विश्वको स्वास्थ्य र मानव अस्तित्वमा यस शताब्दीको बाँकी अवधिमा १७ वटा ठूला खतरा देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन्। आणविक युद्ध, कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग, जलवायु परिवर्तन, मोटोपना, उच्च रक्तचाप, धूमपान र मानसिक स्वास्थ्य समस्यासम्मका यी खतराले विश्वको जनस्वास्थ्य र समग्र मानव कल्याणमा गम्भीर असर पार्न सक्ने उनीहरूको निष्कर्ष छ।
चिकित्सा जर्नल द ल्यान्सेट मा प्रकाशित प्रतिवेदनअनुसार यी जोखिमलाई समयमै सम्बोधन नगरे विश्वभरका मानिसले रोग, अपाङ्गता र अकाल मृत्युका कारण स्वस्थ जीवनका दसौँ अर्ब वर्ष गुमाउनुपर्ने हुन सक्छ। तर विश्वका नेताहरूले लक्षित र प्रभावकारी कदम चालेमा सम्भावित क्षति कम गर्न सकिने अनुसन्धानकर्ताहरूले बताएका छन्।
इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसनको विश्वव्यापी रोगभारसम्बन्धी अध्ययनको तथ्याङ्क प्रयोग गरेर तयार पारिएको प्रतिवेदन ३५ जना विभिन्न क्षेत्रका विज्ञ तथा नेतृत्वकर्ताको आयोगले सार्वजनिक गरेको हो। यसले भविष्यमा ठूलो क्षति निम्त्याउन सक्ने तर व्यावहारिक हस्तक्षेपमार्फत जोखिम घटाउन सकिने १७ वटा खतराको पहिचान गरेको छ।
यी खतरामा स्वास्थ्य अवस्था र व्यक्तिगत व्यवहारसँगै आर्थिक असमानता, वातावरणीय परिवर्तन, प्रविधिको विकास र द्वन्द्वसमेत समेटिएका छन्।
आणविक युद्ध र एआईको दुरुपयोगले मानव अस्तित्वमै खतरा
प्रतिवेदनले दुई खतरालाई मानव अस्तित्व नै समाप्त हुन सक्ने सम्भावनासँग जोडेको छ- आणविक द्वन्द्व र कृत्रिम बुद्धिमत्ताको दुर्भावनापूर्ण प्रयोग।
आणविक हतियारको प्रयोगले ठूलो जनधनको क्षति, स्वास्थ्य प्रणालीको विनाश र दीर्घकालीन वातावरणीय असर निम्त्याउन सक्छ। त्यस्तै, शक्तिशाली एआई प्रणालीको दुरुपयोगले विश्वव्यापी स्तरमा गम्भीर क्षति पुर्याउन सक्ने सम्भावनाबारे पनि अनुसन्धानकर्ताहरूले चिन्ता व्यक्त गरेका छन्।
यद्यपि एआईका कारण विश्वव्यापी स्तरमा कस्तो विनाशकारी घटना हुन सक्छ भन्ने अनुमानमा विज्ञहरूबीच ठूलो भिन्नता रहेको प्रतिवेदनले उल्लेख गरेको छ। विश्वव्यापी स्तरमा मानव स्वास्थ्यमा विनाशकारी असर पार्ने एआईसम्बन्धी घटना अहिलेसम्म नदेखिएकाले यसले निम्त्याउन सक्ने क्षतिको अनुमान सैद्धान्तिक रहेको अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन्।
प्रतिवेदनअनुसार एआईको दुर्भावनापूर्ण प्रयोगका कारण सन् २१०० सम्म विश्वभर करिब १० अर्ब ४० करोड स्वस्थ जीवन वर्ष गुम्न सक्ने अनुमान गरिएको छ। यो अनुमान प्राकृतिक रूपमा उत्पन्न हुने महामारी र मोटोपनाजस्ता केही अन्य जोखिमसँग तुलनीय छ। तर एआईको जोखिमबारे प्रत्यक्ष ऐतिहासिक तथ्याङ्क सीमित भएकाले यसलाई मोटोपनासम्बन्धी तथ्याङ्कसँग समान स्तरको प्रमाणमा आधारित मान्न मिल्दैन।
कोभिड–१९ महामारी, अफ्रिकामा जारी इबोला प्रकोप र तीव्र हुँदै गएको जलवायु परिवर्तनले विश्वव्यापी स्थिरता कति छिटो संकटमा बदलिन सक्छ भन्ने देखाएको पनि प्रतिवेदनमा उल्लेख छ।
सन् २०५० सम्म वयस्कको ६० प्रतिशतमा बढी तौल वा मोटोपनाको जोखिम
प्रतिवेदनले मोटोपनालाई भविष्यको अर्को प्रमुख विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा औँल्याएको छ। उपलब्ध तथ्याङ्कअनुसार विश्वका सबै देशमा बढी तौल र मोटोपनाको समस्या बढिरहेको छ।
अनुमानअनुसार सन् २०५० सम्म विश्वका करिब ६० प्रतिशत वयस्क र एकतिहाइ बालबालिकामा बढी तौल वा मोटोपनाको अवस्था हुन सक्छ।
मोटोपना मुटुरोग, मधुमेह, उच्च रक्तचाप र अन्य दीर्घकालीन स्वास्थ्य समस्यासँग सम्बन्धित छ। अत्यधिक ऊर्जा भएका खानेकुराको सेवन र शारीरिक गतिविधिमा कमी यसका महत्त्वपूर्ण कारण हुन्। यसले व्यक्ति, परिवार र स्वास्थ्य प्रणालीमा दीर्घकालीन भार थप्न सक्छ।
प्रतिवेदनले मोटोपना, उच्च रक्तचाप, धूमपान र मानसिक स्वास्थ्य समस्यालाई पनि प्रमुख जोखिम समूहमा समेटेको छ। यी समस्याको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी स्वास्थ्य नीति, स्वस्थ जीवनशैली प्रवर्द्धन, रोगको समयमै पहिचान र उपचारमा पहुँच आवश्यक रहेको औँल्याइएको छ।
जोखिम घटाउन विश्वव्यापी सहकार्य र विश्वास आवश्यक
प्रतिवेदनको उद्देश्य १७ वटा खतरालाई ठूलो वा सानो भनेर क्रम निर्धारण गर्नु होइन। बरु, अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय स्तरमा सहकार्य बढाएर भविष्यको स्वास्थ्य र मानव अस्तित्वको रक्षा गर्नु रहेको सम्बन्धित सम्पादकीयमा उल्लेख छ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषकी पूर्वकार्यकारी निर्देशक तथा आयोगकी सहअध्यक्ष नतालिया केनेमका अनुसार विश्वका पछिल्ला घटनाले संकट आउनुअघि नै तयारी गर्नुको महत्त्व देखाएका छन्। विपत्ति आएपछि मात्रै प्रतिक्रिया दिँदा यसको आर्थिक, सामाजिक र मानवीय मूल्य धेरै महँगो पर्न सक्छ।
उनले विद्यमान असमानताका कारण यस्ता विश्वव्यापी संकटको सबैभन्दा ठूलो भार जोखिममा रहेका समुदायले बेहोर्नुपर्ने चेतावनी पनि दिएकी छन्। सरकार र समुदायले अहिले नै निर्णायक कदम चालेर आगामी पुस्ताका लागि स्वस्थ, शान्तिपूर्ण र सुरक्षित भविष्य निर्माण गर्नुपर्ने उनको भनाइ छ।
प्रतिवेदनले जोखिम न्यूनीकरणका लागि सामाजिक विश्वासलाई महत्त्वपूर्ण आधार मानेको छ। विश्वासले समाजलाई सम्भावित संकटको पूर्वानुमान गर्न, क्षति कम गर्न र परिवर्तनअनुसार अनुकूल हुन मद्दत गर्छ। यसको विपरीत, अविश्वासले जोखिम र क्षति बढाउन सक्छ।
विश्वव्यापी सहकार्यमा आधारित नेतृत्व, संकट सामना गर्न सक्ने खाद्य प्रणाली र अझ न्यायपूर्ण समाज निर्माणलाई पनि भविष्यका चुनौतीको सामना गर्न आवश्यक पक्षका रूपमा औँल्याइएको छ।
प्रतिवेदनका अनुसार सम्भावित खतराबारे जानकारी हुँदाहुँदै र सुरक्षाका योजना तयार हुँदाहुँदै पनि प्रभावकारी कदम चाल्न नसकिएका उदाहरण जनस्वास्थ्यमा धेरै छन्। त्यसैले वैज्ञानिक तथा प्राविधिक समाधान मात्रै पर्याप्त हुँदैनन्। सहकार्य, जवाफदेहिता र संस्थागत विश्वास बलियो बनाउनु पनि उत्तिकै आवश्यक छ।