काठमाडौं, नैकाप निवासी ८२ वर्षीय गुणराज खनाल (नाम परिवर्तन) लाई उनका परिवारले सहिद मेमोरियल अस्पतालको स्नायु तथा मनोरोग क्लिनिकमा लिएर आए। एक वर्षदेखि दैनिक जीवनमा प्रयोग गर्दैआएका सामानहरु नचिन्ने, सबै कुरा बिर्संर्दै जाने, बारम्बार यताउता गरिरहने, छटपटी हुने, बारम्बार लड्ने, राति राम्रोसँग नसुत्ने, आफ्नै परिवारका सदस्यसमेत नचिन्नेजस्ता लक्षण देखिन थालेपछि उनलाई अस्पताल ल्याइएको थियो।
दुई महिनादेखि यस्ता लक्षण बढ्दै गएका आफ्ना बुबालाई अस्पताल ल्याउनासाथ छोराहरुले आत्तिँदै सोधे, ‘डाक्टरसाब अब त बुबाले हामीलाई समेत चिन्न पनि छाड्नु भयो।’ यति भन्दाभन्दै उनको आँखाबाट आँसु झर्न थाल्यो।
सम्पूर्ण जाँचहरु (सिटी स्क्यानसहित) गरिसकेपछि गुणराज खनाललाई डेमेन्सिया रोग लागेको निक्र्योल गरियो।
डेमेन्सिया भनेको के हो?
डेमेन्सिया अर्थात बिर्सने रोग यस्तो समस्या हो, जसले दिमागको काममा असर पर्दछ र यसका लक्षणहरु शारीरिक र मानसिक समस्याको रुपमा देखा पर्दछन्।
डेमेन्सियामा मानिस पूरै बेहोस हँुदैन। डेमेन्सियाले मुख्यतः व्यक्तिको ‘कोग्नेटिभ’ क्षमतामा ह्रास ल्याउँछ। यी क्षमताहरु निम्न प्रकारका हुन्छन्ः
– प्रक्सिस (शारीरिक क्षमता जस्तै सिलसिलेवर रुपमा कुनै काम सम्पन्न गर्नु)
– ग्नोसिस (कुनै पनि कुरालाई चिन्न सक्ने क्षमता)
– मेमोरी (स्मरण शक्ति, कुराहरु सम्झन र नयाँ कुरा सिक्नसक्ने क्षमता)
यी क्षमतामा ह्रास आउँदा निम्न प्रकारका समस्या देखा पर्दछन्ः
– अप्राक्सिया : दैनिकी जीवनमा गरिरहेका कामहरु गर्न असमर्थ हुनु। जस्तैः लुगाको टाँक लगाउन–खोल्न नसक्नु, दात माझ्न नसक्नु, काँइयो झिकेर कपाल कोर्न नसक्नु, दाह्री काट्न नसक्नु, भान्साको, बगैँचाको काम गर्न नसक्नु।
– अग्नोसिया : दैनिक जीवनमा प्रयोग हुने वस्तु, सर–सामान चिन्न नसक्नु।
– अम्नेसिया : कुराहरु बिर्संदै जानु, नयाँ कुरा सिक्न नसक्नु। डेमेन्सियाले ग्रसित व्यक्तिमा हुने मुख्य समस्या अम्नेसिया हो। व्यक्तिले सुरुमा त पुराना कुरा स्मरण गर्नसक्ने हुन्छ, तर विस्तारै रोग बढ्दै जाँदा नयाँ–पुराना सबै कुरा स्मरण नहुने हुन्छ।
– अफ्यासिया : कुनैकुनै व्यक्तिमा बोलीमा पनि परिवर्तन आउँछ। जस्तैः बोली लरबराउने, नबुझिने, प्रश्नको उत्तर दिन नसक्ने।
– अक्यालकुलिया : हिसाबसम्बन्धी समान्य काम पनि गर्न नसक्ने।
यस्ता कोग्नेटिभ लक्षणबाहेक डेमेन्सियाले हुने अरु लक्षणहरु निम्न प्रकारका छन्ः
– दैनिक जीवनका कामलाई नियमबद्ध रुपमा सञ्चालन गर्न नसक्नु।
– अस्वभाविक लक्षण देखाउनु, जस्तैः खान नहुने कुरा खाने प्रयास गर्नु÷खानु, आफ्ना भावना व्यक्त गर्न नसक्नु।
– शौचालयको प्रयोग गर्न नजान्नु, जहाँ पायो त्यहीँ शौच गर्नु।
– धेरै छटपटी हुनु, रिसाउनु।
– बाहिर निस्किएपछि घरमा फर्कन नसक्नु, हराउनु।
डेमेन्सियाका प्रकारः
– अल्जाइमर्स (सबैभन्दा बढी)
– एचआइभी सम्बन्धित
– टाउकोको चोटसम्बन्धी
– फ्रन्टो टेम्पोरल डेमेन्सिया
– पार्किनसन्स सम्बन्धित डेमेन्सिया
डेमेन्सियाका लक्षणहरु निम्न चरण हुँदै बढ्दै जान्छन्ः
प्रथम चरण– स्मरणशक्ति कम हुँदै जानु, बोली लरबराउनु, ठाउँ चिन्न नसक्नु।
दोस्रो चरण– व्यक्तित्वमा धैरै परिवर्तन आउनु, दैनिक जीवनका कामकाज गर्न नसक्नु।
अन्तिम चरण– दिसा–पिसाब भएको थाहा नपाउनु, हिँडडुल गर्न नसक्नु, अशक्त हुनु।
डेमेन्सियाको उपचारका उपायः
उपचार गरेर डेमेन्सिया पूरै ठीक हुँदैन। यसका असरहरु कम गरी व्यक्तिको जीवनयापन सहज बनाउन सकिन्छ।
-(स्नायु तथा तथा मनोरोग विशेषज्ञ डा अधिकारी शहिद मेमोरियल अस्पतालमा कार्यरत छन्।)