काठमाडौं- सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसको राजनीतिक संयन्त्रको बैठक बस्दैछ। विभिन्न राजनीतिक विषयका साथै चारवटा प्रतिष्ठानमा रिक्त उपकुलपतिको भागबन्डा समेत टुंग्याइने भएको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति बिहिन छन्।
सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले दुई-दुईवटा लिने तय गरिसकेका छन्। त्यसमध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाली कांग्रेसले र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान एमालेले लिने तय भइसकेको छ। पोखरा र कर्णालीमा पोखरा दुवै दलले दाबी गरिरहेका छन्।
राजनीतिक संयन्त्रका बीच आफ्नो तर्फबाट उपकुलपति पठाउने सहमतिपछि नियुक्तिको प्रक्रिया अघि बढ्नेछ। यही बीच त्रिभुवन युनिभर्सिटीको उपकुलपति समेत खाली भएको छ। त्यसबारे पनि छलफल हुने बताइएको छ।
रिक्त रहेका ती प्रतिष्ठानमा नियुक्ति नहुन्जेल उपकुलपतिको जिम्मेवारी रेक्टरलाई दिइने तयारी भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहीअनुसार निर्णय प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन्।
बिपी कोइरालामा सञ्जीव शर्मा, पाटनमा डा पवन शर्मा र कर्णालीमा डा डबलबहादुर धामी रेक्टर छन्। पोखरामा भने रेक्टर नभएका कारण डिन डा श्रीकृष्ण श्रेष्ठले जिम्मेवारी पाउने भएका हुन्।