काठमाडौं- सिंहदरबार परिसर बाहिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अबको केही हप्ताभित्रै सिंहदरबार भित्र जाने पक्का भएको छ।
सरकारले स्वास्थ्य मन्त्रालयलाई सिंहदरबार परिसर भित्र दक्षिण पश्चिम क्षेत्रमा रहेको नेपाली सेनाको नरसिंह दल गण रहेको क्षेत्र प्रयोग गर्ने अनुमति दिएसँगै उक्त क्षेत्रमा मन्त्रालय लैजानका लागि आवश्यक काम अगाडि बढीरहेको छ। यो क्षेत्र भनेको हाल सर्वोच्च अदालतको नयाँ बनिरहेको भवनको ठिक पछाडिपट्टि हो।
माइतीघरतर्फबाट सिंहदरबार दक्षिण गेट तर्फ जाने क्रममा अन्नपुर्ण न्यूरो अस्पताल भन्दा केही मिटर मात्र अगाडि बबरमहल रिभिजिटेडको ठिक अगाडि नरसिंह दल भित्र जाने गेट पनि रहेको छ। तर स्वास्थ्य मन्त्रालय त्यहाँ भित्र सरेपछि भने उक्त गेट पूर्ण रुपमा बन्द हुने र कर्मचारी तथा सेवाग्राहीले दक्षिण गेट वा अन्य गेटबाट भित्र जानुपर्ने हुन्छ।
सेनाको सो गण प्रधानमन्त्री कायालय नजिक सरे पछि खाली रहेको उक्त क्षेत्रको जग्गा र भवनहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि प्रयोगमा ल्याउने गरी छुट्याइएको मन्त्रालयका प्रवक्त डा प्रकाश बुढाथोकीले जानकारी दिए।
उनका अनुसार खाली जग्गा रहेको स्थानमा मन्त्रालयका लागि उपयुक्त हुने गरी विश्व स्वास्थ्य संगठनको आर्थिक र प्राविधिक सहयोगमा प्रिफ्याबका भवनहरु बनिरहेका छन्।
'सेनाका केही भवनहरु पनि रहेका छन्। ती भवनहरुलाई मर्मत सम्भार गर्ने काम बाँकी छ भने मन्त्रालयका लागि आवश्यक अन्सार ६ वटा प्रिफ्याब भवन भने विश्व स्वास्थ्य संगठनको सहयोगमा धमाधम बनिरहेको छ,' उनले भने।
जेनजी आन्दोलनपछि भदौ २४ गते भएको प्रदर्शनका क्रममा रामशाह पथमा रहेको स्वास्थ्य मन्त्रालयको भवनसहित सिंहदरबार र संसद भवनहरु जलेर खरानी भएका थिए। आगजनीका कारण जलेको स्वास्थ्य मन्त्रालय प्रयोग गर्न नमिल्ने भएपछि हाल स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषदको नयाँ भवनमा सरेको छ।
तर, अब भने मंसिरको पहिलो साता भित्र नै मन्त्रालय सिंहदरबार भित्र सर्ने गरी काम अगाडि बढेको प्रवक्त डा बुढाथोकीले जानकारी दिए।