काठमाडौं– नेकपा एमालेले चितवन–३ बाट प्रतिनिधि सभातर्फको उम्मेदवारी फिर्ता लिएको छ। आफ्नो उम्मेदवारी फिर्ता लिएको एमालेले नेपाली कांग्रेसको तर्फबाट बागी उम्मेदवारी दिएका दिनेश कोइरालालाई सघाउने भएको छ।
चितवन–३ मा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानको उम्मेदवारी परेको थियो। तर, बुधबार एमालेले उनको उम्मेदवारी फिर्ता लिएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र कार्यालयमा प्राप्त भइ न्यौपानेको उम्मेदवारी फिर्ता भएको हो।
चितवन–३ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका डा भोजराज अधिकारी उम्मेदवार छन्। सत्ता गठबन्धनको भागबन्डामा यो क्षेत्र माओवादीलाई परेपछि कांग्रेसका कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
एमालेले उम्मेदवारी फिर्ता लिँदै कांग्रेसका बागी कोइरालालाई सघाउने भएपछि माओवादी केन्द्रका डा अधिकारीमाथि चुनौती थपिएको छ। एमाले र कांग्रेसको भोट पनि कोइरालालाई जान सक्ने हुँदा अधिकारीमाथि चुनौती थपिएको हो।