काठमाडौं- सरकारले यही २५ गतेबाट सुरु गर्न लागेको टाइफाइडविरुद्धको खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा टाइफाइड खोप समावेश गर्ने कार्यको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन्।
देउवाले चैत २४ गते बिहान दरबार हाई स्कुल रानीपोखरीमा कार्यक्रमको उद्घाटन गर्ने भएका छन्। २४ दिने राष्ट्रव्यापी अभियानको अवधिमा सरकारले १५ महिनादेखि १५ वर्ष मुनिका झण्डै ७५ लाख बालबालिकासम्म पुग्ने लक्ष्य राखेको छ।
अभियानको क्रममा टाइफाइड खोप स्थानिय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुनेछ। विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकता अनुसार बाह्य खोप केन्द्र संचालन गरिनेछ। अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप सेवा संचालन गरिनेछ।
टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेखनीय रुपमा कमी ल्याउन सकिने पुष्टि गरेकोले राष्ट्रिय खोप सल्लाहकार समितिबाट १४ अगष्ट, २०२० मा टाइफाइड खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरिएको थियो।