काठमाडौं- सरकारले तोकेको निर्वाह भत्ता पाउनुपर्ने माग सहित आन्दोलित आवासीय चिकित्सकलाई निजी मेडिकल कलेजहरुले फेल गराउने धम्की दिन थालेका छन्। काठमाडौंको किस्ट मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाले सूचना नै जारी गरेर धम्क्याएका हुन्।
अन्य निजी मेडिकल कलेजका सञ्चालकले पनि आफूलाई फोन गरेर फेल गराउने धम्की दिएको आवासीय चिकित्सकहरुले बताएका छन्।
किस्टले आफ्नो सूचनामा भनेको छ, 'रेसिडेन्टहरुको हाँजिरी, लगबुक, परीक्षा, पोष्टिङका साथै थेसिसमा समेत प्रभाव पर्न जाने र सोका कारण चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा लिइने परीक्षामा सामेल गराउन प्रतिष्ठान बाध्य नहुने र नियम अनुसार कारवाही हुने बारे समेत सम्बन्धित सवैलाई सूचित गरिन्छ।'
त्यस्तै युनिभर्सलले सबै रेसिडेन्टहरूलाई तत्काल ट विभागीय ड्युटी रोस्टर अनुसार आफ्नो ड्युटीमा फर्कन निर्देशन दिएको छ। भनिएको छ, 'पुनः सेवा सुरु गर्न र आफू उक्त आन्दोलनमा संलग्न नभएको जानकारी गराउनका लागि मेडिकल सुपरिन्टेन्डेन्टलाई अनुमतिका लागि निवेदन दिनु पर्नेछ र सोको प्रतिलिपि सम्बन्धित सबै विभाग प्रमुखहरू तथा प्रिन्सिपलको कार्यालयमा समेत बुझाउनु पर्नेछ।'
विद्यार्थीको हैसियतमा यस्ता गतिविधि उचित नभएको बताउँदै भविष्यमा हुने नकारात्मक परिणामको जिम्मेवारी आफैँले वहन गर्नु पर्ने भन्दै धम्क्याइएको छ।
सरकारले आवासीय चिकित्सकलाई मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको दुई महिना बितेको छ। चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले आवासीय चिकित्सकलाई निर्वाह भत्ता ४८ हजार रुपैयाँ दिनुपर्ने निर्णय गरेको हो।
आयोगको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आफैंले उक्त निर्णय गराएका हुन्। तर, प्रधानमन्त्री ओलीको उक्त निर्णयलाई निजी मेडिकल कलेजले अस्वीकार गरिदिएका छन्। प्रधानमन्त्री ओली निजी मेडिकल कलेजका अघि निरिह देखिएका छन्।
बुधबार चिकित्सा शिक्षा आयोगको बैठक बस्दैछ। यस विषयलाई लिएर थप निर्णय लिइने बताइएको छ।