काठमाडौं- पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाले मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। खतिवडा सत्ता गठबन्धनका उम्मेदवार हुन्। उक्त क्षेत्रमा एमालेका महेश बर्तौला प्रतिस्पर्धामा छन्। एमालेका बर्तौलालाई कमल थापा नेतृत्वको राप्रपा नेपाल र जसपाले समेत समर्थन गरेको छ।
स्वास्थ्यमन्त्रीका रुपमा प्रभावकारी काम गर्न नसकेका खतिवडा २०४८ सालदेखि निरन्तर सांसद रहँदै आएका छन्। विगतमा एमालेबाट जितेका खतिवडालाई यसपटक भने नेकपा एसमा छन्। उनको क्षेत्रमा नेकपा एसको मत भने निकै कम छ। आफ्नो पार्टीको मात्र मतबाट खतिवडालाई मकवानपुरमा जित हासिल गर्न निकै कठिन छ।
तर सत्ता गठबन्धनबाट उठेका कारण उनलाई नेपाली कांग्रेस र माओवादी केन्द्रको मतदाताको मत आउने छ। कांग्रेस र माओवादीको निकै धेरै मत खतिवडालाई 'ट्रान्सफर' भए मात्र उनले जित्न कठिनाइ हुने देखिँदैन।
गत स्थानीय तहको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ मा वडा अध्यक्षहरुले पाएको मतका आधारमा हेर्दा खतिवडालाई कांग्रेस र माओवादीको मत प्राप्त भएमा सहजै जित हासिल गर्ने देखिन्छ। उनको क्षेत्रमा गत निर्वाचनमा सत्ता गठबन्धनका वडा अध्यक्षहरुले ६० हजारभन्दा बढी मत पाएको देखिन्छ। एमाले र एमालेसँग गठबन्धन गरेका दलहरुका उम्मेदहारहरुको मत ३७ हजार मात्र छ। सत्ता गठबन्धनका वडाध्यक्षहरुले पाएको मत एमाले गठबन्धनको भन्दा २३ हजार बढी देखिन्छ।
स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूको मत ३४ हजार २ सय ४० आएको थियो। माओवादी केन्द्रका उम्मेदवारहरूले २२ हजार ६ सय ६१ मत ल्याएका थिए। एकीकृत समाजवादीको मत भने २ हजार ७ सय १९ मात्र रहेको छ। राष्ट्रिय जनमोर्चाका वडाध्यक्ष उम्मेदवारले ४ सय ६४ मत ल्याएका छन्। एमालेका वडाध्यक्ष उम्मेदवारहरूको मत ३६ हजार ८ सय ६६ रहेको छ भने जसपाको २ सय २० रहेको छ।
खतिवडाले २०४८ सालमा उक्त क्षेत्रमा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्यय डिनालाई हराएका थिए। एमाले उम्मेदवार खतिवडाले कांग्रेस उम्मेदवार उपाध्यायलाई मकवानपुर-२ मा पराजित गरेर आफ्नो संसद् यात्रा सुरु गरेका थिए। त्यतिबेला खतवडाले १६ हजार ९६९ मत पाएका थिए। उपाध्यायले भने ११ हजार ५७६ मत माए पाइन्।
२०५१ को मध्यावधि निर्वाचनमा खतिवडाको निकटतम प्रतिस्पर्धी बने, राप्रपाका कमल थापा। त्यस निर्वाचनमा खतिवडाले १६ हजार १५४ मत पाउँदा थापाले ११ हजार ८७८ मत मात्रै पाएका थिए। २०४८ सालको निकट प्रतिस्पर्धी उपाध्याय भने ३७९२ मतसहित चौथो हुन पुगिन्।
२०५६ मा पनि खतिवडा मकवानपुर-२ बाटै विजयी भए। उनले राप्रपा उम्मेदवार दीपक सिंह लामालाई पराजित गरेका थिए। खतिवडाले १८ हजार २८१ मत पाउँदा सिंहले १५ हजार ९०१ मत पाएका थिए। यो निर्वाचनमा भने उपाध्याय उम्मेदवार बनिनन्।
२०६४ र २०७० मा सम्पन्न दुवै संविधान सभा निर्वाचनमा खतिवडाले टिकट नै पाएनन्।
लामो समयदेखि एमालेबाट सांसद रहँदै आएको, संसद्को पूर्ण बैठक तथा संसदीय समितिमा सक्रिय भूमिका निर्वाह गरेका कारण चर्चामा रहँदै आएका भए पनि खतिवडाले मन्त्री बन्न भने पार्टी विभाजन नै पर्खिनुपर्योि। २०७८ भदौमा भएको एमाले विभाजन भएर गठन भएको एकीकृत समाजवादीको तर्फबाट २०७८ असोज २२ देखि २०७९ असार १२ गतेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका थिए। तर मन्त्रालयमा भने उनले राम्रो पर्फरमेन्स देखाउन सकेनन्।
यो पनि:
पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सप्तरीमा जित्न कठिन, यस्तो छ स्थानीय तहको मतभार