विमला तिमिल्सिना महरा
गत चैत २० गते स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा सञ्चालनमा अवरोध पुर्याउने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको विवरण संकलन गरी त्यस्तो कर्मचारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी उनीहरुको पेसागत लाइसेन्स रद्द गर्ने चेतावनी दिएको छ। व्यक्तिगत सुरक्षा उपकरणविनै उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरुले सरकारको निर्णयप्रति चिन्ता जनाएका छन्।
सरकारको चेतावनी उपचारमा बाधा पुर्याउने डाक्टर लगायतका स्वास्थ्यकर्मीलाई भए पनि हामीजस्ता २४सै घन्टा बिरामीको सेवामा तल्लिन स्वास्थ्यकर्मीलाई समेत दुःखी बनाएको छ।
पछिल्लो समय अधिकांश निजी र केही सरकारी र निजी अस्पतालले सामान्य ज्वरो र रुघाखोकी मात्रै अरु नै रोगका बिरामीलाई पनि हेर्न छाडेको र सामान्य रोगका बिरामीहरुले पनि अकालमै ज्यान गुमाएको खबर आएपछि सरकारको यो चेतावनी आएको हुनुपर्छ। केही निजी अस्पतालले बिरामी हेर्न ढिलाइ गरेको र बिरामीको मृत्यु भएका कारण एउटा स्वास्थ्यकर्मी हुनुको नाताले केही कुरा लेख्दैछु।
विगत डेढ वर्षदेखि म धादिङ जिल्ला अस्पतालमा कार्यरत छु। अति आवश्यक कामबाहेक बिदा नलिई नियमित काम गर्दै आएकी म पछिल्लो समय देशमा कोरोना भाइरसको जोखिम बढेसँगै कुनै बिदा नलिई निरन्तर सेवा गर्दै आएकी छु। नेपाल सरकारले कारोना रोकथामका लागि चालेको कदमका लागि अस्पताल परिवार लागिपरेको छ।
धादिङ अस्पताल र नीलकण्ठ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाको अगुवाइमा धादिङको नीलकण्ठ नगरपालिका-३ स्थित धादिङबेसीस्थित डिभिजन वन कार्यालय धादिङको नवनिर्मित भवनमा कोरोना भाइरस विरुद्धको संक्रमण रोक्न क्वारेन्टाइन स्थापना गरिएको छ।
त्यसैगरी कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै कृषि ज्ञान केन्द्र, धादिङको नयाँ भवनमा ९ बेड क्षमताको अस्थायी आइसोलेसन कक्षसमेत स्थापना भइसकेको छ।
अस्पतालले कोरोना संक्रमणले डाक्टर र अस्पतालले बिरामी छुनै नमानिरहेको वर्तमान परिस्थितिमा धादिङ अस्पतालले स्वास्थ्यकर्मीलाई आवश्यक उपकरण अभावका बाबजुद पनि निरन्तर ज्वरो र रुघाखोकीका बिरामीलाई मध्यनजर गरी ज्वरो क्लिनिक सञ्चालन, शंकास्पद बिरामीलाई क्वारेन्टाइन र आइसोलेसनसम्म व्यवस्था गरी २४सै घण्टा उपचार सेवा दिइरहेको छ। यस अस्पतालमा कोरोना संक्रमणको आशंकामा १८ वर्षीय एक जनालाई ५ दिनको आइसोलेसनमा उपचारपछि राष्ट्रिय प्रयोगशाला टेकुमा परीक्षणपश्चात् नेगेटिभ भेटिएको छ। अन्य अस्पतालले बहिरङ्ग सेवा र अपरेसनल सेवा बन्द गरिसकेकोमा धादिङ अस्पतालमा भने सबै सेवाहरु सञ्चालनमा रहेका छन्।
आफैं रगत दिएर गर्भवतीको अपरेसन
हामीहरु नियमित सेवा सँगसँगै समयको परवाह नगरी बिरामीलाई बचाउन हरदम प्रयासरत छौं। यसै शिलशिलामा गत चैत्र १८ गत्ते धादिङ अस्पतालमा प्रसव पीडाबाट छट्पटाएकी महिलाको अस्पतालमा ड्युटीमा रहेकी सहकर्मी नर्सिङ अफिसर (सातौँ तह) रेनुका भन्डारीले रगत दिई रातको ३ः०० बजे सफल अप्रेसन सम्पन्न भएको थियो।
त्यसैगरी चैत २१ गत्ते शुक्रबार मात्रै सामान्य रुपमा प्रसव पीडा लम्बिँदै जाँदा आमा र बच्चाको ज्यानसमेत जोखिममा पर्ने परिस्थिति आएपछि प्रसव पीडाले छट्पटिएकी धादिङ जिल्ला निलकण्ठ नपा वडा नं २ कि २४ वर्षीय सरस्वती परियारलाई तत्काल बी नेगेटिभ रगत आवश्यक भई एकातिर नेगेटिभ गु्रपको रगत कम पाइने, रेडक्रसमा समेत रगत उपलब्ध हुन नसकेको परिस्थिति र लडाउनका कारण अन्यत्रबाट रगत दिनसक्ने परिस्थिति नभएछि म स्वयंले रक्तदान गरी अपरेसन सफलतापूर्वक सम्पन्न भएको थियो।
एकै दिन तीन वटा अपरेसन
गत मंगलबार मात्रै २२ वर्षीय मेलिना तामाङ, २८ वर्षीय बबिता सिम्खडा र १८ वर्षीय सुसना गुरुङ गरी तीन जनाको लगातार ६ घन्टा लगाएर सफल अपरेसन गरिएको थियो। जसमा हामी स्वास्थ्यकर्मीहरुले शरीरिक रुपमा थकित भए पनि थकान महसुस नगरी निरन्तर सकेसम्म कुनै पनि बिरामीलाई रिफर नगरी उपचार गर्ने हरदम कोसिस गरिरहेका छौँ।
काठमाडौँ रिफर भएका बिरामीको उपचार धादिङ अस्पतालमा
प्रसव पीडाबाट छट्पटिएपछि महादेवस्थान हेल्थपोस्टबाट थापाथली अस्पताल काठमाडौँ रिफर भएकी धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिका- ७ निवासी २० वर्षकी सृजना चेपाङको गत २२ गते धादिङ अस्पतालमा सफल शल्यक्रिया सम्पन्न भएपश्चात् बुधबार डिस्चार्ज भएकी छिन्। अस्पतालका अनुसार चेपाङ समुदायबाट धादिङ अस्पताल आएर प्रसूति सेवा लिने उनी पहिलो सेवाग्राही हुन्। अति सीमान्तकृत समुदायबाट आएर सेवा लिएकोमा धादिङ अस्पतालले सबै सेवा र औषधि निःशुल्क उपलब्ध गराएको छ।
उपकरणसँगै स्वास्थ्यकर्मीको समेत अभाव
हाल देशैभरि दरबन्दी अनुसारका पर्याप्त स्वास्थ्यकर्मी नभएको परिपेक्ष्यमा धादिङ अस्पतालमा समेत दरबन्दी अनुसारका डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीको अभाव रहेको छ। जसले गर्दा सोचेअनुसारको अझै राम्रो सेवा दिन सकिरहेका छैनौँ। स्वास्थ्यकर्मीहरुलाई नेपाल सरकार र प्रदेश सरकारले उपलब्ध गराएका व्यक्तिगत सुरक्षा उपकरणहरु पर्याप्त छैनन्।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारका उपकरणहरुको अति नै अभाव रहेको छ। हामीहरुले सामान्य मास्कबाट उपचार गर्नुपर्ने परिस्थिति रहेकोले हामी स्वास्थ्यकर्मीहरु कोरोना संक्रमणको उच्च जोखिममा छौँ।
परिवारमा संक्रमणको डर
हाल म धादिङबेसीमा कोठा भाडामा लिई बसिरहेकी छु। जहाँ तीन वर्षीया छोरी र सत्तरी वर्षीया सासुआमासँग सँगै बसिरहेकी हुनाले मलाई निकै डर लागिरहेको छ। विश्व स्वास्थ्य संगठनले समेत कोरोना भाइरस हावाबाट सर्ने हुँदा स्वास्थ्यकर्मीहरुलाई सजग हुन सूचित गरिसकेको र स्वास्थ्यकर्मीहरुलाई सकेसम्म होम क्वारेन्टाइनमा बस्न सुझाइसकेको छ। अस्पतालमा शंकास्पद बिरामीहरु आउन थालेपछि एउटा कोठमा छुट्टै (होम क्वारेन्टाइन) बस्न नखोजेकी होइन, तर तीन वर्षीय सानी छोरीको कारण साचेजस्तो हुन सकिरहेको छैन। यस विषयमा आउँदा दिनमा अस्पतालले पनि केही बन्दोबस्त गर्नेछ भन्ने आशा लिएकी छु।
अस्पतालहरुमा मानवता भेटिएन भन्दै केही सरकारी अस्पतालको समेत बदनाम भइरहेकोले एकाध ठाउँमा कमीकमजोरी भए भन्दैमा हाम्रो अस्पताल र हामी सम्पूर्ण स्वास्थ्यकर्मीको तर्फबाट कुनै कमी हुन नदिन प्रयत्नशील रहेका छौं।
कोरोना महामारीले देशको स्वास्थ्य सेवा धर्मराउन नदिन अहोरात्र यसैगरी खटिने प्रतिबद्धता व्यक्त गर्छु। भनिन्छ, रक्तदान जीवनदान हो। हो, धादिङ अस्पतालका स्वास्थ्यकर्मीहरु सेवामात्रै होइन, आफ्नै रगत दान गरेर स्वास्थ्य सेवा प्रदान गरिरहेका छौँ।
लाइसेन्स रद्द गर्ने चेतावनीले मनोवैज्ञानिक त्रास
सरकारले स्वास्थ्यकर्मीहरुको भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी पेसागत लाइसेन्स रद्द गर्ने निर्णय गरेको कुरा मिडियामा आएको छ। सरकारको यस्तो कुराले हामीजस्ता २४सै घण्टा बिरामीको सेवामा खटिने हजारौँ स्वास्थ्यकर्मीहरुको चित्त दुखेको छ। अहिलेको अवस्था स्वास्थ्यकर्मीहरुलाई आवश्यक सबै उपकरणले सुसञ्जित गरी कोरोनाको विश्वव्यापी माहामारीसँगै लड्ने हो।
अहिलेको अवस्थामा स्वास्थ्यकर्मीहरुको उच्च मनोबल हो। स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न सबै आ आफ्नो ठाँउबाट सहयोग गर्नुपर्छ। त्यसैले स्वास्थ्यकर्मीलाई आवश्यक सबै उपकरण उपलब्ध गराइयोस्, हामी जस्तोसुकै महामारीमा पनि उपचार सेवा प्रदान गर्न तत्पर छाँै। तर पेशागत लाइसेन्स रद्द गर्ने चेतावनी नदिइयोस्।
(लेखक धादिङ अस्पतालकी नर्स हुन्)