केही दिनअघि म पोखरादेखि काठमाडौंको यात्रामा रहँदा एक जना एअर होस्टेजको व्यक्तित्व देखेरे निकै प्रभावित भएको थिएँ। आकर्षक शारीरिक बनोट, सफा एवं शोभनीय युनिफर्ममा सजिएकी ती युवतीले सबै यात्रीलाई हवाइजहाजमा नमस्कार गर्दै अभिवादन गर्दै थिइन्।
सबैभन्दा आकर्षक त उनको खुलेको मुस्कान थियो, जसले उनको आत्मविश्वासलाई निकै उचाई दिएको सहजै अनुमान गर्न सकिन्थ्यो। एक दन्त चिकित्सक भएको हुँदा मिलेका दाँतका कारण उनको मुस्कान थप आकर्षक भएको ठहर गर्न मलाई कत्ति समय लागेन।
समाजका कतिपय घटनाक्रम हेर्दा विद्यालयमा अध्ययन गर्ने बालबालिकाले आफ्ना दाँत नमिलेका कारण साथीहरुले जिस्काउने भएर विद्यालय जान नमान्ने, खुलेर प्रस्तुत हुन नसक्ने तथा आफ्नो यथोचित क्षमता वृद्धि गर्न नसकेका उदाहरण थुप्रै छन्। यस्ता पक्षहरुले उनीहरुको शारीरिक, मानसिक तथा मनोवैज्ञानिक विकासमा प्रत्यक्ष भूमिका खेलेको हुन्छ।
युवा अवस्थामा पनि आकर्षित मुस्कानलाई व्यक्तित्व विकासको अभिन्न अङ्गको रुपमा लिन सकिन्छ, जसले रोजगारका अवसर प्राप्त गर्न, एक आपसमा सम्बन्ध स्थापना गर्न तथा 'पब्लिक मास' सँग मुकाबिला गर्न सहज बनाउँछ।
यसै कारण मोडेल, नायिका, टेलिभिजन प्रस्तोता लगायतले मिलेका दाँत सहितको आकर्षक मुस्कान आफ्नो अमूल्य गहनाको रुपमा राख्छन्। यस्तै प्रकारको आकर्षक मुस्कान दिन, अनुहारको स्वरुप राम्रो बनाउन तथा मुख र दाँतका कार्यहरुलाई सुधार गर्न विभिन्न प्रविधिको प्रयोग गरी नमिलेका दाँतहरुलाई मिलाउने उपचार पद्धतिलाई अर्थोडोन्टिक उपचार भनिन्छ।
दाँत बाङ्गा-टिङ्गा र अन्य नमिलेका किन हुन्छन्?
हामीलाई अवगत भएकै तथ्य हो कि, मानव शरीरमा दुधे दाँतहरु एक पल्ट साट्टिएर स्थायी दाँतहरु आउँछन्। दुधे दाँतहरुले पछि आउने दाँतहरुको लागि ठाउँ जोगाएर राखेका हुन्छन्। यसरी साट्टिने समय तालिका प्रत्येक दाँतको निर्दिष्ट हुन्छ। दुधे दाँत झर्नुपर्ने वास्तविक समय अगावै ती दाँतहरु झरे वा निकाल्न पर्यो् भने स्थायी दाँतहरुको लागि ठाउँ जोगिँदैन। फलस्वरूप हाम्रा स्थायी दाँतहरु बाङ्गा-टिङ्गा भएर आउँछन्।
अर्कोतर्फ दुधे दाँत झर्नुपर्ने समय पार भइसक्दा पनि झरेन वा निकालिएन भने पनि स्थायी दाँत बाङ्गा-टिङ्गा भएर आउँछन्। अर्को महत्वपूर्ण कारण दाँतहरुको र दाँतहरु रहने हड्डीको आकार भिन्नता हो। यसका साथै बच्चामा देखिने नराम्रा बानीहरु जस्तै औला चुस्ने, जिब्रो दाँतहरुको बीचमा खेलाउने, मुखबाट श्वास फेर्ने जस्ता प्रक्रियाबाट पनि दाँतहरु नमिलेका हुन्छन्। त्यस्तै वंशाणुगत कारकतत्व, अनुहारका हड्डीहरुम़ा चोटपटक लाग्नु, विभिन्न हर्मोनल रोगहरु, पौष्टिक तत्वको अभाव, दाँतको संख्या अतिरिक्त वा कम हुनु इत्यादिलाई दाँत नामिल्न्ने कारक तत्वम़ा राख्न सकिन्छ।
नेपालको वास्तविकता
यसको आधिकारिक तथ्यांक त कतै प्रकाशित भएको पाईंदैन तर हाम्रो दैनिक अभ्यास (प्राक्टिस) तथा अनुभवका आधारमा भन्नुपर्दा यथोचित जनचेतनाको अभावमा अधिकांश अभिभावकले बच्चाको दुधे दाँतम़ा कुनै समस्या देखा परे पनि नदुखेसम्म वा नसुन्निएसम्म अस्पताल/क्लिनिक लिएर आउने प्रचलन छैन। अस्पताल लगिहाले पनि "दुधे दाँत निकालेपछि स्थायी दाँत आइहाल्छ नि" भनेर प्रस्तावित उपचार नगर्ने जिकिर गरेको पाइन्छ।
कतिपय क्षेत्रमा त दाँतलाई तारले बाँधेर मिलाउन सकिन्छ भन्ने सामान्य ज्ञान समेत नभएको देखिन्छ। यसका साथै दाँतहरु मिलाउने उपचार कहिले सुरु गर्नुपर्ने तथा कहिलेसम्म उपचार सम्भव हुने भन्ने विषयमा पनि स्पष्ट नभएको देखिन्छ।
नेपालम़ा अर्थोडोन्टिक विशेषज्ञको संख्या निकै कम र उनीहरुको वितरण केन्द्रीकृत नै देखिन्छ। तसर्थ राष्ट्रका मुख्यमुख्य सहरहरु बाहेक अन्य क्षेत्रमा उनीहरुको उपस्थिति अत्यन्त न्यून देखिन्छ। नेपालका केही सरकारी अस्पतालले मात्र अर्थोडोन्टिक उपचार सुचारु गरेको अवस्था छ। निजी तवरम़ा यो उपचार तुलनात्मक रुपमा खर्चिलो भएको हुँदा बिहान–बेलुका हातमुख जोर्न गाह्रो हुने कतिपय गरिब नेपालीको पहुँचमा नहुन सक्छ।
दाँत बाङ्गा-टिङ्गा हुनबाट बचाउने उपाय
यसका लागि दुधे दाँतहरुको स्याहार अपरिहार्य हुन्छ, जसमा नियमित दिनको दुई पल्ट (बिहान खानपछि र राति सुत्नुअघि) दाँत ब्रस गर्नुपर्छ। साथै गुलियोजन्य पदार्थ सेवन न्यूनीकरण गर्ने र सेवन पश्चात तुरुन्त मुख कुल्ला गर्ने वा दाँत ब्रस गर्ने बानी बसाल्नुपर्छ। दाँतहरु साट्टिने समय निकै बहुमूल्य भएको हुँदा ६-१२ वर्षसम्म प्रत्येक ३/३ महिनामा अर्थोडोन्टिक विशेषज्ञसँग परामर्श लिनुपर्छ। यस अवधिमा आवश्यकताअनुसार स्पेस एनलाइसिस गरेर विभिन्न प्रकारका उपचार गर्न सकिन्छ।
बच्चाहरुको मुखसम्बन्धी विभिन्न नराम्रा बानीहरु जस्तै औला चुस्ने, जिब्रो दाँतहरुको बीचमा खेलाउने, मुखबाट श्वास फेर्ने कुराहरुको समयमै पहिचान गरी आवस्यकता अनुसार छुटाउनुपर्छ। अनुहारका हड्डीहरुको अनुपात भिन्नता देखा परेमा तिनीहरुको वृद्धि विकासलाई परिवर्तन गरी सुन्दर स्वरुप बनाउन सकिन्छ। पछिल्लो समय जेनेटिक थेरापी मार्फत पनि दाँत तथा अनुहारको स्वरुपलाई सुन्दर बनाउने प्रयास भइरहेको छ।
नमिलेका दाँतको उपचार (अर्थोडोन्टिक) के हो?
यस उपचारमा अक्सर दाँतलाई ब्रेस र तारले बाँधेर मिलाउने गरिन्छ। प्रायजसो दाँतको बाहिरी भागमा ब्रेस र तार राखी गरिने उपचार नै बढी प्रचलनमा देखिन्छ। यसरी गरिने उपचार प्रविधि बाहिरबाट देखिने भएको हुँदा कतिपयको हकमा सम्भव नहुन सक्छ। यसको लागि दाँतको भित्री सतह (जिब्रो पट्टिको भाग) मा ब्रेस लगाएर उपचार गर्ने प्रविधि नेपालम़ा पनि सुरु भएको छ। साथै ब्रेसको प्रयोग बिना नै दाँत मिलाउन सकिन्छ, जसलाई क्लियर एलाइनर थेरापी भनिन्छ।
अर्थोडोन्टिक उपचारका उद्देश्य
यस उपचार मार्फत बाङ्गा-टिङ्गा दाँतहरु, दाँतको बीचबीचमा खाली ठाउँ, दाँतको टोकाइको समस्या, अतिरिक्त तथा मिसिङ दाँतको उपचार तथा अनुहारको सुन्दरता बढाउने जस्ता कस्मेटिक उपचार गरी कुनै व्यक्तिको सौन्दर्य तथा मुस्कानलाई सुधार गर्ने काम गरिन्छ। यसका अतिरिक्त मुख तथा दाँतका कार्यहरु (चपाउने, बोल्ने, श्वास फेर्ने, निल्ने) लाई सुधार गर्नुका साथै गरेको उपचारलाई स्थिर बनाएर राखी पहिलेको अवस्थामा फर्कन नदिनु यस उपचारका उद्देश्यहरु हुन्।
अर्थोडोन्टिकक उपचारका नकारात्मक असर
कतिपय समुदायमा अर्थोडोन्टिक उपचार गरेपछि दाँतहरु कमजोर हुन्छन् भन्ने मान्यता देखिन्छ। त्यो सरासर गलत हो। विज्ञ अर्थोडोन्टिक विशेषज्ञसँग उपचार गराउँदा सामान्यतया कुनै पनि समस्या देखा पर्दैन। अन्यथा गरेको उपचार स्थिर नहुने, मुख तथा दाँतका कार्यहरु यथोचित नहुने, दाँतका जरा खिइएर हल्लिने वा झर्ने, अनुहारको स्वरुप पहिलेको भन्दा बिग्रने तथा अपेक्षा गरेअनुसारको नतिजा नआउने इत्यादि हुनसक्छ।
समस्याको प्रकृति हेरी उपयुक्त उपचार समय फरकफरक हुन्छ। तसर्थ सामान्यतया ६/७ वर्षको उमेरबाटै नियमित रुपमा अर्थोडोन्टिक विशेषज्ञसँग परामर्श गर्न जरुरी देखिन्छ।
अर्थोडोन्टिक उपचार कहिलेसम्म गर्न सकिन्छ?
दाँतलाई अड्याएर राखेको भाग स्वस्थ्य भएको खण्डमा अर्थोडोन्टिक उपचार जुनसुकै उमेरसम्म पनि सफलपूर्वक गर्न सकिन्छ।
अन्त्यमा, अर्थोडोन्टिक उपचार डेन्टिस्ट्रीको एक विशेष उपचार भएको हुँदा र आम जनतामा मुख तथा दाँत सम्बन्धी बढ्दो चासो र यो उपचार समयको माग अनुसारको कस्मेटिक उपचार भएको हुँदा बहुआयामिक विधाहरुको विकाससँगै नेपाल जस्ता विकासोन्मुख मुलुकको कुना काप्चामा अर्थोडोन्टिक उपचार सेवा उपलब्ध गराउन सरकारको उपयुक्त राष्ट्रिय नीति, अर्थोडोन्टिक विशेषाज्ञको सक्रिय सहभागिता र जनताको पनि सहकार्य हुन जरुरी देखिन्छ।
(डा खनाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पताल, पोखराका डेन्टल विभाग प्रमुख हुन्)