाबमा विभिन्न कारणले रगत आउन सक्छ। अत्यधिक परिश्रमयुक्त काम गरेमा, पिसाबमा संक्रमण भएमा, मिर्गौला वा मूत्रनलीमा पत्थरी भएमा, तथा मूत्रथैलीमा ट्युमर/मासु पलाएमा पिसाबमा रगत देखिन सक्ने प्रमुख कन्सल्टेन्ट युरोसर्जन डा. रविन बहादुर बस्नेत बताउँछन्।
उनका अनुसार कतिपय अवस्थामा दुखाइ नभईकन पनि पिसाबमा रगत देखिन्छ। यसलाई चिकित्सकीय भाषामा 'पेनलेस हेमाच्युरिया' भनिन्छ।
पिसाबमा रगत देखिनुका कारणहरू
१. सामान्य तथा उमेरगत कारणहरू
मूत्रमार्गको संक्रमण: ब्याक्टेरियाको संक्रमणका कारण पिसाबनली वा थैली सुन्निँदा रगत आउन सक्छ। यो विशेषगरी महिलाहरूमा बढी देखिन्छ।
प्रोस्टेट ग्रन्थि बढ्नु: उमेर ढल्किँदै गएका पुरुषहरूमा प्रोस्टेट ग्रन्थि बढ्दा पिसाब मार्गमा दबाब परी रगत देखिन सक्छ।
अत्यधिक व्यायाम: कडा वा भारी शारीरिक व्यायामका कारण पनि कहिलेकाहीँ अस्थायी रूपमा पिसाबमा रगत आउन सक्छ।
२. मिर्गौला र पत्थरी सम्बन्धी समस्या
पत्थरी: मिर्गौला, पिसाबको नली वा पिसाबथैलीमा पत्थरी हुँदा त्यसको घर्षणले गर्दा पिसाबमा रगत देखिन्छ। यसमा अक्सर कम्मर वा तल्लो पेट दुख्ने गर्छ।
मिर्गौलाका रोगहरू: मिर्गौला सुन्निने रोग वा संक्रमणका कारण पिसाबबाट रगत चुहिन सक्छ।
३. गम्भीर तथा जटिल कारणहरू
ट्युमर वा क्यान्सर: ४० वर्षभन्दा बढी उमेरका व्यक्तिहरूमा दुखाइबिना नै पिसाबमा रगत देखियो भने त्यो मिर्गौला, पिसाबथैली वा प्रोस्टेटको क्यान्सरको संकेत हुन सक्छ।
चोटपटक: दुर्घटना वा कडा प्रहारका कारण मिर्गौला वा मूत्रप्रणालीमा चोट लाग्दा रगत आउन सक्छ।
औषधिको प्रभाव: रगत पातलो गर्ने औषधिहरू (जस्तै: एस्पिरिन) सेवन गरिरहेका बिरामीहरूमा पनि यो समस्या देखिन सक्छ।
पिसाबमा रगत देखिनु कुनै ठूलो रोगको संकेत हो?
पिसाबमा रगत देखिँदैमा ठूलै वा गम्भीर रोग भइसकेको हुन्छ भन्ने छैन। जस्तै: कहिलेकाहीँ महिलाहरूमा महिनावारी भएको बेला वा पाठेघरबाट रगत बगिरहेको अवस्थामा पनि पिसाबमा रगत मिसिएको हुन सक्छ।
त्यसैले तुरुन्तै आत्तिनुपर्दैन। तर पिसाबमा रगतसँगै रगतका साना-साना चोक्टा जाने वा दुखाइ हुने जस्ता समस्या छन् भने ढिला नगरी तुरुन्त चिकित्सकलाई देखाइहाल्नुपर्छ।