गरिमा उपाध्याय
विश्वभरि तेस्रो महायुद्धसरह बनेर आएको कोरोना भाइरस अर्थात् (कोभिड-१९) एउटा इमरजिङ जुनोटिक डिजिज हो, जसभित्र जेनेटिक मेटेरियल हुन्छ। जुन प्रोटिन स्पाइकले भरिएको एनेभेलपले घेरिएको हुन्छ। यो चीनको वुहानमा २०१९ डिसेम्बरमा देखा परेको आरएनए भाइरस हो।
कोरोना भाइरसको लक्षण १००.४ डिग्रीभन्दा माथि ज्वरो आउने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा अत्यधिक समस्या हुनु हो। फ्लुमा पनि ज्वरो आउने, रुघाखोकी लाग्ने लक्षण देखापर्ने हुनाले यस भाइरसका लक्षण फ्लुसँग मिल्दोजुल्दो हुन्छ। त्यसैले मानिसहरु सजग भई अस्पताल जाने गर्दछन्। यो राम्रो हो, तर अस्पताल रोग निको पार्ने थलोका साथै विभिन्न रोगहरु उत्पन्न हुने ठाउँ पनि हो भन्ने कुरा सबैले बुझ्नु जरुरी छ।
विश्व नै भयावह र जोखिमपूर्ण अवस्थामा रहेको हुनाले यस्तो बेलामा अस्पताल जाँदा रोग संक्रमण हुने सम्भावना धेरै रहेकाले नजिकका स्वाथ्यकर्मीसँग फोनमार्फत सल्लाह लिई १४ दिने सेल्फ क्वारेन्टाइन बस्नु उचित हुन्छ।
साथै अहिलेको संक्रमणको अवस्थामा व्यक्तिगत सरसफाइ कायम गर्दै पोषणयुक्त, तागतिलो र झोलिलो खानेकुरा खाएर रोग प्रतिरोधात्मक शक्ति बढाउनु श्रेयस्कार हुन्छ।
अहिले विश्वव्यापी युद्ध हो, जहाँ एउटा मानिसले अर्को मानिसलाई काटमार नगरी सबै मानव सेवामा जागरुक भई अर्काको ज्यान बचाउन लागिरहेका छन्। निष्ठा र अदम्य साहसका साथ आफ्नो ज्यानको पर्वाह नगरी अर्काको ज्यान बचाउन तत्पर डाक्टर, प्रोफेसर, नर्स लगायत अन्य स्वास्थ्यकर्मीलाई सलाम गर्नैपर्छ।
यस्तो भयावह अवस्थामा अब हामी नागरिक अर्थात् देशका बलिया खम्बा नै कमजोर भए कसरी राष्ट्रलाई बलियो बनाउने र आत्मबल बढाउने? त्यसैले आत्मबल नगुमाऔं। अस्पतालमा तैनाथ डाक्टर लगायतका सम्पूर्ण स्वास्थ्यकर्मीको मनोबल र हिम्मत बढाई उनीहरुको युद्धमाथि जित हासिल गर्न दिने मुख्य प्रेरणाका स्रोत बनौँ। सरकारको मुख्य सरोकार बनौं, लकडाउनको पूर्ण रूपमा पालना गरौँ।
बिहानदेखि साँझसम्म सडकमा हाम्रा लागि लाठी बोकी तैनाथ भएका प्रहरीलाई आदरपूर्ण सलामी! बिहान र साँझ नभनी सरकारी सेवा उपलब्ध गराउन समर्पित सरकरी कर्मचारी लगायतका सम्पूर्ण राष्ट्र सेवकमा मेरो सम्मान। विश्वभरिका करोडौं जनसमुदायका लागि प्रेरणा र आफ्ना ज्यान जोखिममा राखी सारा मनुष्यको ज्यान बचाउने डाक्टरको आश बनौं।
जति चुनौती छन्, त्यति नै अवसरहरु पनि छन्। कोरोनाले हामी सबै मानव जातिका लागि विश्वभर एउटा व्यक्तिबाट परिवार, एउटा परिवारबाट समाज र एउटा समाजबाट राष्ट्र हुँदै अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिसक्दा उद्योग व्यवसाय ठप्प भइसकेका छन्। जसका कारण मानव समुदायमै चुनौतीहरु सिर्जना भइसकेको छ।
कोरोनाले मानिसको व्यस्तपूर्ण जिवनशैलीमा कायापलट गरिदिएर चुनौतीका रूपमा देखा परे पनि यस युद्ध विरुद्ध जित हासिल गर्न सुचारु भइरहेको लकडाउनले कयौं नयाँ अवसरहरु पनि प्रदान गरेको छ। यसले आफ्नो परिवारसँग समय व्यतित गरी नयाँ मेमोरी सिर्जना गर्ने एउटा सुनौलो घडी र समयमात्र प्रदान नगरी हरेक मनुष्यमा मानवता जगाइदिएको छ।
कोरोना आफैं हामीलाई खोज्दै आउने होइन, हामी आफैं बाहिर डुलेर लिन गए मात्र आउँछ। त्यसैले कोरोना विरुद्ध जित हासिल गर्ने सुरक्षा कवच, सूत्र, वरदान सरह भएको छ लकडाउन। लकडाउनमा आफ्नो घरको सीमा क्षेत्र र लक्ष्मण रेखाभन्दा बाहिर नगई यो सुनौलो घडीको सुनौलो समयलाई सदुपयोग गरौं। यो बेलामा सिर्जनशील र काव्यात्मक अभिव्यक्तिमा समर्पित भई नयाँ ज्ञान हासिल गर्ने अवसर पनि हो यो।
व्यक्तिगत सरसफाई कायम गरी, पौष्टिक तत्व खाई शारीरिक तथा मानसिक व्यायाम गरी कोरोना विरुद्ध जित हासिल गर्न घरैबाट जनचेतना फैलाऔं। कोरोना मुक्त हुने दिनको कामना गरौं र त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गरी आफू पनि बाचौँ अनि अरुलाई पनि बचाउँदै नागरिक हुनुको कर्तव्य वहन गरौं। आफू निडर भई यस चुनौतीको सामना गरौं।