पोखरा- मणिपाल शिक्षण अस्पताल, पोखराले पछिल्ला दिनमा नर्सिङ कर्मचारीहरूले सुरु गरेको आन्दोलनका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा सेवा प्रवाहमा असर पर्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्दै 'संवाद र सहकार्यकै माध्यमबाट समाधान खोज्न' आग्रह गरिएको छ।
विज्ञप्तिअनुसार, असोज १० गते राति आईसीयु विभागका केही नर्सिङ कर्मचारीहरूले तलब–भत्ता नबढेसम्म काममा नजाने निर्णय गरेपछि अस्पताल प्रशासन र नर्सिङ सुपरभाइजरबीच छलफल भएर कर्मचारीहरूलाई कार्यमा फर्काइएको थियो।
त्यसपछि असोज ११, १९ र २४ गतेसम्म चार चरणमा वार्ता भएका थिए। असोज २४ गते बिहीबार व्यवस्थापनले नर्सिङ वार्ता टोलीलाई ९५ प्रतिशत माग सम्बोधन भएको लिखित प्रस्ताव प्रस्तुत गरेको भए पनि, भोलिपल्ट करिब २०० जना नर्सिङ कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए।
अस्पतालका अनुसार, उक्त आन्दोलनका कारण आइसीयु र अन्य वार्डहरूको सेवा प्रभावित भई धेरै बिरामी डिस्चार्ज गर्नुपरेको थियो। हाल अस्पतालमा केवल ओपीडी सेवा सञ्चालनमा रहेको र भर्ना सेवा अस्थायी रूपमा रोकिएको जनाइएको छ।
अस्पतालले केही माध्यमहरूमा फैलिएका “कम तलब र श्रमशोषणका आरोप” असत्य रहेको स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारले तोकेको न्यूनतम तलब रु. १७,३०० भन्दा कम कुनै नर्सलाई दिइँदैन।” साथै, नयाँ संरचनाअनुसार आगामी दिनमा तलब यसरी लागू हुने जनाइएको छ–
तह अनुभव मासिक तलब (रु.)
बीएससी/बीएन स्टाफ नर्स १ वर्षदेखि माथि २९,५८७
पीसीएल स्टाफ नर्स १ वर्षदेखि माथि २८,५८७
सीएमए/एनएएम १ वर्षदेखि माथि २६,५८७
नयाँ नर्स (फ्रेसर) — २४,२८७
साथै, अस्पतालले साप्ताहिक बिदा, घर बिदा, बिरामी बिदा, तथा सार्वजनिक बिदाहरू नियमित रूपमा दिइने र टाइम बैंकिङ प्रणालीमार्फत ओभरटाइम भुक्तानी सुनिश्चित गरिएको जनाएको छ।
अस्पतालले करिब ५० नर्सका लागि आवासीय होस्टल (रु. ६०० मासिक भाडा) र मेसमा रु. ४५ मा पौष्टिक भोजनको व्यवस्था गरेको दाबी गरेको छ। रातिको सवारी व्यवस्थामा देखिएका साना समस्या समाधानको प्रक्रिया अघि बढेको पनि विज्ञप्तिमा उल्लेख छ।
अस्पताल प्रशासनले विगत ३० वर्षदेखि गुणस्तरीय र सुरक्षित स्वास्थ्य सेवा प्रवाह गर्दै आएको बताउँदै 'न्यून पारिश्रमिक र श्रमशोषणका आरोपहरू पूर्ण रूपमा आधारहीन र भ्रामक' भनेर खण्डन गरेको छ।
विज्ञप्तिमा भनिएको छ, 'हामी पुनः स्पष्ट गर्न चाहन्छौं कि हरेक समस्या समाधानको माध्यम संवाद नै हो। अस्पताल प्रशासन वार्ता र सहकार्यका लागि सधैं खुला छ।'
अन्त्यमा, प्रशासनले आन्दोलनका कारण रोगी सेवा प्रभावित हुन सक्ने भएकाले शान्तिपूर्ण र जिम्मेवार व्यवहार अपनाउन सबै पक्षलाई आग्रह गरेको छ।
सरकारी तलब स्केलअनुसार सेवासुविधाको माग गर्दै नर्सहरु केही समयदेखि आन्दोलित छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी सेवा सेवासुविधा दिन निर्देशन गरेको छ। निजी मेडिकल कलेजहरुले दिन नसक्ने भन्दै चुनौती दिएका छन्।
प्रेस विज्ञप्ति
मणिपाल शिक्षण अस्पताल, पोखरा
मिति: २०८२/०६/२८
मणिपाल शिक्षण अस्पताल, पोखरा सधैं गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र कर्मचारीहरूको समुचित अधिकारको संरक्षण प्रति प्रतिबद्ध संस्था हो।
यद्यपि पछिल्ला केही दिनयता अस्पतालका नर्सिङ कर्मचारीहरूसँग सेवा–सुविधासम्बन्धी विषयमा सञ्चालित संवादकै क्रममा उत्पन्न परिस्थितिहरू, त्यसबारे फैलिएका भ्रामक सूचनाहरू र यसले अस्पताल सेवा प्रवाहमा पारेको असरप्रति अस्पताल प्रशासन यस विज्ञप्ति मार्फत स्पष्ट धारणा व्यक्त गर्दछ।
१. हालसम्मको घटनाक्रम
मिति २०८२ असोज १० गते राति करिब ८ बजे, मणिपाल शिक्षण अस्पतालको ICU विभागमा कार्यरत केही नर्सिङ कर्मचारीहरूले आकस्मिक रूपमा आफ्नो कार्यस्थल छोडी “तलबभत्ता वृद्धि नभएसम्म काममा नजाने” निर्णय गरेका थिए।
ICU जस्तो संवेदनशील विभागमा यसरी बिरामीलाई अलपत्र पार्दा उपचारमा समस्या हुन सक्ने भएकाले, Nursing Supervisor ले बुझाए पछि कर्मचारीहरूलाई पुनः काममा फर्काउनुभएको थियो।
भोलिपल्ट, मिति २०८२ असोज ११ गते शनिबार, अस्पताल निर्देशक तथा मानव संसाधन विभाग प्रमुखको रोहबरमा नर्सिङ स्टाफ र सक्रिय युनियनका प्रतिनिधिहरू सँग अस्पताल प्रशासनले पुनः छलफल सम्पन्न गरेको थियो। उक्त छलफलमा दशैंपछि पुनः बैठक बस्ने सहमति भएको थियो।
दशैं बिदा समाप्त भएपछि, मिति २०८२ असोज १९ गते आइतबार, व्यवस्थापन पक्ष र नर्सिङ वार्ता टोलीका प्रतिनिधिहरूबीच पुनः वार्ता सम्पन्न भयो।
सो क्रममा व्यवस्थापनले “आगामी शुक्रबारसम्म कर्मचारीहरूको माग सम्बोधन गर्न सकिने विषयमा अधिकतम प्रयास गर्ने” प्रतिबद्धता जनाएको थियो र नर्सिङ कर्मचारीहरूले पनि कार्यस्थलमा फर्किने सहमति व्यक्त गर्नुभएको थियो।
त्यसपश्चात् पछिल्ला दिनहरूमा क्रमशः ३–४ चरणमा संवाद हुँदै, मिति असोज २४ गते बिहीबार, व्यवस्थापन पक्षले नर्सिङ वार्ता टोलीलाई बोलाई मागका विषयमा लिखित प्रस्ताव प्रस्तुत गरेको थियो । सो अवसरमा वार्ता टोलीका प्रतिनिधिहरूले “हामी आफ्ना साथीहरूलाई बुझाउँछौं” भन्ने आश्वासन दिनुभएको थियो।
तर, सो छलफलपछि केही कर्मचारीहरूले “व्यवस्थापनले नै सबैलाई बुझाउनुपर्छ” भन्ने जानकारी दिँदा, अस्पताल प्रशासनले असोज २४ गते शुक्रबार करिब २०० जना नर्सिङ कर्मचारीहरूलाई अस्पताल हलमा बोलाई सम्पूर्ण विवरण जानकारी गराएको थियो।
व्यवस्थापनले लगभग ९५% मागहरू सम्बोधन भइसकेको स्थिति प्रस्तुत गरेको थियो।
साथै, यदि थप जिज्ञासा वा अस्पष्टता भए, सोही दिन अपराह्न ३ बजे सीईओको कार्यालयमा भेटघाट गरी पुनः छलफल गर्न सकिने व्यवस्था गरिएको थियो। तर, कर्मचारीहरू न त वार्तामा उपस्थित हुनुभयो, न त कार्यस्थलमा फर्किनुभयो।
त्यसपछि, सोही दिन दिउँसो करिब ४ बजे, कर्मचारीहरूले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा नाराबाजी गर्दै, कार्यरत अवस्थामै सम्पूर्ण जिम्मेवारी परित्याग गरी आन्दोलन र हड्तालमा उत्रनुभयो।
यसका कारण ICU लगायतका वार्डहरूमा बिरामीहरूको उपचारमा गम्भीर असर पर्न गएको र अस्पतालमा रहेका अधिकांश भर्ना बिरामीहरूलाई डिस्चार्ज गर्नुपर्ने अवस्था सिर्जना भयो।
गम्भीर बिरामीहरूलाई ICU मा केन्द्रित गरी उपचार गरिएको छ भने अन्य बिरामीहरूलाई मौखिक रेफरल वा सर्जरी वार्डमा स्थानान्तरण गरी सेवा सञ्चालन गरिएको छ।
हाल अस्पतालमा ओ.पी.डी. सेवा मात्र सञ्चालनमा छ भने, भर्ना सेवा आवश्यक जनशक्ति अभावका कारण अस्थायी रूपमा रोकिएको छ।
मिति २०८२ असोज २७ गते आइतबार, पुनः वार्ताको वातावरण निर्माण भई अपराह्न ३ बजे दुबै पक्षबीच छलफल सम्पन्न भएको र अर्को बैठक बस्ने सहमति भएको जानकारी गराइन्छ।
२. समाजमा फैलिएका भ्रमहरूको स्पष्टिकरण
केही माध्यमहरूमा नर्सिङ कर्मचारीहरूका तलब, सुविधा र कार्यस्थितिबारे विभिन्न भ्रामक जानकारीहरू प्रसारित भइरहेका छन्। यस सन्दर्भमा अस्पतालले निम्न यथार्थ विवरण सार्वजनिक गर्न चाहन्छ:
(क) तलब सम्बन्धी
नेपाल सरकारले तोकेको २०८२ साउन अघिका लागू न्यूनतम तलब रु. १७,३००/- हो। हाम्रो अस्पतालले ती कर्मचारीहरूलाई उक्त दर अनुसार तलब प्रदान गर्दै आएको छ र तलब हरेक नेपाली महिनाको ७ गते भित्र नियमित रूपमा भुक्तानी गर्दै आएको जानकारी गराउन चाहन्छौँ। बजारमा फैलिएको “नर्सहरूले रु. १२,००० वा रु. १५,००० मात्र पाउँछन्” भन्ने दाबी पूर्ण रूपमा भ्रमित र आधारहीन छ।
साथै, अस्पतालद्वारा आगामी दिनमा लागू गर्ने गरी नयाँ तलब तथा भत्ता संरचना निर्धारण गरिएको छ ।
• B.Sc./BN Staff Nurse (with minimum one year Experience) : रु. २९,५८७/-
• PCL Staff Nurse (with minimum one year Experience) : रु. २८,५८७/-
• CMA/ANAM (with minimum one year Experience) : रु. २६,५८७/-
• Fresh Nursing Staff: रु. २४,२८७/-
यस सम्बन्धी जानकारी वार्ता टोली र आन्दोलनरत कर्मचारीहरूलाई आधिकारिक रूपमा दिइसकिएको छ।
(ख) बिदा सम्बन्धी
अस्पतालले नर्सिङ कर्मचारीहरूलाई साप्ताहिक एक दिनको बिदा, घर बिदा, बिरामी बिदा र सरकारले तोकेका सम्पूर्ण सार्वजनिक बिदा प्रदान गर्दै आएको छ। अस्पतालले अतिरिक्त समय काम गर्ने नर्सिङ कर्मचारीहरूका लागि Time Banking प्रणालीको व्यवस्थित व्यवस्था गरेको छ, जसले उनीहरूको अतिरिक्त कार्यसमयको उचित मूल्याङ्कन र भुक्तानी सुनिश्चित गर्दछ।
“बिदा नपाएको” भन्ने दाबी तथ्यहीन हो।
(ग) रातिको सवारी सुविधा
राति ड्युटी सकेर फर्किने नर्सिङ कर्मचारीहरूका लागि सवारी सुविधा पहिले नै व्यवस्था गरिएको छ।
केही तालमेलका समस्या देखिएकाले, सम्बन्धित पक्षसँगको सहमति अनुसार समाधानको प्रक्रिया अघि बढिसकेको छ।
(घ) होस्टल तथा भोजन सुविधा
करिब ५० नर्सिङ कर्मचारीहरूका लागि आवासीय होस्टल सुविधा उपलब्ध छ, जसको मासिक भाडा रु. ६०० मात्र रहेको छ।
साथै, अस्पतालको आवासीय नर्सिङ कर्मचारीहरूका लागि अस्पतालको मेसमा एकछाकको रु. ४५ मा पौष्टिक भोजन उपलब्ध गराइएको छ।
३. अस्पताल प्रशासनको अपील
मणिपाल शिक्षण अस्पतालले विगत तीन दशकदेखि यस प्रदेशमा गुणस्तरीय, सुरक्षित र उदाहरणीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
“न्यून पारिश्रमिकमा कार्य गराइएको” वा “श्रम शोषण गरिएको” भन्ने आरोपहरू तथ्यहीन र भ्रामक छन्, र यसप्रति अस्पताल प्रशासनले गहिरो आपत्ति प्रकट गर्दछ।
हामी पुनः स्पष्ट गर्न चाहन्छौं कि हरेक समस्या समाधानको माध्यम संवाद नै हो, र अस्पताल प्रशासन वार्ता र सहकार्यका लागि सधैं खुला छ।
अन्त्यमा, यस्ता गतिविधिहरूले संस्था, सेवा उपभोक्ता र सम्पूर्ण स्वास्थ्य प्रणालीमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले, सबै सरोकारवाला पक्षहरूलाई शान्तिपूर्ण, जिम्मेवार र संवादमुखी माध्यमबाट समस्या समाधान खोज्न हार्दिक अनुरोध गर्दछौं।
अस्पताल प्रशासन,
मणिपाल शिक्षण अस्पताल, पोखरा