काठमाडौं- मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (मनमोहन सेन्टर) महाराजगन्जमा तीन दिने इन्डो भास्कुलर तालिम सम्पन्न भएको छ। उक्त तिन दिने इन्डो भास्कुलर तालिम भारतका विभिन्न संस्थाको सहकार्यमा सम्पन्न भएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ।
उक्त तालिममा नेपाल र भारतका गरी १५ विशिष्ट चिकित्सकहरको सहभागिता रहेको थियो। जसमा मनमोहन सेन्टरका ४ भास्कुलर सर्जन, धुलिखेल अस्पतालका १ तथा भारतको विभिन्न अस्पतालहरुबाट आएका १० विशिष्ट चिकित्सकहरु थिए।
उक्त कार्यक्रम सफल पार्न मनमोहन सेन्टरका एनेस्थेसिया विभागका चिकित्सक, नर्सिङ्ग स्टाफहरू र रेडियोग्राफरहरुले महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै सेन्टरले उपचारका लागि भर्ना भएका ३ बिरामीको जटिल प्रकृतिको रोग (एओर्टिक एनोरिजम) को सफलता पूर्वक उपचार सम्पन्न गरेको छ। उपचारका लागि एकक जनाको २० देखी २५ लाख खर्च हुने भएपनि छुट गरि उपचार गराइएको थियो।
दुईजनाको एफईभीएआर (फेनेस्ट्राटेड इन्डोभास्कुलर एओर्टिक रिपेयर) गरिएको थियो भने तेस्रो बिरामीको एफईभीएआर र ओपन सर्जरी गरिएको थियो ।
मनमोहन सेन्टरमा चिरफार नगरिकन नै स्टेन्ट हालेर गरिने शल्यक्रिया सन् २०१३ बाट सुरु भएको हो। हालसम्म सेन्टरले ६० बिरामीहरुको इन्टरभेन्सन विधिद्वारा उपचार गरिसकेको छ। नेपालको एक मात्र कार्डियोभास्कुलर हाइब्रिड अपरेटिङ्ग थिएटरमा पहिलोपटक एओर्टिक एनोरिजम इन्टरभेन्सन गरिएको सेन्टरद्वारा जारी जानकारीमा उल्लेख छ।