काठमाडौं- वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा सातामा पाँच दिन सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि मंगलबार ओपीडी सञ्चालन नहुँदा अन्य दिन बिरामीको चाप बढेपछि अस्पतालले सेवा विस्तार गरेको हो।
वीर अस्पतालले भदौ २ गते जारी गरेको सूचनाअनुसार नेफ्रोलोजी विभागको ओपीडी सोमबार, मंगलबार, बुधबार, बिहीबार र शुक्रबार सञ्चालन हुनेछ। सोमबार र बुधबार बिहान तथा दिउँसो दुवै सत्रमा ओपीडी सञ्चालन हुनेछ भने मंगलबार र बिहीबार बिहानको सत्रमा सेवा उपलब्ध हुनेछ। शुक्रबार भने बिहान र दिउँसो दुवै सत्रमा ओपीडी सञ्चालन हुने जनाइएको छ।
यसअघि मंगलबार ओपीडी सञ्चालन नहुने व्यवस्था थियो। उक्त दिन मिर्गौला प्रत्यारोपण, ग्रान्ड राउन्ड तथा औपचारिक कक्षालगायतका शैक्षिक तथा चिकित्सकीय गतिविधि हुने गरेको विभागले जनाएको छ।
नेफ्रोलोजी तथा किड्नी ट्रान्सप्लान्ट मेडिसिन विभागका वरिष्ठ कन्सल्टेन्ट नेफ्रोलोजिस्ट तथा विभागीय प्रमुख डा. अनिल बरालका अनुसार आइतबार सार्वजनिक बिदा लागू भएपछि आइतबार सेवा लिन आउने बिरामीलाई समस्या परेको थियो। त्यसपछि सोमबारको रिपोर्ट लिएर आउने बिरामीसमेत थपिँदा बुधबारको ओपीडीमा अत्यधिक भीड हुन थालेको उनले बताएका छन्।
बिरामीको बढ्दो चापलाई व्यवस्थापन गर्न साबिककै जनशक्ति, स्रोत र साधनबाट साताको पाँचै दिन मिर्गौला विशेषज्ञको ओपीडी सञ्चालन गर्ने निर्णय गरिएको डा. बरालले बताएका छन्।
उनले आकस्मिक अवस्थाबाहेकका बिरामीले अस्पतालको सीमित जनशक्ति तथा स्रोत–साधनलाई ध्यानमा राखेर सहयोग गरिदिन आग्रह गरेका छन्। साथै, स्वास्थ्यकर्मीको सेवा र प्रयासप्रति गुनासोसँगै कृतज्ञता व्यक्त गर्न पनि उनले आग्रह गरेका छन्।
अस्पतालको नयाँ व्यवस्थाअनुसार अब मिर्गौला रोगसम्बन्धी विशेषज्ञ सेवा साताको पाँचै दिन उपलब्ध हुनेछ।