काठमाडौं- नेपाल सरकारले भदौ २३ गते मंगलबार सार्वजनिक बिदा घोषणा गरे पनि वीर अस्पतालले उक्त दिन अस्पतालका सबै सेवा नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। तर, अस्पताल प्रशासनले समयमै निर्णय लिएर सेवाग्राहीसम्म सूचना पुर्याउन नसक्दा अस्पतालमा भने सेवाग्राहीको उपस्थिति न्यून देखिएको छ।
वीर अस्पताल प्रशासनले भदौ २२ गते जारी गरेको सूचनामा यसअघि लगातार तीन दिन बिदा हुँदा अस्पतालमा बिरामीको अत्यधिक चाप बढेको, उपचार सेवा प्रभावित भएको तथा सेवाग्राहीले असुविधा व्यहोर्नुपरेको भन्दै भदौ २३ गते पनि सबै सेवा यथावत् सञ्चालन गर्ने जनाएको छ।
तर, अस्पताल खुला रहने निर्णयबारे समयमै व्यापक रूपमा सूचना प्रवाह हुन नसक्दा मंगलबार अस्पताल आउने सेवाग्राही अन्योलमा परेको देखिएको छ। अस्पताल प्रशासनको निर्णय ढिला सार्वजनिक हुँदा अस्पताल परिसरमै सेवाग्राहीको चहलपहलसमेत न्यून भएको छ।
अझ विडम्बना, अस्पतालकै केही चिकित्सकले समेत अस्पताल खाली रहेको अवस्थाप्रति कटाक्ष गर्दै ‘अस्पताल हेर्न आउन’ भन्दै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट टिप्पणी गरिरहेका छन्। अस्पताल खुला राख्ने निर्णय भए पनि त्यसको जानकारी सेवाग्राहीसम्म समयमै पुर्याउन नसक्दा निर्णयको प्रभावकारितामाथि नै प्रश्न उठेको छ।
अस्पताल प्रशासनले भने बिरामीको सहजतालाई ध्यानमा राखेर बिदाका दिन पनि सबै सेवा सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ। उक्त दिन काम गर्ने कर्मचारीलाई पछि सट्टा बिदा उपलब्ध गराइने अस्पताल प्रशासनले जनाएको छ।
अस्पताल खुला राख्ने निर्णय मात्र गरेर पुग्दैन, त्यसको जानकारी सेवाग्राहीसम्म समयमै र प्रभावकारी रूपमा पुर्याउनुपर्ने देखिएको छ। अन्यथा, सेवा सञ्चालनका लागि गरिएको निर्णय अस्पतालभित्रै सीमित हुने र सेवाग्राहीले त्यसको लाभ लिन नसक्ने अवस्था दोहोरिन सक्छ।