करुण भट्टराई
दृश्य १
सरकारले चीनको हुवेई प्रान्तमा रहेका १७५ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काएर क्यारेन्टाइनमा राख्यो। क्यारेन्टाइनमा राखिएका १७५ जना सहित उद्धारमा खटिएका १८ जना चालक दलका सदस्यलाई कोरोना भाइरस (कोभिड १९) नरहेको पुष्टि भएपछि सबैलाई त्यहाँबाट बाहिर जान अनुमति प्रदान गरियो।
दृश्य २
काठमाडौंबाट भर्खर आफ्नो गाउँ डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, करेलीकाँडा फर्केकी एक महिलामा ज्वरो आउने, टाउको दुख्ने र रुघा लाग्ने जस्ता लक्षण देखापर्छन्। त्यसको केही दिनमा उनको घरका अरु सदस्यले पनि उस्तै लक्षण देखाउँछन्। विस्तारै सोही लक्षण गाँउका अन्य मानिसमा पनि देखापर्न थाल्छ। सिंगो गाउँ कोरोना भाइरसको कल्पनाबाट त्रसित हुन्छ। जिल्ला प्रशासन कार्यलयले तयारी सहितको चिकित्सकीय टोली पठाउँछ। उक्त टोलीले मौसम परिवर्तनको कारण मौसमी रुघाखोकी जस्ता लक्षण देखिएको हुनसक्ने पूर्वानुमान गर्छ।
फागुन २४ गते टेकुबाट ल्याब परीक्षणको प्रतिवेदन आयो। प्रतिवेदनमा अरु बेला लाग्ने जस्तै मौसमी रुघाखोकी भएको पुष्टि हुन्छ। सरसफाइमा ध्यान नदिँदा एकपछि अर्काे गर्दै गाउँभरि नै रोग फैलिएको हो, त्यतिमात्र नभई रुघाखोकी लाग्दा सही तरिकाले मास्कको प्रयोग नगर्ने, पानी उमालेर नखाने, जहाँ पायो त्यहीं फोहर गर्ने, हात नधोएरै खाना पकाउने जस्ता यावत् कुरामा ध्यान नदिँदा रोग फैलिएको पाइन्छ।
बच्चाबच्चीलाई दिसापिसाब घरआँगनमै गराउने, ठूला मान्छेले पनि जथाभावी दिसापिसाब गर्ने, खोलाको पानी नउमालेरै पिउने, मासुजन्य वस्तु राम्रोसँग नपकाएरै खाने लगायतका कुरामा ध्यान नदिने गरेको पाइन्छ। करिब एक हप्ताको बसाइपछि स्वास्थ्यकर्मीले महामारीको रुपमा फैलिएको सङ्क्रमण नियन्त्रणमा ल्याउँछन्।
नीतिगत रुपमा अध्यागमन विभागले चीन, इरान, इटाली, कोरिया र जापानी नागरिकहरुका अन–अराइभल भिसा फागुन २७ गतेदेखि अर्काे सूचना जारी नगरेसम्मका लागि रोकेको छ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा बालमुकुन्द रेग्मी लेख्नुहुन्छ– यस संक्रमणकालीन अवस्थामा नेपालले आर्थिक सहयोग गर्न नसके पनि यस माहामारीबारे फैलिएका भ्रामक तथ्यहरु निराकरण गर्न यस अवस्थामाथि ज्ञान भएका बौद्धिक पक्षहरुले अहं भूमिका खेल्न सक्छन्।
कत्तिको भयावह छ कोरोना भाइरस?
डा रवीन्द्र पाण्डे लेख्नुहुन्छ– विशेष प्रजातिका भाइरस विशेष मौसममा सक्रिय हुन्छन्। मौसम परिवर्तन हुने समयमा भने प्रायः दुवै मौसम (गर्मी र जाडो)मा सक्रिय रहने भाइरस दुवै प्रजातिलाई अनुकूल मिल्ने हुनाले पनि श्वास–प्रश्वास प्रणालीमा प्रतिकूलता देखिनु सामान्य मान्न सकिन्छ। अहिले संसारलाई तर्साएको कोरोना संक्रमण पनि एक किसिमको रुघा नै हो र यही भाइरसका पुराना संस्करण सार्सको मृत्युदर १० प्रतिशत, मर्सको मृत्युदर ३० प्रतिशत छ भने नोबेल कोरोना भाइरस संक्रमणको मृत्युदर देश, काल र परिस्थितिअनुसार ०।७ देखि ३।४ प्रतिशत मात्र छ। यो तथ्यांक हामी आत्तिएभन्दा हजारौं गुणा कमी हो।
कोरोना भाइरस हाम्रो लागि नयाँ हो?
पक्कै पनि कोरोना भाइरस हाम्रो लागि नयाँ नै हो। तर सोही प्रजातिका भाइरसका अघिल्ला संस्करणहरु भने मानव सभ्यताले धेरै पटक सामना गरी धेरैको सफल निराकरण पनि गरिसकेको छ।
संसार कोरोनाले संक्रमित रहेको अवस्थामा नेपालीले आफ्नो स्तरबाट के गर्न सक्छन्?
हामीले जाजरकोटको माहामारी देखेका छांै। औलोज्वरो, क्षयरोग, हात्तिपाइले, कालाजार ज्वरो, डेंगु ज्वरो, डेंगुसक सिन्ड्रोमजस्ता भयावह स्थिति सामना गरेको अवस्था नियाल्ने हो भने हाम्रो स्वास्थ्य प्रणाली निक्कै कमजोर छ भन्दा सायदै अत्युक्ति होला। माहामारीको अवस्थामा हाम्रो द्रूत प्रतिक्रिया टोली चुस्तदुरुस्त भने छैन। त्यस कारणले पनि नागरिकको तबरबाट आफ्नो सुरक्षा आफैं गर्नु नै विवेकसम्मत हुन आउँछ।
सामान्य स्वस्थ्य जीवनशैली
– दिनँहु नुहाउनाले शारीरिक स्वच्छता कायम रहन्छ।
– प्रत्येक दिन कम्तीमा ५ मिनेट शान्त वातावरणमा मौन रहँदा मानसिक स्वास्थ स्थिर रहन्छ।
– दिनमा २ पटक (बिहान उठेपछि र साँझ सुत्नुअघि) वा कुनै गुलियो खाद्य पदार्थ सेवन गरिसकेपछि दाँत माझ्नाले अप्रतक्ष रुपमा मुटुसम्बन्धी रोगबाट बचाउँछ (संक्रमित एन्डोकार्डिटिस)।
– खानामा पौष्टिक तत्वको सन्तुलन मिलाउनाले सर्वांगिण स्वास्थ्यमा स्थिरता कायम हुन्छ।
– दिनँहु न्यूनतम २० मिनेट पसिना आउनेगरी हिँड्नाले प्रत्यक्ष रुपमा मुटुसम्बन्धी रोगबाट बचाउँछ।
खानामा सुधार
– पानी उमालेर मात्र पिउँदा र कुनै पनि कुरा खानु अगाडि र शौचालय गइसकेपछि साबुन–पानीले विधिपूर्वक हात धुनाले पानीमा रहेका किटाणु निष्क्रिय हुन्छन्, जसले पानीबाट सर्ने रोग (झाडापखाला, हैजा आदि) सर्ने दर न्यून भएर जान्छ।
मौसमी रुघाखोकी देखिएमा
– हाछ्यु गर्दा रुमाल वा रुमाल नभए कुहिनोले मुखछोप्दा, भीडभाडमा नजाँदा वा हात मिलाउनुको सट्टा नमस्कार गर्नाले संक्रमण हुनबाट बचाउँछ।
– चिकित्सकको सल्लाह बिना कुनै पनि औषधि सेवन नगर्दा सापेक्ष रुपमा सूक्ष्मजीवले औषधि विरुद्ध प्रतिरोध विकास गर्ने गति कम हुन आउँछ।
कोरोनाभन्दा डरलाग्दो स्वास्थ्य चुनौती आउन सक्ला?
देशका हरेक स्थानमा सुलभ तथा सरल स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको अधिकारको सीमाभित्र पर्छ। यसका लागि साना स्तरमा नै भए पनि फार्मेसी, पोलिक्लिनिकहरुको स्थापना सराहनीय छ। तर किराना पसल जस्तो अव्यवस्थित रुपमा खोलिनु तथा सामान्य औषधिको समेत ज्ञान नराखी पेसाका नीतिगत मूल्य र मान्यतामाथि कुल्चेर आर्थिक प्रलोभनमा परी मनोमानी तरिकाले अत्यन्तै कडा औषधि अनावश्यक रुपमा दिइनु निकै दर्दनाक बन्न आउँछ। कुनै पनि औषधि नपाएर असह्य पीडामा बस्नु भन्दा कुनै राम्रो उपचार पाउनु असल पक्ष हो तर हँुदै नभएको रोगको औषधि खुवाइनु कदाचित असल हुन सक्दैन। सामान्य अवस्था जस्तैः
१. भाइरल रोगका लागि माइक्रोबायोटिक्स दिइनु,
२. सूक्ष्मजीवमा औषधि विरुद्ध प्रतिरोध (एन्टी माइक्रोबिएल रेजिस्टेन्स)मा ज्ञान, सिप र अभ्यासको कमी हुनु,
३. अनुज्ञा पत्रबिना फार्मेसी खोली, मनोमानी ढंगले औषधि बिक्री–वितरण गरिनु।
यी सबै संस्कारले हाम्रो नै समयमा औषधि बिनाको युग (प्रि पेनिसिलिन युग) नआउला भन्न सकिँदैन। त्यसैले समयमा नै यी सारा पक्षमा ध्यान केन्द्रित गरी एन्टिबायोटिक्सको सान्दर्भिक प्रयोग गर्नका लागि प्रेरणा र उचित शिक्षा आजको मूलभूत आवश्यकता भएको छ।
भनिन्छ, आँखा नजिकैका कुराहरु प्रायः देख्न सकिँदैन। सूक्ष्मजीवमा औषधि विरुद्ध प्रतिरोध पनि हाम्रो निक्कै नजिक भएको हुन सक्छ। ‘हामीले नगरे कसले गर्ने?, अहिले नगरे कहिले गर्ने’ कथनलाई मूल मन्त्र बनाई सबै तहबाट नीति–नियम तर्जुमा गरी नागरिक स्तरबाट पनि चेतना अभिवृद्धि गरिनु पर्छ। यदि यस विषयमा छिट्टै प्रभावकारी कार्य नगरिए कोरोना भाइरस भन्दा पनि चिसो मृत्यु निकट भविष्यमा मानव सभ्यताले नदेख्नु पर्ला भन्न सकिँदैन।
(भट्टराई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एमबिबिएस अध्ययनरत छन्)