डा बद्री रिजाल
कोरोनाको महामारी सुरु भएको ३ महिना नाघिसकेको छ। चीनको वुहानबाट सुरु भएको यो भाइरसको महामारी युरोप, अमेरिका हँुदै दक्षिण पूर्वी एसियामा पुगेर आतंक मच्चाइरहेको छ। लाखौं मानिसमा संक्रमण गरेको छ भने हजारौं मान्छेको ज्यान लिइरहेको छ। आजका दिनसम्म पनि यसको रफ्तारमा खासै कमी आएको छैन र कहिलेसम्म जाने हो यकिन गर्न सकिने अवस्था छैन।
विकसित राष्ट्रहरुलाई समेत अकल्पनीय चुनौती दिइरहेको कोरोना भाइरसको सक्रमणले नेपाललाई समेत पछ्याइरहेको छ। नेपालमा भएका संक्रमितमध्ये एक जनामा पहिलो पटक विदेशबाट आएको मानिसबाट स्थानीय मानिसमा संक्रमण भएको पुष्टि समेत भइसकेको छ। यो अवस्थालाई हेर्दा नेपालमा कोरोनाको विद्यमान अवस्था दोस्रो चरणमा प्रवेश गरेको छ। यही अवस्थामा बिरामीहरुलाई पत्ता लगाई आइसोलेसन र तिनीहरुको सम्पर्कमा आएका मानिसहरुलाई क्वारेन्टाइनमा राखी उपचार गर्न सकियो भने रोगको गतिलाई केही हदसम्म कम गर्न सकिन्छ।
नेपालमा उपलब्ध सीमित स्रोत, साधन र स्वास्थ्यका मानव संशाधनको अधिकतम प्रयोग गरी तत्काल बढीभन्दा बढी प्रयोगशालाहरुमा द्रुत गतिको परीक्षण गरेर संक्रमित र त्यसको सम्पर्कमा आएकाको पहिचान गरी तिनीहरुबाट समुदायमा फैलिनबाट रोक्नु आजको निर्विकल्प अवस्था हो।
सीमित स्रोत र साधनका बाबजुद पनि यो कहालीलाग्दो महामारीसँग जुध्नसक्ने भनेकै नेपालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरु नै हुन्। राज्यको तर्फबाट सरकारी वा गैरसरकारी स्वास्थ्यकर्मीहरुको वर्गीकरण गरी उनीहरुको मनोबलमा आँच पुर्याउनु भन्दा उनीहरुलाई सरकारले सकेसम्मको सहयोग गरेर यो महामारीसँग भिड्न अग्रणी मोर्चा सम्हाल्ने उचित वातावरण बनाउँदै गैरस्वास्थ्यकर्मीहरुलाई पछाडिबाट ऊर्जा भर्ने सकारात्मक सोचमा लगाउनु बाहेक अन्य विकल्प नेपाल सरकारसँग छैन।
हजारौंमा र लाखौंमा मानिसहरु छिमेकी देश भारत र अन्य कोरोना प्रभावित मुलुकबाट आएका छन्। तिनीहरुलाई क्वारेन्टाइनमा नराखी कुनै ल्याब टेष्ट नै नगरी सिधै घर जान दिएका छौं। त्यही अवस्थाले गर्दा आज यो महामारी नेपालमा दोस्रो चरणमा प्रवेश गरेको छ।
अहिलेको यस्तो महामारीमा राज्य र सरकारले निर्वाह गरेको अभिभावकत्वलाई अझ बढी प्रखर र परिणाममुखी बनाउनु जरुरी देखिन्छ। जसका कारण सम्पूर्ण नेपाली जनताको ज्यान रक्षा गर्ने अभियानमा सरिक स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई राज्य हाम्रो साथमा छ, यो लडाईं जसरी पनि जित्न सक्नुपर्छ भन्ने सकारात्मक मनोभावना वृद्धि भई मैदानमा होमिन थप ऊर्जा प्राप्त हुनेछ।
अहिले महामारीसँग लड्नको लागि सिपयुक्त जनशक्ति तयार गर्दै आवश्यक पर्ने सुरक्षाका सामानहरुको अधिकतम उपयोग गर्नसक्ने उचित वातावरण बनाउनु नै सही व्यवस्थापन हो। रोगसँग लड्नको लागि अत्यावश्यक सामानहरु, आइसियु, औषधि लगायत लजिस्टिक सम्पूर्णको अहिलेसम्म जोहो गरिसक्नुपर्ने हो। समाजका सम्पूर्ण अंगहरु पत्रकार, शिक्षक, लकिल, इन्जिनियर, नागरिक समाज लगायत सम्पूर्ण तह र तप्काका मानिसहरुलाई सकारात्मक सोच र ऊर्जाका साथ चिकित्सक र स्वास्थ्यकर्मीसँग यस लडाईंमा सामेल गरी अघि बढनुपर्दछ। आपसी द्वेष, असमझदारी र रिसलाई पन्छाएर मानव जातिको सद्भाव र ज्यानको रक्षाको लागि एकजुट भई अगाडि बढनु बाहेक हामीसँग कुनै पनि विकल्प बाँकी छैन।
स्वास्थ्यकर्मी र चिकित्सकहरुको साथमा मात्र रोगसँग लड्न सकिन्छ र संक्रामक रोगलाई फैलिनबाट बचाउन सकिन्छ भन्ने कुराको मनन गरी अत्यावश्यक सुरक्षाका सामानहरु जतिसक्यो छिटो व्यवस्था गर्नुपर्दछ। अहिले सुरक्षाका सामग्रीहरुको छ्यापछ्याप्ती उत्पादन भैरहेका र बाँढिरहेका कुराहरु समाजिक सञ्जालहरुमा आइरहेका छन्। यस किसिमका गुणस्तर जाँच नगरिएका सामग्रीहरुको प्रयोगले चिकित्सक र स्वास्थ्यकर्मीको ज्यान कति जोखिममा पारिरहेको छ भन्ने कुराको हेक्का कसले राख्ने हो?
राज्यको तहबाट अबिलम्व यस्ता प्रकारका सामग्रीहरुको जथाभावी उत्पादन गर्ने कामलाई रोक्न र उत्पादन गर्ने कम्पनी वा संस्थाहरुलाई विश्व स्वास्थ्य संगठनले तोकिदिएको मापदण्ड अनुरुप मात्र उत्पादन गर्ने गराउने कार्यमा लाग्न ढिला भइसकेको छ। विश्व स्वास्थ्य संगठनले जथाभावी पिपिई तयार गरी बिना प्रमाणित सामानहरुको प्रयोगमा रोक लगाइरहेको विद्यमान अवस्था छ। गुणस्तर प्रमाणित सामानहरुको प्रयोग र यथेष्ट सावधानी अपनाउँदा पनि चिकित्सक र स्वास्थ्यकर्मीमा रोगको संक्रमण फैलिई जीवन गुमाउन पुगेका ज्वलन्त उदाहरणहरु हाम्रै आँखा अगाडि छन्।
त्यसैले सीमित स्रोत, साधन र अत्यावश्यक व्यावहारिक सिपको अभावका बाबजुद पनि ज्यानको बाजी लगाउँदै रोगसँग संघर्षरत अग्रपंक्तिका चिकित्सक, स्वास्थ्यकर्मीहरुले सुरक्षाका सामग्रीहरुको माग गरी सुरक्षित भएर स्वास्थ्य सेवा प्रवाहमा जान्छु भन्दा सेवामा बाधा पु¥याएको भनी हामी स्वास्थ्यकर्मीहरुलाई युद्ध मैदानबाट बञ्चित गराउन खोज्दैछौं।
यदि नेपाल सरकारले यस्तो संवेदनशील अवस्थामा कुनै पनि स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई सेवाबाट बर्खास्त गर्ने काम गर्दछ भने हामी कसरी यो महामारीसँग भिड्न सक्दछौं? आज विश्व नै कोरोनाको महामारीले त्राहिमाम भएको अवस्थामा विकसित राष्ट्रका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुसँग अत्याधुनिक स्वास्थ्य सामग्रीहरु हुँदा समेत दिनप्रति दिन हजारौंको सख्यामा नागरिकहरुले मृत्युवरण गर्नु परेको तथ्यलाई हामीले नजरअन्दाज गर्न मिल्दैन। हामीसँग उपलब्ध सीमित स्रोत, साधन र न्यून प्रशिक्षणका बाबजुद पनि हामी यो संघर्षको मैदानमा उत्रिएका छौं। हामीले व्यक्तिगत जीवनलाई तिलाञ्जली दिएर सम्पूर्ण नेपाली नागरिकहरुको रक्षाका निम्ति हर तह र तप्काबाट होमिएका छौं। हाम्रो व्यक्तिगत जीवन कतिखेर के हुन्छ अहिले कल्पना समेत गर्न नसक्ने अवस्थामा छौं।
अहिलेसम्म स्वास्थ्य मन्त्रालयले २८ जना चिकित्सक र ३० जना नर्सलाई मात्र तालिम दिएको छ। अहिले कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा स्थिर अवस्थामा रहेको छ। यसको रोकथाम र उपचारका लागि खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मीले आधारभूत सामग्री र उपकरणको अभाव भोगिरहेका बेला संक्रमण बढे स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति अभाव हुने स्पष्ट छ। त्यसैले नेपाल चिकित्सक संघले बारम्बार चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिमको व्यवस्थापन गरेर मात्र कोरोनाको उपचार प्रक्रियामा संलग्न गराउन माग गर्दै आइरहेको छ। त्यसका साथै अन्य मुलुकहरुमा अबलम्वन गरिएका सफल उदाहरणहरुलाई पनि अनुशरण गर्नु जरुरी देखिन्छ।
जस्तै दक्षिण कोरियाले अपनाएको आक्रामक र पारदर्शी रुपमा सूचना प्रवाह गर्ने, ठूलो संख्यामा परीक्षण गर्ने, संक्रमित र जोखिम भएको व्यक्तिलाई आइसोलेसन र क्वारेन्टाइनमा राख्ने, आवश्यक व्यक्तिलाई उपचार गर्ने र संक्रमित स्थान र वातावरणलाई संक्रमणरहित बनाउने पद्धतिलाई हामीले कडाइका साथ लागू गर्नु आजको आवश्यकता हो।
त्यसका साथै हाल एकान्तबास बस्ने, सामाजिक दूरी कायमलाई कडाइका साथ लागू गर्ने तथा गुणस्तरीय पिपिईहरु प्रयोग भएका, अस्पताल, स्वास्थ्यकर्मी, परीक्षण स्थल र विधिमा समेत निकै सावधानी अपनाउनु पर्दछ।
यस्तो विषम अवस्थामा स्वास्थ्य मन्त्रालयको हालको काम गराइ, मन्त्रालयभित्र सम्पन्न गर्नुपर्ने महत्वपूर्ण कामकारबाहीको ढिलासुस्ती, आपसी मनमुटाव, अपारदर्शीता जस्ता कैयौं विषयवस्तुहरुले सारा नेपाली जनतालाई नै अविश्वासको भूमरीमा धकेलिदिएको छ। त्यसैले पनि स्वास्थ्य मन्त्रालयले सम्पूर्ण जनताको स्वास्थ्यलाई विशेष ध्यानमा राख्दै सोही अनुरुपका नीतिनियमहरु बनाई आपतकालीन अवस्थामा स्वास्थ्य मन्त्रालय आफैंले उचित निर्णय र सजगता अपनाउन सक्ने, आवश्यक निर्णय लिन सक्ने र नेपाल सरकारलाई सही निर्णय गर्न बाध्य पार्ने खालका रणनीतिक योजना तर्जुमा गर्नुपर्ने देखिएको छ।
त्यसले सम्पूर्ण चिकित्सक स्वास्थ्यकर्मी र सम्पूर्ण जनताको स्वास्थ्य समस्यासँग जुध्दै आएको चिकित्सक वा स्वास्थ्यकर्मीको नेतृत्व आवश्यक पर्दछ भनेर नेपाल चिकित्सक संघले विगतदेखि अहिलेसम्म पनि भन्दै आएको छ। तर यसलाई चिकित्सकको स्वार्थको रुपमा हेरियो, जुन गलत थियो र आज पनि छ। अरु सबैमा सम्बन्धित विषयको विज्ञको नेतृत्व मन्त्रालयमा स्वीकार गर्न सकिने तर स्वास्थ्य मन्त्रालयमा नसकिने किन? स्वास्थ्य मन्त्रालयमा क्युरेटिब र प्रिभेन्टिभ सर्भिस छुट्याएर जानुपर्छ र क्युरेटिब सर्भिसको नेतृत्व चिकित्सकले लिनुपर्छ। छुट्टै चिकित्सक ऐन बन्नुपर्दछ भनेर बारम्बार कुराहरु आए पनि काम भएको छैन, जुन आबश्यक छ र हुनुपर्दछ।
स्वास्थ्यले परिवर्तन र समायोजनको नाममा आफ्ना चिकित्सकहरुलाई स्थानीय प्रदेश र संघको नाममा विभाजन गरी चिकित्सकको मनोबल गिराउने र विभाजित गर्ने काम गरेको छ जबकि अन्य प्रशासनका अधिकृतहरु संघ अन्तरगत अटाउँदा स्वास्थ्यका अधिकृत चिकित्सकहरु संघ अन्तरगत अटाउन सकेनन्। अधिकृत जनशक्ति जुन पहिलेदेखि नै स्थानीय तहमा पनि कार्यरत थिए, तिनलाई नचलाउ भन्दाभन्दै समायोजनको नाममा आठौं तहको चिकित्सकलाई छैठौा र सातौ तहको प्रशासनको अन्तरगत राखी मनोबल घटाउने काम मात्र भएको छ।
एमडी, एमएस अध्ययनमा मनोनित भई पढिरहेका चिकित्सकहरुलाई स्थानीय तहमा तथ्यांक लिन पठाउने कुराहरु आइरहेका छन्, जुन विल्कुलै गलत कदम हुनेछ। यो दक्ष जनशक्ति जब कोभिडका बिरामीहरु अस्पताल आउन थाल्छन्, चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भई आइसोलेसन र क्बारेन्टाइनमा बस्नुपर्ने हुन्छ, त्यो बेलाको सम्पूर्ण उपचारको जिम्मा बोक्ने दक्ष जनशक्ति त्यही मात्र हुनेछ। त्यसैले दक्ष जनशक्ति सही ठाउँमा मात्र प्रयोग गरौं।
केस ट्रेस र मोनिटरिङको लागि स्वास्थ्यका जस्तै पारामेडिकल र पब्लिक हेल्थको जनशक्तिहरु परिचालन गर्न र स्थानीय तहसम्म भएको सरकारका प्रतिनिधि र अन्य कर्मचारी पनि परिचालन गर्न सकिन्छ। तर त्यसतर्फ ध्यान दिएको देखिँदैन। यो महामारी हो, योसँग लड्न सम्पूर्ण क्षेत्रबाट सहयोग र सहभागिता चाहिन्छ भन्ने कुराको ज्ञान सवैमा हुनु जरुरी छ।
यस महामारीको असरलाई कम गर्न र मानवीय क्षति हुनबाट बचाउन कोभिड १९ बाट इटालिमा भएको मृत्युले सिकाएको पाठलाई आत्मसात गरी छुट्टै अस्पतालमा उपचारको व्यवस्था गर्नु पर्दछ।
लकडाउनलाई यथावत् राखी सामाजिक दूरी कायम गरी रोगको लक्षण देखिएका र तिनीहरुको सम्पर्कमा आएका मानिसहरुको बढीभन्दा बढी ल्याब टेष्ट गरेर रोगको पहिचान गर्नु आवश्यक छ। पहिचान भइसकेपछि आइसोलेसन, क्वारेन्टाइन वा आइसियुमा राखी उपचार गर्नुपर्छ। अत्यावश्यक पर्ने इन्फेक्सन प्रिभेन्सनको तालिम र पिपिई प्रयोग सम्बन्धी तालिम चिकित्सकदेखि कुचिकारसम्मलाई तुरुन्तै दिई, महामारीसँग अग्रपंक्तिमा रहेर उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउनु जरुरी देखिन्छ।
साथै मनोबललाई उच्च राख्दै र साबुनपानीले बारम्बार हात धुने जस्ता सुरक्षाका उपायको बारेमा जनतामा जनचेतना जगाउने कामले नयाँ वर्षमा सिंगो देश नै कोरिनाबाट मुक्त हुन सफल हुनेछ।
(डा रिजाल नेपाल चिकित्सक संघका महासचिव हुन्)