काठमाडौं- किस्ट मेडिकल कलेजको शिक्षण अस्पतालमा इन्टर्नसिप गरिरहेका डाक्टरलाई कोरोना संक्रमितको उपचारमा खटाइएको छ। अनुभव नभएका र भर्खरमात्र पास भएका डाक्टरलाई संक्रमितको उपचारमा खटाइएपछि उनीहरुले विरोध गरेका छन्।
उनीहरुले एक विज्ञप्ति जारी गर्दै यसको विरोध गरेका छन्। यसका साथै उनीहरुले व्यक्तिगत सुरक्षाको प्रत्याभूतिको माग समेत गरेका छन्। उनीहरुले कोरोना वार्डमा काम गर्दा संक्रमणबाट आफू र आफ्नो परिवार जोखिममा रहेको भन्दै सुरक्षाको प्रत्याभूति माग गरेका हुन्।
उनीहरुले आफू कोरोना संक्रमितको उपचार गर्न सक्षम नरहेको समेत बताएका छन्। ‘व्यक्तिगत रूपमा महसुस गरेका छौं हामी कोरोना संक्रमितको उपचार गर्न सक्षम छैनौं। किनकी हामीलाई यो परिस्थितिसँग जुध्न प्रशिक्षण दिइएको छैन,’ विज्ञप्तिमा भनिएको छ।
‘हाम्रो परिवारले कोरोना वार्ड भित्र काम नगर्न दबाब दिइरहेका छन्। यस्तो अवस्थामा संक्रमित भए हामी उपचार गर्नसक्ने अवस्थामा छैनौं। हामीमध्ये धेरै सयुंक्त परिवारमा बसिरहेका छौं र बुढाबुढी र बिरामी पनि सँगै रहेका कारण हामी जोखिममा छौं,’ विज्ञप्तिमा भनिएको छ।
यस्तै, अस्पतालमा कार्यरत कतिपय कर्मचारी अपार्टमेन्ट र भाडाको घरमा बस्ने गरेको भन्दै कोठा खालि गर्न चेतावनी दिएको समेत विज्ञप्तिमा उल्लेख छ।
‘कोरोना वार्डमा काम गर्ने कर्मचारीलाई कोरोना संक्रमण हुन्छ भन्ने सोचले हामीलाई बसिरहेको स्थान छाड्न दबाब दिइरहेका छन्। न त सरकारले हाम्रो जिम्मा लिएको छ। नत उपचार गर्ने व्यवस्था नै गरेको छ। यसबाट हामी मारमा परेका छौं,’ विज्ञप्तिमा भनिएको छ।