काठमाडौं- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवाथि अनपेक्षित संकट आइलागेको छ। जनता समाजवादी पार्टीबाट सत्ताको नेतृत्व गरिरहेका उनलाई सहयोद्धाहरुले एक्ल्याएका छन्। सरकारमै रहेका बन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी र राज्यमन्त्री दिपक कार्की नै उनीबिरुद्ध उभिएका छन्। तर, उनीहरु वर्तमान सत्ता गठबन्धनको पक्षमा रहेको बताइरहेका छन्। उनीहरुको आरोप छ, 'उपेन्द्रले आफैं प्रधानमन्त्री बन्न वर्तमान सरकार ढाल्ने कोशिस गरे।'
अमेरिकामा रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवको प्रतिक्रिया आउन बाँकी छ। तर, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली उनीसँग सन्तुष्ट नरहेको यसअघि नै देखिएको हो। यसपल्ट पार्टी फुटाउन उनीहरुको बलियो आडभरोसा रहेको आंकलन गरिएको छ।
सत्ता पक्षमै विभाजित अशोक राई पक्षीय जनता समाजवादी पार्टी उभिनुले त्यसलाई प्रमाणित पनि गरिदिएको छ। जसपाका ७ सांसदको हस्ताक्षरसहित राईले निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् भने आफ्नै नेतृत्वमा पार्टी गठनका लागि निर्णय बुझाएका छन्। वर्तमान सत्ता गठबन्धनमा १२ सिटसहित मिसिएका यादव जम्मा ५ मा खुम्चिएका छन्। सत्ता गठबन्धनले पनि दुईटा जसपामा एक छनोट गर्दा ७ सांसद् रहेको राई पक्षलाई नै रोज्नु स्वभाविक हो। दुई सिट कम हुँदा समेत सरकार धरमराउने अवस्था छ।
१२ सिटको जसपा र १० सिटको एकीकृत समाजवादीले एक ठाउँमा उभिने कुरा प्रचण्ड सरकारका लागि शिरमाथि झुन्ड्याइरहेको तरबार थियो। त्यही अंकगणितलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका यादवको 'बार्गेनिङ' क्षमता पनि बलियो बनेको थियो।
'उथल-पुथल'प्रेमी प्रचण्डले फेरि आफ्नो स्वभावअनुसार काम गरेका छन्। आफूलाई एकहदसम्म सुरक्षित बनाएका छन्। एमालेका ७८, माओवादीका ३२, रास्वपाका २१ र विभाजित जसपाका ७ जनाले प्रचण्ड सरकारलाई आवश्यक बहुमत अर्थात् १३८ पुग्छ। सत्ता पक्षले अर्को नागरिक उन्मुक्ति पार्टीभित्र समेत खेल खेलिरहेकै छ। उक्त पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई समर्थन गरिरहेकी छिन्। उनीसँगै अर्का एक सांसद सरकारका पक्षमा छन्। जसले १४० सत्ता पक्षमा रहेको देखाउँछ।
प्रधानमन्त्रीकै आकांक्षाअनुसार पार्टी फुटेको विषयलाई उपप्रधानमन्त्री यादवले सहज रुपमा लिने छैनन्। एउटै मन्त्री परिषद्मा बस्न यस विषयले उनलाई सहज बनाउने छैन। स्वास्थ्य मन्त्रालयको नेतृत्वमा परिवर्तनको सम्भावना बढेको छ। परिस्थितिले यादवलाई फेरि प्रतिपक्षतर्फ धकेलेको छ। तर, उनी आफैंले यसलाई 'पचाएर' सरकारमा बस्ने चाहना कायम राख्दा सत्ताधारी दलहरुबाट बहिर्गमनका लागि जोडबल भने हुनेछैन। किनभने प्रदेशहरुमा यादवपक्षीय जसपा नेपालको समर्थन सत्ता पक्षलाई जरुरी छ।