काठमाडौं- कोरोना संक्रमणमुक्त भएका बिमितिले पेस गरेका कागजपत्रको जाँचमा ढिलो भएकाले कोरोना बिमाको दाबीभुक्तानीमा पनि ढिलाइ भएको बिमा समिति स्पष्ट पारेको पारेको छ। कोरोना बिमाको दाबी भुक्तानीमा समस्या आएपछि अर्थ मन्त्रालयले तीन दिनमा दाबीभुक्तानी गरिसक्न निर्देशन दिएपनि भुक्तानी गराउन नसकेको नियामक निकाय बिमा समितिले ढिलाइको कारण देखाउँदै स्पष्टीकरण दिएको हो।
बिमा रकमको दाबी भुक्तानी चाँडो गराउन समितिले बिमा पुल व्यवस्थापक शिखर इन्स्योरेन्स कम्पनीमा स्थलगत निरीक्षणसमेत गरेको छ। निरीक्षणका क्रममा केही समस्याहरु रहेकोले दाबी भुक्तानीमा ढिलाइ भएको समितिले जनाएको छ।
बिमालेख खरिद गरेका बिमितहरुले दाबी भुक्तानीका लागि कोरोना बिमा मापदण्ड, २०७७ ले तोकेका सम्पूर्ण कागजातसहित सम्बन्धित बिमा कम्पनीमा निवेदन दिनुपर्ने र सम्बन्धित कम्पनीले सबै कागजात पूरा भए/नभएको यकिन गरी कागजात पूरा भएका फाइलको भुक्तानीका लागि बिमा पुल व्यवस्थापक शिखर इन्स्योरेन्स कम्पनीमा पठाउनु पर्नेमा केही फाइलमा कागजात पूरा नभएकोले बिमाको दाबी भुक्तानीमा ढिलाइ भएको समितितको भनाइ छ। समितिले सबै निर्जीवन बिमा कम्पनीहरुलाई दाबी भुक्तानीमा सबै कागजात हेरी रुजु गरेर मात्र पठाउन निर्देशनसमेत दिएको छ।
कोरोना बिमा मापदण्डअनुसार कोरोना बिमाको दायित्व बिमा समिति र नेपाल सरकारको समेत हुने भएकोले यसको लेखा परीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुने समितिले जनाएको छ। कोरोना बिमा मापदण्ड अनुसार कतिपय स्पष्ट नभएका कोरोना परीक्षण रिपोर्ट नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणीकरणका लागि पठाउनुपर्ने भएकोले केही समय लाग्न गरेको समितिले स्पष्टीकरण दिएको छ।
बिमाको सर्वमान्य सिद्धान्तअनुसार एउटै दाबी विभिन्न बिमा कम्पनीहरूबाट छुट्टाछुट्टै किसिमले भुक्तानी नगर्ने हुँदा कतिपय बिमा दाबीहरू दोहोरो पर्ने भएकोले पनि प्रमाणीकरण गर्न र दोहोरो भुक्तानी नियन्त्रण गर्न केही समय लाग्न गएको समितिले जानकारि दिएको छ।
कोरोना महामारीका कारण सबैभन्दा बढी गत असोज र कार्तिक महिनामा संक्रमण भएको र उक्त समयमा बिमा कम्पनीहरूमा कार्यरत कर्मचारी एवम् बिमा समितिमा कार्यरत कर्मचारीहरूमा समेत संक्रमण देखिएकोले उक्त महिनामा दाबी भुक्तानी प्रक्रिया अवरुद्ध हनु पुगेको समितिले जनाएको छ। उक्त अवधिको दाबी भुक्तानीका लागि यो महिनामा सबैभन्दा बढी चाप पर्न गएको र यो चाप कम भएपछि नियमित तवरले भुक्तानी प्रक्रिया संचालन हुने भएकोले केही समयसम्म धैर्य गरिदिन समितिले अनुरोध गरेको छ।
बुधबारसम्ममा कागजात पूरा भएका दाबी संख्या १७ हजार २३५ वटा पुगेको छ। भेरीफिकेसन लागि ४ हजार १२५ वटा दाबीका फाइल स्वास्थ्य सेवा विभागमा पठाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रमाणीकरण भएर आएको संख्या दाबी संख्या २ हजार ४९३ वटा रहेको छ।
बुधबारसम्ममा ८ हजार १४५ जनाको बिमा रकम दाबीभुक्तानी भएको समितिले जनाएको छ। सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी संख्या ९ हजार ९० वटा रहेको छ। त्यस्तै कागजात नपुगी पुन: निर्जीवन बिमा कम्पनीहरुमा फिर्ता भएको दाबी संख्या एक हजार १३६ वटा रहेको छ।