काठमाडौं - उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेपछि निर्वाचन किन रोकियो भन्ने प्रश्न उठेको छ। अदालतको आदेशको केन्द्रमा छ- नेपाल चिकित्सक संघको निर्वाचन नियमावली, २०७० को परिच्छेद ४ अन्तर्गतको उपनियम (६)।
न्यायाधीशद्वय ऋषिराम निरौला र दीपक खनालको संयुक्त इजलासले निषेधाज्ञा सम्बन्धी मुद्दामा सोमबार अन्तरिम आदेश जारी गरेको हो। डा. अजय कुमार मिश्रसमेतले नेपाल चिकित्सक संघलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले संघले मिति २०८२/६/२० मा प्रकाशित सूचनाअनुसार अघि बढाएको निर्वाचन प्रक्रिया नियमअनुसार पूरा नभएको ठहर गरेको छ।
उपनियम (६) मा के छ ?
निवेदक पक्षको मुख्य दाबी अनुसार निर्वाचन अधिकृतले उपनियम (६) ले दिएको अधिकार र दायित्व पूरा नगरेको देखिएको छ। निर्वाचन नियमावलीअनुसार मनोनयन पत्र जाँच गर्दा कुनै रीत नपुगेको अवस्था देखिएमा त्यसलाई सच्चाउने अवसर दिनु अनिवार्य छ।
निर्वाचन नियमावलीको व्यवस्था अनुसारः
उपनियम (५) अनुसार रीतपूर्वक देखिएको मनोनयन पत्र दर्ता गरी निस्सा दिनु पर्छ।
उपनियम (६) मा भने स्पष्ट रूपमा भनिएको छ, मनोनयन पत्रमा प्रस्तावक वा समर्थक नभएको, दोहोरिएको, धरौटीको निस्सा नभएको, सहिछाप नपुगेको वा अन्य कुनै रीत नपुगेको देखिएमा निर्वाचन अधिकृतले सो रीत नपुगेको कुरा सच्चाउन लगाई मनोनयन पत्र दर्ता गर्नुपर्नेछ।
-1767530490.png)
डा. मिश्र पक्षले आफ्नो मनोनयन पत्रमा देखिएको भनिएको रीत नपुगेको अवस्था सच्चाउन लगाउने प्रक्रिया पूरा नगरी सिधै अस्वीकार गरिएको दाबी गर्दै अदालतको ढोका ढकढक्याएका थिए। अदालतले पनि प्रारम्भिक अध्ययनमै नियम ६ अनुसारको प्रक्रिया पालना भएको नदेखिएको निष्कर्ष निकालेको छ।
अन्तिम आदेश नआएसम्म निर्वाचन स्थगित
अदालतले अन्तिम आदेश नभएसम्म यथास्थितिमा निर्वाचन प्रक्रिया अघि बढाउनु उपयुक्त नहुने ठहर गर्दै उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरेको हो। यससँगै संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन तालिका प्रभावित भएको छ।
संघको निर्वाचन तालिकाअनुसार उपत्यकाबाहिर माघ २ र ३ गते निर्वाचन गर्ने कार्यक्रम रहेको छ। तर मुद्दा दायर गर्ने ‘टिम रिफर्म’ का महासचिव डा. अमृत भुषालका अनुसार यस मुद्दाको अर्को पेशी माघ ६ गते तोकिएको छ। अदालतको अन्तिम आदेश नआएसम्म निर्वाचनको भविष्य अन्योलमा परेको छ।