विनिता अधिकारी
सरकारले घर बस्न भनेर स्पष्ट भन्दा पनि साँझ परेपछि टहल्न निस्कने हामीहरुले खोई कुरा बुझेको? यसरी अटेर गरिरहँदा आफूमात्र होइन, हामीले भेट्ने मान्छे, तिनका परिवार, तिनका परिवारले भेट्ने मान्छे, अनि हाम्रो आफ्नै परिवार र अरु सम्पर्कमा आउने सबै जनालाई कोरोना भाइरस सर्न सक्छ भन्ने किन नबुझेको?
हाम्रो देशले अहिलेसम्म बाहिरबाट भित्रिने र मान्छेमान्छेबाट सर्नसक्ने जोखिम कम गर्न सीमा लगायत हवाई मार्ग बन्द र लकडाउनका निर्णय गरिसकेको छ। विदेशबाट स्वास्थ्यकर्मीलाई बचाउन चाहिने पोशाक र उपचार गर्न चाहिने उपकरण केही मात्रामा आयात गरेको छ। रातारात धेरैजसो स्थानीय तहहरुमा क्वारेन्टिनमा राख्न स्थानहरू तय गरिएका छन्।
तर, पनि हाम्रो देशले कोरोना पुष्टि भएका मान्छेहरुको सम्पर्कमा आएका मान्छेहरुको लेखाजोखा राख्न (जसलाई प्राविधिक भाषामा कन्ट्याक्ट ट्रेसिंग भनिन्छ) राम्रोसँग सकेको छैन। यी मान्छेहरुको परिवार तथा आफन्तजनमा भाइरस सरेको, नसरेको परीक्षण गर्न सकेको छैन।
विदेशबाट फर्केका मान्छेहरुलाई क्वारेन्टिनमा १४ दिनसम्म राखेर रोगको लक्षणहरुको निगरानी गर्न सकेको छैन।
अस्पताल लगिएकाहरुलाई समयमा परीक्षण गरेर उपचार नै दिन सकेको छैन।
परीक्षणको नतिजा कुर्दाकुर्दै सामान्य बिरामीहरुको अस्पतालको आइसोलेसन अनि क्वारेन्टिन वार्डमा मृत्यु भैरहेको छ। ज्वरो आएका कुनै पनि बिरामीहरु आइपुगे पूरा अस्पतालमा भागाभाग मच्चिरहेको छ।
रोगबाट बच्न चाहिने न्यूनतम सुरक्षावस्त्र नपाएर स्वास्थ्यकर्मीहरुले पनि बिरामीको उपचार गर्न सकेका छैनन्। आयात गरिएका केही सामान तथा उपकरणहरु पनि आवश्यकक्ता पर्ने सबै स्वास्थ्यकर्मीहरु सबैलाई पुग्ने अवस्था छैन।
यहाँ सजग हुनुपर्ने कुरा के छ भने कोरोनाको संक्रमण भएका ८० प्रतिशत मानिसलाई सामान्य रुघाखोकी जस्तो लक्षण या कुनै पनि लक्षण देखा नपर्न सक्छ। लक्षण देखा नपरे पनि अरुलाई भाइरस सरिरहेको हुन सक्छ। अहिले विदेशबाट आएका र भारतीय नाकाहरूबाट घर फर्केका नेपालीहरू तापक्रम नाप्दा सामान्य भएकाले सार्वजनिक यातायात चढेर गाउँगाउँ पुगेका छन्। साथै विविध कारणले अस्थायी रुपमा काठमाडौं लगायत अन्य सहरी केन्द्रहरुमा बसिरहेका लकडाउनपछि ज्याला तथा साना व्यवसायहरु बन्द हुँदा दुई छाक खान समेत मुश्किल हुन थालेपसछ हरेक दिन हजारौँको संख्यामा काठमाडौँबाट बाहिरिन बाध्य भएर देशको कुनाकाप्चा फर्केका छन्।
हामीलाई हेर्दा सामान्य लाग्ने मानिसहरुले थाहा नै नपाई आफ्नो परिवार अनि गाउँघरमा भाइरस सरिरहेका हुनसक्ने अवस्था छ। टिभी, रेडियो, फेसबुक लगायत मध्यमबाट सरकारले नियमित जानकारी गराउँदा पनि खै किन हो हामी सजग भएर घरभित्र नबसेको? के हामीले बुझेका छौँ यो रोगले कति असर गर्न सक्छ होला भनेर ?
वैज्ञानिकहरुले विकसित देशका लागि गरेका हिसाब नेपालका लागि पनि गर्दा यस्ता आकलनहरू निस्केका छन्ः
सबै नेपालीले घरभित्र बसेर ९५ प्रतिशत भाइरस सर्न रोकियो र जम्मा ५ प्रतिशत नेपाली मात्र यो भाइरसले संक्रमित भए भने करिबकरिब १४,५०,०००० नेपाली यो भाइरसले संक्रमित हुन सक्छन्।
चीनमा जस्तै गरी भाइरस सरेकामध्ये जम्मा २० प्रतिशत मानिसमा सामान्य लक्षणहरू मात्र देखिए करिब २,९०,००० नेपालीलाई सामान्य उपचार गरे पुग्न सक्छ।
अहिलेसम्मको तथ्यांक हेर्दा लक्षण देखिएकामध्येका ४० प्रतिशत भन्नाले करिबकरिब १,१६,००० नेपालीहरुलाई अस्पतालमै भर्ना गरेर उपचार गर्नपर्ने हुन सक्छ।
अरु देशमा देखिएको तथ्यांक अनुरुप हिसाब गर्दा भाइरस सरेका करिबकरिब ६ प्रतिशत मानिसहरूलाई सघन उपचार कक्षमा अर्थात् आइसियुमा राखेर कृत्रिम श्वासप्रश्वास आदिको उपचार गर्नुपर्ने हुने रहेछ। सोही हिसाब नेपालका लागि गर्दा लगभग ८७,००० नेपालीलाई सघन उपचारको खाँचो पर्न सक्ने देखिन्छ।
साथै भाइरस संक्रमितमध्ये करिब ०.५ प्रतिशत मानिसको मृत्यु हुने देखिएकोले लगभग ७,२५० जना नेपाली यो भाइरसका कारण मर्न सक्ने देखिएको छ।
यति धेरै मान्छेहरू एकै चोटी बिरामी परे भने हाम्रा अस्पतालहरुले खै कसरी धान्ला? नेपालमा कृत्रिम रुपमा श्वासप्रश्वास गराउन चाहिने भेन्टिलेटर उपकरण कति छन् होला त? २६०। माथिको हिसाबले ८७,००० जनालाई यो उपकरण खाँचो पर्न सक्छ! अनि अर्को बुझ्नपर्ने कुरा के छ भने अहिलेसम्मको तथ्य अनुसार सघन उपचार चाहिने मानिसहरूलाई ठिक हुन लगभग १६(२० दिनसम्म लग्न सक्छ। नेपालले रातारात आइसियु शय्या थपे पनि यी भेन्टिलेटर जस्ता उपकरण नहुने हो भने सबैलाई उपचार दिन निकै नै गाह्रो हुने सजिलै अनुमान गर्न सकिन्छ।
विश्वमा चाहिने जति यस्तो उपकरण बनेकै छैन। निकै विकसित भनिएका देशहरुले पैसा भएर पनि यस्ता उपकरणहरू पर्याप्त मात्रामा किन्न पाएका छैनन्। यी देशहरूमा स्वास्थ्यकर्मीहरूले कसको लागि यो उपकरण चलाउने भनेर निर्णय गर्न बाध्य भएका छन्। इटालीमा डाक्टरहरुलाई सरकारले ६० वर्ष भन्दा माथिका मान्छेलाई आवश्यक परे पनि यो भेन्टिलेटर प्रयोग नगर्नु भनेर निर्देशन दिएका छन्। यस्तो स्थिति नेपालमा आइपरे कसको जीवन महत्वपूर्ण भनेर कसरी निर्णय गर्ने? तिम्रो बुबाको भन्दा मेरो छोरीको जीवन अमूल्य छ भनी कसरी विवाद गर्ने होला हामीले सोचेको छौँ त?
हाम्रो सरकार कमजोर छ। हामी पनि कमजोर छौँ। नेपालका करिब ४० प्रतिशत बच्चाहरू कुपोषित छन्। अनि हुनेखानेदेखि निम्न वर्गसम्मका सालाखाला ४० प्रतिशत वयस्क नेपालीहरू दम, उच्च रक्तचाप, मधुमेह अनि मुटु रोग जस्ता दीर्घरोगबाट ग्रसित छौँ। कोरोनाको महामारी धेरै देखिएको देशहरूको तथ्यांक हेर्दा यस्तो दीर्घ रोग भएकाहरुमा स्वास्थ्य उपचार पाएर पनि मर्ने जोखिम धेरै(धेरै गुणा बढी हुन्छ। कुरा बुझेका छौँ त हामीले?
विदेशका अस्पतालमा चाहिने औषधि अनि सामानहरू अस्पताल भित्रै उपलब्ध हुन्छन्। हाम्रा अस्पतालमा जस्तो पटकपटक सिरिन्ज किन्न, सलाइन किन्न आफन्तलाई बाहिर जान पर्दैन। नर्स अनि अन्य स्वास्थ्यकर्मीले बिरामीका लागि सबै थोक गर्दिन्छन्। हाम्रा धेरैजसो अस्पतालमा पर्याप्त मात्रामा न त स्वास्थ्यकर्मी नै छन् न त यस्ता सामान भित्रै उपलब्ध हुने व्यवस्था छ। अनि विदेशका अस्पतालहरूमा संक्रमण हुन्छ भनेर उपचारमा बसेका मान्छेहरूका आफन्तलाई हप्तौंसम्म पनि भेट्न दिइएको छैन।
यस्तो अवस्थमा नेपालका अस्पतालहरुले एकै चोटी धेरै संख्यामा आउनसक्ने कोरोना संक्रमित बिरामीहरुलाई उपचार गर्ने औषधि अनि सामानहरू अनि आफन्तको सहयोगबिना कसरी हेर्लान्? अनि हामीले बिरामी परेको आफ्नो मान्छेलाई भेट्न अनि देख्न नपाउँदा कस्तो हुने होला?
अर्को स्वास्थ्यकर्मीहरूका लागि निकै चुनौतीपूर्ण अर्को तथ्य के छ भने अहिले नेपालमा उपलब्ध नाकको पछाडिबाट निकालिएको स्वाबको नमुनाबाट जम्मा १०० मा ६३ पटक मात्र कोरोना भाइरस भएनभएको पुष्टि हुन्छ। यसको मतलब के हो भने भाइरस छैन भनेर परीक्षण गरिएका मान्छेहरूमा पनि यो भाइरस हुनसक्छ। यस्तो अवस्थामा स्वास्थ्यकर्मी तथा परिवारजनले परीक्षण नेगेटिव देखियो भनेर क्वारेन्टिनमा १४ दिनसम्म नराखी रोगको लक्षणहरुको निगरानी नगर्ने हो भने समुदायमा यो भाइरस अझ फैलिन सक्छ।
अन्तिममा, वैज्ञानिकहरूले गरेको अनुसन्धानले के देखाएको छ भने कोरोना जस्ता भाइरसबाट बच्न विशेष किसिमको एन ९५ भन्ने मास्कको आवश्यकता पर्छ। हामीले प्रयोग गर्दै आएको पातलो कपडा वा निलो सर्जिकल मास्कले कोरोना भाइरसबाट पूर्ण रुपमका सुरक्षा दिएको छ भनेर निश्चिन्त हुनु कतिसम्म बुद्धिमता होला?
विगतमा यस्तै महामारी विश्वमा फैलिँदा अस्पतालको महँगो उपचार भन्दा पनि निम्न कुराहरुले महामारी नियन्त्रण भएको अनुभव रहेको छः
- मानिसहरुले कति सजगता पूर्वक व्यक्तिगत तवरबाट गर्नसक्ने हात धुने, घरभित्र बस्ने कुराहरू अबलम्वन गरे, समुदायमा कति कडाइका साथ मानिसहरूको आवतजावतलाई लकडाउन लगायतका उपायबाट नियन्त्रण गरियो।
- बिरामी व्यक्तिहरुलाई कति राम्रोसँग आइसोलेसन अर्थात् अरुसँग सम्पर्क नगराई राखियो।
- बिरामीको सम्पर्क आएका र अलिकति पनि शंका गरिएका व्यक्तिहरूलाई कन्ट्याक्ट ट्रेसिंग गरेर कति पत्ता लगाइयो। अनि उनीहरुलाई कडाइपूर्वक क्वारेन्टिन कति दिनसम्म राखियो।
यति सबै कुरा बुझेर पनि आफ्नो अभिमान नछोडी घर बाहिर निस्किरहने, त्यहीं त होनि भन्दै वरपर टहलिरहने, अनि आफ्नै मान्छे त होनि भनेर सामान्य मास्क लगाएर भेटिरहने हो भने यो महामारीले आकलन गरिएभन्दा पनि विकराल रुप नलेला भन्न सकिँदैन।
सरकारले आफ्नो समय र स्रोत हामीमध्ये सहरमैं घर जोडेका र १(२ महिनालाई खाना पुग्ने भएकालाई नै तह लगाउन खर्च गर्ने हो भने दिनहुँको गर्जो टार्न नसकेर देश, विदेश र सहर छोडेर सीमा तथा सडकमा अलपत्र परेका मजदूर दाजुभाइ अनि दिदीबहिनीहरुलाई कसरी राहतको व्यवस्था गर्न सक्ला?
- (अधिकारी जोन्स हप्किन्स स्कुल अफ पब्लिक हेल्थमा पब्लिक हेल्थ रिसर्चरका रुपमा कार्यरत छिन्।)