काठमाडौं - स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले बजेटको अभावमा कोभिड-१९ विरुद्धको खोप अभियान प्रभावित हुन नदिने बताएका छन्।
स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको 'कोभिड-१९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता' विषयक अन्तरक्रियामा राज्यमन्त्री राउतले बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय र अन्य निकायसँग समन्वय गर्न समेत तयार रहेको बताए।
सरकारले निर्धारण गरेको प्राथमिकता र मापदण्डका आधारमा खोप लगाउन उनले आग्रह गरे।
कार्यक्रममा परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक गौतमले कोभिसिल्ड खोप नेपाल सहित १६ वटा राष्ट्रमा प्रयोग भइरहेको भन्दै निर्धक्कका साथ खोप लगाउन सबैलाई आग्रह गरेका छन्। खोपको प्रभावकारिता र महत्व बारे सबैलाई बुझाउन नसकिएको उनले बताए।
यस्तै, कोभिड १९ खोप प्राविधिक सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले नेपालमा खोप लगाएका व्यक्ति कुनै पनि गम्भीर असर नदेखिएको बताए।
उनले खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा लगाउन सरकारलाई सुझाव दिएको जानकारी दिए। खोपको दोस्रो मात्रा जति ढिला लगाए शरीरमा एन्टीबडी प्रभावकारी हुने उनले बताए बताए।
औषधि व्यवस्था विभागका महानिर्देशक डा भरत भट्टराईले कोभिसिल्ड माथि कुनै शंका नगर्न आग्रह गरेका छन्। यसको प्रभावकारिता, गुणस्तरीयता र विश्वसनीयता जाँच गरेर नै स्वीकृति दिएकाले निर्धक्क भएर खोप लगाउन उनको अपिल छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा अनुप बास्तोला सरकारले ५५ वर्ष माथि व्यक्ति र दीर्घ रोगीहरुलाई खोपको पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए।
उनले भने, ‘यी वर्गका मानिसहरुहरुलाई पहिलो चरणको प्राथमिकतामा राखेर खोप दिनुपर्ने थियो। किनभने जोखिम र मृत्युदर उनीहरुमा बढी हुन्छ। त्यसैले अहिले पनि सरकारले उनीहरुलाई नै प्राथमिकता दिनुपर्छ।’
कोरोनाको सबैभन्दा बढी जोखिम पर्ने समूह र मृत्युदुर पनि उनीहरुमा बढी हुने भएकाले सरकारले यी समूहलाई खोपको प्राथमिकतामा राख्नुपर्ने उनले उल्लेख गरे। खोपको दोस्रो मात्रा लगाएपछि मात्र शरीरमा एन्टीबडी बन्ने भएकाले खोपको मात्रा पुरा गर्नुपर्नेमा उनको जोड छ।
कोरोना संक्रमण निको भइसकेका व्यक्तिले खोप लगाउन आवश्यक रहेको उनले स्पष्ट पारे। 'शरीरमा कति र कस्ताे एन्टीबडी बन्यो भनेर हेर्न नमिल्ने भएकाले निको भइरहेका व्यक्तिले पनि खोप लगाउन आवश्यक छ,' उनले भने।