काठमाडौं- सरकारले भारतीय कम्पनीबाट खरिद गर्न लागेको ५० लाख डोज कोभिड खोपमा १० प्रतिशत कमिसन रकम थप गर्नुपर्ने खेल सुरु भएको खुलासा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको सेरम इन्स्ट्च्यिुटबाट खरिद गर्न लागेको कोभिसिल्ड भ्याक्सिनमा ‘एजेन्ट’का नाममा १० प्रतिशत कमिसन छुट्याउने खेल सुरु भएको हो।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ५० लाख डोज कोभिसिल्ड खोप खरिदमा सेरमको नेपालस्थित एजेन्ट हुकुम इन्टरप्राइजेजका नाममा १० प्रतिशत कमिसिन उपलब्ध गराउने खेल सुरु भएको हो। खोप उत्पादक कम्पनीले पनि स्वास्थ्य मन्त्रालयलाई एजेन्टलाई उपलब्ध गराउनु पर्ने १० प्रतिशत कमिसन जोडेर खोपको नयाँ मुल्य प्रस्ताव गरेको छ।
‘कम्पनीले १० प्रतिशत कमिसन जोड्दा प्रति डोज ६ दशमलव ०५ डलर पर्ने प्रस्ताव गरेको छ’ स्रोत भन्छ, ‘उक्त कमिसन नजोड्दा प्रति डोज ५ दशमलव ५० डलर पर्छ। तर कमिसनसहितको शुल्क आएकाले हामी पनि अचम्मित छौं। सरकारले कम्पनीसँग सिधै खरिद गर्ने खोपमा किन एजेन्टलाई कमिसन दिने कुरा आइरहेको छ भन्ने हामीले पनि बुझेका छैनौं।'
अघिल्लो पटक प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरीद गरेको थियो। यो पटक कमिसनसहित प्रति डोज ६ दशमलव ०५ डलरमा ५० लाख डोज खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको छ। यो आधारमा हेर्दा नेपालले प्रति डोज खोपको मुल्यमा २३४ रुपैयाँ बढी तिर्नुपर्ने देखिन्छ।
बुधबारको विदेशी मुद्रा विनिमय दर अनुसार एक डलरको ११७ नेपाली रुपैयाँ छ। यो आधारमा हेर्दा स्वास्थ्य मन्त्रालयले ५० लाख डोज खोपका लागि ३ अर्ब ५३ करोड ९२ लाख ५० हजार रुपैयाँ पर्न आउँछ। कमिसन सहितको मुल्य र कमिसन बाहेकको मुल्यमा ३२ करोड १७ लाख ५० हजारको अन्तर देखिन्छ।
मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले पनि कमिसन सहितको मुल्यमा खोप खरिद गर्ने तयारी अगाडि बढाएको छ। ‘कमिसनसहितको मुल्यमा किन खोप खरिद गर्ने रुचि देखाइएको छ हामीले समेत बुझ्न सकेका छैनौं,’ स्रोत भन्छ।
कमिसनको विषय उठेपछि मन्त्रालयकै केही कर्मचारीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोप खरीदका लागि सेरम कम्पनीबाहेक अर्को विकल्प किन खोजेनन् भन्नेबारेमा चर्चा गर्न थालेका छन्। उनीहरुले अन्य विकल्पबारे चासो नदिई कोभिसिल्ड महंगोमा खरीद गर्न खोज्नुमा मन्त्रीको ‘इन्ट्रेस्ट’ रहेको हुनसक्ने अनुमान लगाइरहेका छन्।
स्वास्थ्य सचिव लक्ष्मण अर्यालले भने मन्त्रीको यो विषयमा कुनै चासो नरहेको बताए। उनले केही एजेन्टले कमिसनको कुरा उठाएको भने स्वीकार गरे। ‘कमिसनको कुरामा मन्त्रालयले कुनै इन्टरटेन नै गर्दैन’ उनले भने।
सेरमले यसअघि अग्रीम रुपमा २० लाख डोज खोपको रकम लिइसकेको भए पनि अझै १० लाख डोज खोप उपलब्ध गराएको छैन।