हाम्रो शरीर स–साना कोषिकाले बनेको हुन्छ। कुनै कारणले ती कोषिकाहरूको अनियन्त्रित वृद्धि हुँदै जानु र नियन्त्रण गर्न नसक्नुलाई क्यान्सर भनिन्छ। क्यान्सर टाउकोदेखि खुट्टासम्म शरीरको जुनसुकै अङ्गमा पनि लाग्नसक्छ। क्यान्सर बालकदेखि वृद्धसम्म सबैलाई हुनसक्ने रोग हो। समयमै उपचार गरेमा क्यान्सर निको हुन सक्छ।
नेपालमा फोक्सोको क्यान्सर पहिलो नम्बरमा छ। यस्तै दोस्रोमा पाचन प्रणालीको क्यान्सर छ। पाचन प्रणालीमा मुख, अन्न नली, पेटको ठूलो आन्द्रा, सानो आन्द्रा, पित्तथैली, प्यानक्रियाज, मलद्वारको क्यान्सर पर्छन्।
यस्तै तेस्रो नम्बरमा स्तन क्यान्सर छ। यो क्यान्सर महिलामा पहिलो नम्बरमै छ, आजभोलि पुरुषमा पनि स्तन क्यान्सरको समस्या बढेको छ। संसारभरमा एक प्रतिशत पुरुषमा स्तन क्यान्सर देखिन्छ। स्तन क्यान्सर, ओभरी क्यान्सर, डिम्बासयको क्यान्सर महिलामा हुने क्यान्सर हो। बच्चामा ल्युकेमिया अर्थात् रगतको क्यान्सर बढी देखिएको छ।
क्यान्सरको कारक तत्व
हरेक क्यान्सरको पहिलो कारक तत्व चुरोट, बिडी, खैनी, तमाखु, हुक्का, सिगार, पाइप लगायत सुर्तीजन्य पदार्थ हुन्। मादक पदार्थ,ढुसी परेका खानेकुरा, जंक फुड, नुनको बढी प्रयोग, पोलेका वा तारेका खानेकुराले पनि क्यान्सर हुनसक्छ।
क्यान्सरको कारक तत्व खाद्यान्न, तरकारी तथा फलफूलमा विषादीको अत्याधिक प्रयोग पनि हो। हेर्दा राम्रो देखिने फलफूल र तरकारीमा अत्याधिक विषादी प्रयोग भएको हुनसक्छ। विषादीयुक्त फलफूल र तरकारीको सेवनले क्यान्सरको जोखिम बढाउँछ। बजारमा पाइने तरकारी र फलफूल विषादीयुक्त छैन भन्नेमा ढुक्क हुने अवस्था छैन।
यदि आफैँले फलाएको अर्गानिक छ भनेमात्र ढुक्कले प्रयोग गर्न सकिन्छ। बजारमा पाइने तरकारी वा साग किरा लागेको छ भने विषादी नभएको हुनसक्छ। गाँजर, काँक्रो, मुला सर्लक्क परेको भन्दा पनि बाङ्गो किन्नुपर्छ। यस्तै खाद्यान्नलाई आकर्षक बनाउन प्रयोग गरिने रासायनिक पदार्थले पनि क्यान्सरको जोखिम बढाउँछ। तरकारी तथा फलफूलमा विषादीको प्रयोग घटाउन सकिएन भने क्यान्सर पनि घटाउन सम्भव छैन।
क्यान्सरको अर्को कारण वंशानुगत पनि हो। १० प्रतिशत क्यान्सर वंशानुगत हुनसक्छन् । आमाबुबामा नदेखिए पनि हजुरआमा वा हजुरबुबामा थियो भने जीन म्युटेसन भएर नाति, पनातिमा क्यान्सर देखिनसक्छ। बालबालिका वा युवाअवस्थामा क्यान्सर हुनु भनेको धेरैजसो कारण वंशानुगत हुन्छ।
क्यान्सरको जीन तपाईं हामी सबैको शरीरमा सुषुप्त भएर बसेको हुनसक्छ। तर धूमपान, खराब जीवनशैली वा विभिन्न कारणले त्यो सुषुुप्त रहेको क्यान्सरको जीन बाहिर निस्किन सक्छ। यस्तै विकिरण र वातावरणीय रसायनले पनि क्यान्सरको जोखिम बढाउँछ।
क्यान्सरका लक्षण
निको नहुने खोकी लाग्नु वा धोद्रो स्वर हुनु।
कोठीको रंग र आकार परिवर्तन हुनु।
दिसा–पिसाबमा समस्या आइरहनु वा रगत देखिनु।
शरीरको कुनै अङ्गबाट पिप वा रगत बग्नु।
शरीरमा लागेको घाउ वा चोटपटक निको नहुनु।
बिना कारण तौल घट्दै जानु।
खाना अपच हुने समस्या भइरहनु।
यस्ता लक्षण देखिएमा क्यान्सरको परीक्षण गराउनुपर्छ। समयमै उपचार गरेमा क्यान्सरको उपचार निको हुन्छ। क्यान्सरको उपचारका लागि सरकारी तथा नर्भिकजस्ता निजी क्षेत्रका अस्पतालमा आधुनिक उपचार प्रविधि तथा दक्ष एवं विज्ञ चिकित्सक उपलब्ध छन्। त्यसैले क्यान्सरको उपचार नेपालमै सम्भव छ। क्यान्सर उपचार पछि निको भएर सामान्य जीवनयापन गरिरहेका व्यक्ति धेरै हुनुहुन्छ।
क्यान्सर न्यूनीकरणका लागि
स्वस्थकर खाना,
नियमित शारीरिक व्यायाम
तौल नियन्त्रण
यी तीनवटा कुरामा ध्यान दिन सकेमा हामी ६० प्रतिशत क्यान्सरबाट बँच्न सक्छौँ। क्यान्सर निर्मूल पार्न सकिँदैन, यसलाई न्यूनीकरण भने गर्न सकिन्छ। क्यान्सर सरुवा रोग होइन, यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन। तर, शरीरको एक अङ्गबाट अर्को अङ्गमा फैलिन सक्छ।
-(वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा. आरपी बराल नर्भिक अस्पतालमा कार्यरत छन्।)