ललितपुर- किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल, ललितपुरमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न घटनाक्रममा चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अस्पतालमा तोडफोड भएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ।
संघले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो हिंसात्मक कार्यको घोर भत्सर्ना गर्दै दोषीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ। संघले उपचारको क्रममा मृत्यु भएकी दिवंगत आत्माप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
विज्ञप्तिमा भनिएको छ, 'यदि उपचारको क्रममा लापरबाही भएको आशंका छ भने त्यसको समाधानका लागि कानूनी बाटो खुला छ। तर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट र स्वास्थ्य संस्था तोडफोड गर्नु जस्तो अमानवीय कार्यले स्वास्थ्य सेवा प्रणालीमै असर पुर्याउँछ।'
संघले स्वास्थ्यकर्मी र संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (पहिलो संशोधन २०७९) अनुसार दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न र स्वास्थ्यकर्मीले सुरक्षित र भयरहित वातावरणमा सेवा प्रवाह गर्न पाउने व्यवस्था सुनिश्चित गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।
नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीले भने, 'स्वास्थ्यकर्मीमाथि भएको हिंसा केवल व्यक्ति विशेषमाथिको आक्रमण होइन, यो सम्पूर्ण स्वास्थ्य प्रणालीमाथिको आक्रमण हो। यस्ता घटनाले स्वास्थ्य सेवामा नै अवरोध सिर्जना गर्छ।'