काठमाडौं- विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्राडा विक्रम प्रसाद श्रेष्ठले प्रतिष्ठानलाई पुनः सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उपकुलपतिको पत्र प्राप्त गरेपछि स्वास्थ्य खबरलाई प्रतिक्रिया दिँदै उनले एमबीबीएस तहबाट सुरु गरेर २५ वर्षमा प्रोफेसरको पदसम्म पुग्दा शिक्षा अध्यक्षको रूपमा समेत काम गरिसकेका श्रेष्ठले प्रतिष्ठानप्रति गहिरो विश्वास र जिम्मेवारी महसुस गर्ने बताएका छन्।
उनका अनुसार विगत ८–१० वर्षदेखि कमजोर व्यवस्थापन र पदाधिकारीबीचको असहमतिका कारण प्रतिष्ठान ‘दुब्लाएको हात्ती’ बनेको छ। 'मेरो मुख्य लक्ष्य यो दुब्लाएको हात्तीलाई पुनः मोटो हात्ती बनाउनु हो,' उनले भने।
श्रेष्ठले भ्रष्टाचार र आर्थिक अनियमितता नियन्त्रणलाई पहिलो प्राथमिकता दिने बताएका छन्। 'कम सामान किन्ने होस्, तर गुणस्तरीय होस्, मूल्य नियन्त्रणमा होस्,' उनले जोड दिए।
उनले अधिकांश व्यक्ति इमान्दार भए पनि कहिलेकाहीँ अनेक कारण विचलित हुने भन्दै, सही प्रेरणा र वातावरण सिर्जना आवश्यक रहेको उल्लेख गरे। विगत केही वर्षयता शिक्षक र कर्मचारीहरूको मनोबल खस्किएको र यसले कामको उत्पादनमा असर पारेको बताउँदै उनले मनोबल उठाउने पहल गर्ने योजना सुनाए।
प्रतिष्ठानका तीन मुख्य उद्देश्य - शिक्षा, चिकित्सा तथा स्वास्थ्य सेवा, र अनुसन्धानलाई सुदृढ बनाउनु आफ्नो प्राथमिक कार्यसूचीमा रहेको उनले स्पष्ट पारे। 'यी उद्देश्यहरू बलियो भएपछि मात्र विपी आफ्नो गौरवमय अवस्थामा फर्किन्छ,' श्रेष्ठले भने।