काठमाडौं- जेनजी आन्दोलनको केन्द्र थियो, संसद् भवन रहेको नयाँ बानेश्वर । भदौ २३ गते भएको आन्दोलनमा सरकारले अत्याधिक बल प्रयोग गर्दा २० जना भन्दा बढीको मृत्यु र सयौं घाइते भए। संसद् भवनको ठ्याक्कै अगाडिपट्टी रहेको सिभिल अस्पतालमा घाइतेको घुँइचो लाग्यो।
घाइतेको उपचारका लागि अस्पतालले सामान्य पूर्वतयारी गरेको थियो। त्यहाँ हुने प्रदर्शनमा घाइते हुँदा त्यही अस्पताल पुर्याइने भएकाले आन्दोलनको अघिल्लो दिन नै शतर्क रहनेगरी छलफल भएको थियो।
तर, अस्पतालले अपेक्षा गरेभन्दा धेरै बढी घाइते आए। जसको व्यवस्थापनमा अस्पतालका निर्देशकदेखि कर्मचारीले देखाएको तदारुकताले धेरैको ज्यान जोगिएको छ। आन्दोलनकारीको उपचार मात्रै होइन, दुवैतिरको गेट खोलेर सुरक्षित भाग्ने व्यवस्था समेत अस्पतालले गरेको थियो। अश्रुग्यास अस्पताल भित्र पस्दा आँखा मिच्दै स्वास्थ्यकर्मीले उपचार गरेका गरेका थिए।
स्वास्थ्यकर्मीहरु कम्तिमा १२ घन्टादेखि ३६ घन्टासम्म सक्रिय रहेको उपचार सेवा दिएका थिए।
अस्पतालका अनुसार कुल ४६० जना घाइतेको अस्पतालमा उपचार भएको छ। तीमध्ये ३६६ जनाले सामान्य उपचारपछि डिस्चार्ज पाए भने ४४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ।
यस अवधिमा ४९ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको थियो। तीमध्ये ४१ जनाले उपचारपछि डिस्चार्ज पाएका छन् भने हालसम्म ८ जना अझै उपचाररत छन्।
अस्पतालका तथ्याङ्कअनुसार ५० जना घाइतेको शल्यक्रिया गरिएको छ र ११ जनाको पुनः शल्यक्रिया गरिएको छ। यसबीचमा उपचारको क्रममा ६ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालले कसरी उपचार व्यवस्थापन गर्यो भन्ने विषयमा निर्देशक डा मोहनचन्द्र रेग्मी, अस्पताल निर्देशक डा दिपक पौडेल र नर्सिङ प्रमुख सलिका मुनिकारसँग गरिएको कुराकानी :