काठमाडौं- कानुनविपरीत सूर्तिजन्य पदार्थ बिक्रीको प्रक्रिया अगाडि बढाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अन्ततः उक्त प्रक्रिया रोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने निर्देशन सहितको पत्र काटेपछि भन्सारले प्रक्रिया रद्द गरेको हो।
भन्सार कार्यालयले सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ विपरीत कार्य गरेको भन्दै स्वास्थ्य मन्त्रालय अन्तर्गतको सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन समितिले आइतबार जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको थियो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उक्त ऐनअनुसार अनुगमन गर्ने निरीक्षक रहने व्यवस्था छ। सोही व्यवस्थाअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन समितिले प्रशासनमा पत्र पठाएको हो।
प्रशासनले सोही पत्रका आधारमा आवश्यक प्रक्रिया अगाडि बढाएपछि भन्सार कार्यालयले ऐनविपरीत सूर्तिजन्य पदार्थ लिलामको प्रक्रिया रद्ध गरेको हो। भन्सार कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै उक्त प्रक्रिया रद्ध गरेको जानकारी दिएको छ।
भन्सार कार्यालयले पुस २८ गते ऐनविपरीत एक दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै आर्थिक वर्ष ०७५/०७६ र ०७६/०७७ मा यात्रुबाट जफत गरेको सूर्तिजन्य लिलामको सूचना सार्वजनिक गरेको थियो।
उक्त सूचना सार्वजनिक भएलगत्तै स्वास्थ्यखबरलेऐनविपरीत सूर्तिजन्य पदार्थ बेच्दै विमानस्थल भन्सार शीर्षकमा समाचार प्रकाशित गरेको थियो। यसका साथै त्यसको भोलिपल्ट स्वास्थ्यखबरले नै अर्को समाचार ऐनविपरीत सूर्तीजन्य पदार्थ बिक्री गर्न विमानस्थल भन्सारले निकालेको सूचना पनि गैरकानुनी पनि प्रकाशित गरेको थियो।
उक्त समाचार प्रकाशित भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिक्रिया दिएका थिए।
सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमत गर्ने) ऐन, २०६८ अनुसार भन्सार कार्यालयले एयरपोर्टमा जफत गरेका सूर्तीजन्य पदार्थ अनिवार्य रुपमा नष्ट गर्नुपर्ने हुन्छ। जफत गरिएका यस्ता पदार्थ बिक्री गर्नु ऐनविपरीत हुन्छ।
सोही ऐनको दफा १० मा कसैले पनि सूर्तीजन्य पदार्थको विज्ञापन र प्रवर्धन गर्न नपाउने व्यवस्था रहेको छ।
तर, भन्सार कार्यालयले उक्त दफाको ठाडो उल्लंघन गर्दै नष्ट गर्नुपर्ने सूर्तीजन्य पदार्थ बिक्री गर्न १५ दिने विज्ञापन गरेको थियो।
यस्तो थियो ऐनविपरीत निकालिएको सूचना