काठमाडौं - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिड-१९ विरुद्धको खोपका लागि चीन र अमेरिकासँग बढी पहल गरिरहेको बताएका छन्। कोभिड खोपका लागि यी दुई देशसँग हाल कुटनीतिक लगायत अन्य छलफल तथा पहल भइरहेको उनले जानकारी दिए।
स्वास्थ्य पत्रकार मञ्चले कोभिड-१९ विरुद्धको खोपको विषयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री ज्ञवालीले १० दिनभित्रमा ब्रेक थ्रू हुने बताए।
हाल चीन, अमेरिका, रुस र बेलायतलाई खोपका लागि पत्राचार समेत गरिएको उनले जानकारी दिए। तर यी चार राष्ट्रमध्ये चीन र अमेरिकासँग बढी पहल भइरहेको उनले बताए।
उनले भने, ‘यी चार राष्ट्रलाई खोपका लागि हामीले पत्राचार गरिसकेका छौँ। तर चीन र अमेरिकामा भने बढी केन्द्रित भएर अघि बढीरहेका छौँ। आगामी १० दिन भित्र खोपमा ब्रेक थ्रू हुन्छ। २/४ दिन तलमाथि पनि हुन सक्छ। तर हुन्छ।’
चीनले हालसम्म ५० करोड जनसंख्यालाई खोप लगाएको र ९० देशलाई खोप उपलब्ध गराएको मन्त्री ज्ञवालीले बताए।
‘चीनले यति धेरै जनसंख्यालाई खोप लगाएको छ। ९० देशलाई उपलब्ध गराएको छ। अमेरिकासँग पनि ६ करोड एष्ट्राजेनिका स्टकमा छ।’ उनले भने, ‘चीन र अमेकिारले खोप उपलब्ध गराउन सक्छन्। त्यही भएर हामीले चीन र अमेरिकालाई जोड दिइरहेका छौँ।’