लन्डन, युनाइटेड किङडममा सम्पन्न ‘ईस्मफ इम्युनो–अन्कोलोजी २०२५’ सम्मेलनमा सहभागी हुने अवसर मेरो जीवनको एक अत्यन्त महत्वपूर्ण शैक्षिक मात्र होइन, भावनात्मक अनुभव पनि बन्यो। विश्वका अग्रणी क्यान्सर विज्ञहरूसँग एउटै मञ्चमा बसेर क्यान्सर उपचारमा भइरहेको तीव्र र ऐतिहासिक प्रगतिलाई नजिकबाट अनुभूत गर्दा, भविष्यप्रति आशा अझ सुदृढ भएको महसुस भयो।
आज क्यान्सर उपचारको सन्दर्भमा इम्युनोथेरापी आशाको पर्यायजस्तै बनेको छ। सरल शब्दमा भन्नुपर्दा, इम्युनोथेरापी भनेको हाम्रो आफ्नै शरीरको प्रतिरक्षा प्रणालीलाई क्यान्सर कोषिकालाई चिन्न, लक्षित गर्न र नष्ट गर्न सक्षम बनाउने उपचार विधि हो। किमोथेरापीले जस्तै सिधै क्यान्सर कोषिकालाई मार्नुको सट्टा, यसले शरीरलाई नै सशक्त बनाएर रोगसँग लड्न प्रेरित गर्छ। यही कारणले केही बिरामीमा यसले दीर्घकालीन र उल्लेखनीय लाभ दिएको देखिएको छ।
विश्वमा के–कस्तो प्रगति भइरहेको छ?
सम्मेलनमा प्रस्तुत भएका अनुसन्धान, क्लिनिकल ट्रायल र चिकित्सकीय अनुभवहरूले एक महत्वपूर्ण तथ्य स्पष्ट पारे- अब क्यान्सर उपचार 'एउटै औषधि सबैका लागि' भन्ने अवधारणाभन्दा धेरै अघि बढिसकेको छ। आज कुन बिरामीलाई इम्युनोथेरापी सबैभन्दा उपयुक्त हुन्छ भन्ने कुरा रगत र ट्युमरका विशेष परीक्षणहरू, अर्थात् बायोमार्कर का आधारमा पहिचान गर्न थालिएको छ।
यसले अनावश्यक उपचार, जोखिम र खर्च घटाउँदै सही बिरामीलाई सही समयमा सही उपचार दिने मार्ग प्रशस्त गरेको छ। साथै, इम्युनोथेरापीलाई किमोथेरापी वा लक्षित उपचारसँग संयोजन गर्दा अझ प्रभावकारी परिणाम देखिएको अनुभव पनि सम्मेलनमा साझा गरियो।
नेपालको यथार्थ
नेपालमा क्यान्सरको बोझ दिनानुदिन बढ्दो छ। धेरै बिरामी ढिलो चरणमा मात्र अस्पताल पुग्ने, आर्थिक अभावका कारण उपचार अधुरो रहने र उपचारका आधुनिक विकल्पहरू सीमित हुने यथार्थ हामी सबैका लागि परिचित छ।
इम्युनोथेरापी प्रभावकारी भए पनि यसको उच्च लागत, सबै स्वास्थ्य संस्थामा उपलब्ध नहुनु तथा आवश्यक परीक्षणहरूको अभाव प्रमुख चुनौतीका रूपमा छन्। तर, सही बिरामी छनोट, विशेषज्ञको निकटतम् निगरानी र चरणबद्ध रूपमा प्रयोग गर्न सकिएमा, नेपालमै पनि यस उपचारबाट उल्लेखनीय लाभ लिन सकिने सम्भावना स्पष्ट देखिन्छ।
मेरा बिरामीहरूः मेरा सबैभन्दा ठूलो शिक्षक
म आज यहाँसम्म आइपुग्नुको सबैभन्दा ठूलो प्रेरणा मेरा बिरामीहरू नै हुनुहुन्छ। तपाईंहरूको पीडा, आशा, आँसु र अदम्य साहसले मलाई हरेक दिन अझ जिम्मेवार र संवेदनशील चिकित्सक बन्न सिकाएको छ।
उपचारका क्रममा उठ्ने प्रश्नहरू, संघर्ष र अपेक्षाहरूले नै मलाई विश्वका यस्ता सम्मेलनहरूमा पुगेर नयाँ ज्ञान खोज्न प्रेरित गरेका हुन्। तपाईंहरूबिनाको यो यात्रा सम्भव हुने थिएन।
सिकाइलाई सेवामा रूपान्तरण गर्ने संकल्प
ईस्मो सम्मेलनबाट प्राप्त ज्ञान र अनुभव केवल पुस्तक, स्लाइड वा प्रस्तुतीकरणमै सीमित नरहून्, ती नेपाली बिरामीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने माध्यम बनून् भन्ने मेरो दृढ संकल्प छ। सीमित स्रोत र चुनौतीका बीच पनि कसरी सुरक्षित, प्रभावकारी र व्यवहारिक रूपमा इम्युनोथेरापी प्रयोग गर्न सकिन्छ भन्ने दिशामा निरन्तर प्रयास आवश्यक छ।
अन्त्यमा, उपचारको कठिन यात्रामा मेरो विश्वास र साथ बन्नु भएका सम्पूर्ण बिरामी, उनीहरूका परिवार, स्वास्थ्यकर्मी सहकर्मी तथा समाजप्रति म हृदयदेखि आभार व्यक्त गर्दछु। तपाईंहरूको भरोसा नै मेरो सबैभन्दा ठूलो शक्ति हो, र यही शक्तिले क्यान्सरसँगको लडाइँमा हामीलाई निरन्तर अघि बढाइरहनेछ।