काठमाडौं- नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति, बढुवा र सुविधा लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
अनुसन्धानका क्रममा गिरीले सन् १९८८ मा भारतको बिहार स्कुल इक्जामिनेसन बोर्ड, पटनाबाट प्राप्त गरेको भनिएको एसएलसी-इन्डियाको प्रमाणपत्र नक्कली पुष्टि भएको हो। बिहार विद्यालय परीक्षा समितिको अभिलेखअनुसार उक्त वर्ष अन्तिम क्रमाङ्क ५७६ सम्म मात्र छापिएको देखिँदा गिरीको रोल कोड ५५०१/ रोल नं ७१८को प्रमाणपत्र अभिलेखविहीन रहेको पाइएको छ।
उक्त नक्कली प्रमाणपत्रकै आधारमा उनले मिति २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट पीसीएल इन नर्सिङ र मिति २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट पोस्ट बेसिक ब्याचलर इन नर्सिङ उत्तीर्ण गरेको, त्यसै प्रमाणपत्रहरू पेस गरी मिति २०५२/०९/१६ मा नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (प्राविधिक) पदमा नियुक्ति लिई क्रमशः बढुवा हुँदै हालको एसएसपी पदसम्म पुगेको आरोप छ। यस अवधिमा उनले विभिन्न तालिम, ओहोदा, लाभ र सुविधासमेत लिएको देखिएको अनुसन्धानमा उल्लेख छ।
आयोगका अनुसार गिरीको कार्यले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर पुष्टि भएको छ। त्यसअनुसार साविक ऐनको दफा १२ र २९(२) तथा प्रचलित ऐनको दफा १६(१) अनुसार सजाय मागदाबी गर्दै आज आरोपपत्र दायर गरिएको हो।