आशिष आचार्य, शैलेन्द्रकुमार सिंह
नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमणबाट लाग्ने रोग कोभिड-१९ को बारेमा उपलब्ध जानकारी तथा तथ्यांक निकै परिवर्तनशील छन्। विश्वभरि भइरहेको विभिन्न वैज्ञानिक अध्ययन अनुसन्धानहरुले नयाँनयाँ तथ्यहरु स्थापित गरिरहेको परिप्रेक्ष्यमा यो रोग वा संक्रमण सम्बन्धी स्थायी दावी गर्न सम्भव छैन। तर यस संक्रमणको फैलावट जसरी विश्वमा भइरहेको छ , त्यो हेर्दा उपलब्ध जानकारीकै आधारमा सम्भव भएसम्मको वैज्ञानिक कदम चाल्नुको विकल्प देखिँदैन।
नेपालमा संकलन गरिने कोभिड-१९ सम्बन्धित तथ्यांक अझै पनि सीमित छन् र तथ्यांकको गुणस्तरकोपनि सवाल हुँदा यस रोग वा संक्रमणको फैलावट नेपालमा कस्तो हुन्छ भनेर प्रक्षेपण गर्नु आफैंमा निकै कठिन देखिन्छ। तत्कालीन अवस्था हेर्दा भने हामीकहाँ महामारी आइहाल्दैन भनी दावी गर्नसक्ने अवस्था भने पक्कै छैन।
संकटकालीन अवस्थाको व्यवस्थापन गर्न बनाइने योजना निकट भविष्यमा हुनसक्ने सबैभन्दा खराब परिस्थितिलाई आकलन गरी सोही अनुरुप हुनु पर्दछ। आशा गरौं, लकडाउनको प्रभावकारी कार्यान्वयन र अन्य रोकथामका उपायहरुले नेपालमा कोरोनाको प्रकोप इटाली वा अमेरिका जस्तो नहोला, तर त्यस्तो परिस्थिति आएको खण्डमा हाम्रो स्वास्थ्य सेवा संयन्त्र निकै चापमा पर्नेछ र स्थिति भयावह नहोला भन्न सकिँदैन।
जनस्वास्थ्यमा एउटा रोचक भनाइ छ, व्यक्तिको स्वास्थ्यको प्रमुख सरोकारवाला व्यक्ति स्वयं हो। अहिले महामारी नफैलिँदा पनि लकडाउनको अवस्थामा जसरी मानिसहरु घरमै बसी आफ्नो जिम्मेवारी बहन गरिरहेका छन्, त्यस्तै जिम्मेवारी महामारी फैलिएको खण्डमा पनि हुने छ।
महामारीमा विशेष हेरचाह चाहिने प्रमुखतः तीन किसिमका व्यक्तिहरु हुन्छन्, १. प्रयोगशालाद्वारा प्रमाणित कोभिड-१९ का बिरामी २. कोभिड-१९ शंका गरिएका हल्का किसिमका लक्षण देखिने बिरामी र ३. पहिलो दुईका सम्पर्कमा आएका व्यक्तिहरु।
विश्व स्वास्थ्य संगठनले यी तीनै किसिमका व्यक्तिहरुको हेरचाह गर्न एउटा अन्तरिम निर्दशिका तयार पारेको छ, जुन महामारी फैलिएको खण्डमा सेवा प्रदायक संयन्त्र तथा आम नागरिकका लागि निकै उपयोगी हुने देखिन्छ।
कोभिड-१९ का बिरामीको व्यवस्थापन
विश्व स्वास्थ्य संगठनले प्रयोगशालाबाट प्रमाणित कोभिड-१९ का बिरामीलाई अनिवार्य स्वास्थ्य संस्थामा आइसोलेसनमा राखी उपचार तथा हेरचाह गर्न सिफारिस गर्छ। कोभिड-१९ को उपचार लक्षणको गम्भीरता हेरेर सामान्य निगरानीदेखि सघन उपचारसम्म गर्नुपर्ने हुन्छ। विशेषतः वृद्ध, गर्भवती तथा बालबालिकालाई विशेष हेरचाहको आवश्यकता पर्न सक्छ। स्वास्थ्य संस्थामा आइसोलेसनका लागि पर्याप्त ठाउँ वा अन्य स्रोतसाधन उपलब्ध नहुँदा, उपचारमा प्राथमिकता रोगको गम्भीरता हेरी ट्रियाज विधिद्वारा गर्न सिफारिस गरिएको छ। जस्तैः ६० वर्ष माथिका, पहिलादेखि नै मुटु तथा श्वासप्रश्वास सम्बन्धी गम्भीर रोग भएका, चिनीरोग तथा क्यान्सरका बिरामीलाई पहिलो प्राथमिकता दिइनु पर्छ।
अरु कुनै स्वास्थ्य सम्बन्धी जोखिम नभएको अवस्थामा कोभिड-१९ प्रमाणित भए तापनि धेरै व्यक्तिहरुमा संक्रमणले सामान्य लक्षण मात्र देखाउने र कुनै गम्भीर नतिजा नल्याउने पाइएको छ। प्राविधिक भाषामा यसलाई माइल्ड केस भनिन्छ। यस्ता सबै माइल्ड केसलाई स्वास्थ्य संस्थामै आइसोलेसनामा राख्न नसकिने परिस्थिति पनि आउन सक्छ। यस्तो अवस्थामा स्वास्थ्यकर्मीले माइल्ड केसहरुलाई आइसोलेसनकै लागि छुट्याइएका अरु संरचनाहरु जस्तैः होटल, रंगशाला, विद्यालय इत्यादि वा घरमै आइसोलेसनमा रहन सुझाउन सक्छ। यसरी पठाइने बिरामीहरुमा चिकित्सकीय मापदण्डमा खतरा उच्च नभएको सुनिश्चित गरिएको हुनुपर्छ। माइल्ड केसले पनि कोभिड-१९ को गम्भीर केस जस्तै उत्तिकै सटिकताका साथ संक्रमण सार्नसक्ने भएकोले आइसोलेसन अनिवार्य हुनुपर्छ।
कोभिड-१९ का शंकास्पद बिरामीलाई घरमा गरिने हेरचाह
महामारीको अवस्थामा कोभिड-१९ को शंका मात्र गरिएको बिरामीलाई स्वास्थ्य संस्थामा भर्ना गरी उपचार गर्न न त सधैं सम्भव हुन्छ न त सुरक्षित नै। यद्यपि जाँचको क्रममा बिरामीको अवस्था अझ बिग्रिनसक्ने देखिएको खण्डमा स्वास्थ्यकर्मीले आवश्यक कदम उठाउन सक्छ। तर सामान्य अवस्थामा स्वास्थ्यकर्मीले चिकित्सकीय रायको आधारमा बिरामीलाई माइल्ड केस घोषित गर्दा घर नै पठाएर हेरचाह गर्न प्रोत्साहन गर्ने हो।
यस्तो अवस्थामा सम्भव भएमा तालिम प्राप्त स्वास्थ्यकर्मीले बिरामीको घरको अवस्था बिरामीको हेरचाह तथा आइसोलेसन गर्न उपयुक्त छ कि छैन भनी निक्र्योल गर्नुपर्छ। बिरामी तथा उनको आफन्तले आइसोलेसनको क्रममा पालन गर्नुपर्ने सावधानी अबलम्वन गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराको विशेष हेक्का स्वास्थ्यकर्मीले राख्नुपर्छ। यदि सम्भव भए बिरामीले स्वास्थ्यकर्मीलाई आवश्यक पर्दा तुरुन्त सम्पर्क गर्न सकिने गरी फोन वा अरु सम्पर्कको माध्यम सुनिश्चित गर्नुपर्छ।
बिरामी तथा परिवारका सदस्यहरुलाई व्यक्तिगत सरसफाइ, आधारभूत सङ्क्रमण रोकथाम तथा नियन्त्रणका उपायहरु तथा सम्भावित कोभिड-१९ भएका व्यक्तिबाट सङ्क्रमण परिवारका अन्य सदस्यलाई नफैलिने गरी कसरी सुरक्षित तरिकाले हेरविचार गर्ने भन्नेबारे जानकारी (शिक्षा) दिइनुपर्छ। बिरामी तथा परिवारका सदस्यहरुलाई निरन्तर सहयोग तथा शिक्षा दिइनुपर्छ तथा घरमा हेरचाह गर्ने अवधिसम्म निरन्तर अनुगमन गर्नुपर्छ। परिवारका सदस्यहरुले निम्न सुझावहरुको पालना गर्नुपर्छः
- बिरामीलाई राम्रोसँग हावा वारपार गर्नसक्ने छुट्टै एउटा कोठामा राख्नुपर्छ (खोल्न मिल्ने झ्याल र ढोका भएको)।
- बिरामीलाई घरभित्र सकेसम्म कम स्थानमा हिँडडुल गर्न दिने तथा बिरामी र परिवारका अन्य सदस्य दुवैले प्रयोग गर्ने स्थानहरु (भान्सा, ट्वाइलेट) राम्रोसँग हावा ओहोरदोहोर गर्नसक्ने (झ्याल खुला राख्ने) कुरा निश्चित गर्ने।
- परिवारका अन्य सदस्यहरु छुट्टै कोठामा बस्ने वा सो सम्भव नभएमा बिरामीसँग कमसेकम १ मिटरको दूरी कायम गर्ने (जस्तैः छुट्टै खाटमा सुत्ने)। (बच्चालाई दूध खुवाइराखेका आमाहरुलाई यो लागू नहुन सक्छ। आमाको दूधको महत्व तथा आमाको दूधबाट बच्चामा अन्य यस्तै प्रकारको भाइरस सर्ने सम्भावना न्यून भएको हुनाले आमाले बच्चालाई दूध खुवाउन सक्छिन्। तर, आमाले बच्चालाई छुनुअघि र पछि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ तथा बच्चाको नजिक हुँदा मेडिकल मास्कको प्रयोग गर्नुपर्छ। साथै, उनले अरु उल्लेखित सरसफाइको नियम पालना गर्नुपर्छ)
- हेरचाह गर्ने व्यक्तिको सङ्ख्या सकेसम्म कम राख्ने। राम्रो स्वास्थ्य अवस्था भएको, कुनै दीर्घरोग वा प्रतिरक्षा प्रणाली सम्बन्धी रोग (वा अवस्था) नभएको एउटै व्यक्तिले वा सकेसम्म कम व्यक्तिले हेरचाह गर्ने। बिरामी पूर्ण रुपमा निको वा लक्षणहरु पूर्ण रुपमा निको नहुँदासम्म अन्य व्यक्ति आगन्तुकहरुलाई बिरामीको नजिक जान नदिने।
- बिरामी वा बिरामीको वरपरको स्थानसँग कुनै प्रकारको सम्पर्कमा आएपछि हातको सरसफाइ गर्ने। साथै, खाना बनाउनुअघि र खाना बनाइसकेपछि, खाना खानुअघि, शौचालयको प्रयोग गरेपछि र यदि हात मैलो भएमा हातको सफाइ गर्ने। हात हेर्दा मैलो देखिएको छैन भने, रक्सी मिसिएको रसायन प्रयोग गर्न सकिन्छ। हात हेर्दा मैला देखिन्छ भने साबुनपानीले हात धुने।
- साबुनपानीले हात धोइसकेपछि एकपटक मात्र प्रयोग गर्न मिल्ने कागजको तौलियाले हात पुछ्नु उत्तम हुन्छ। यदि सो उपलब्ध नभएमा सफा कपडाको तौलियाको प्रयोग गर्ने र उक्त कपडालाई नियमित रुपमा बदल्ने।
- बिरामीले सधैं मेडिकल मास्कको प्रयोग गर्नुपर्दछ साथै हरेकदिन नयाँ मास्कको प्रयोग गर्नुपर्दछ। मेडिकल मास्क उपलब्ध नाभएकोे खण्डमा व्यक्तिले वा प्रयोग नगर्दा खोक्दा वा हाछ्युँ गर्दा डिस्पोजेबल पेपरले नाक तथा मुख छोप्ने गर्नुपर्दछ र उक्त सामग्री सुरक्षित रुपमा व्यवस्थापन गर्ने वा सफा गर्ने गर्नुपर्छ (जस्तै, रुमाल नियमित रुपमा साबुन वा सरफपानीले धुने)।
- हेरचाह गर्ने व्यक्तिले पनि बिरामीसँग एउटै कोठामा रहँदा मेडिकल मास्कले नाक र मुख छोप्ने। प्रयोग गरिरहँदा मास्कलाई छुने वा चलाउने गर्नुहँुदैन। यदि मास्क मैलो भएमा वा भिजेमा त्यसलाई तुरुन्त नयाँ, सफा र सुख्खा मास्कले बदल्ने। मास्क निकाल्दा सुरक्षित तरिका अपनाउने, मास्कको अगाडिको भाग नछुने, पछाडिबाट खोल्ने र तुरुन्त उक्त मास्कलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने तथा हातको सरसफाइ गर्ने।
- शरीरबाट निस्कने तरल पदार्थहरुको प्रत्यक्ष सम्पर्कमा नआउने वा नछुने, नचलाउने। (विशेषगरी नाक र मुखबाट निस्कने पदार्थ तथा दिसापिसाब)। बिरामीलाई श्वासप्रश्वास सम्बन्धी सेवा वा दिसापिसाब वा अन्य फोहोर चलाउँदा डिस्पोजेबल मास्क वा ग्लोब्स (पञ्जा) लगाउने। मास्क वा ग्लोब्स (पञ्जा) लगाउनु र निकाल्नुअघि र पछि साबुन पानीले हात धुने।
- मास्क वा ग्लोब्स (पञ्जा) लाई पुनः प्रयोग नगर्ने।
- बिरामीले छुट्टै कपडा वा भाँडा प्रयोग गर्ने, कपडा तथा भाँडाहरु प्रयोगपछि साबुनपानीले राम्रोसँग सफा गर्ने। उक्त सामग्रीहरु राम्रोसँग सफा गरेपछि पुनः प्रयोग गर्न सकिन्छ।
- बिरामीले प्रयोग गर्ने कोठाको नियमित छोइने ठाउँ, सतह तथा वस्तुहरु जस्तै टेबल, खाट तथा अन्य फर्निचरको सतहलाई दिनदिनै सफा गर्ने तथा निर्मलीकरण गर्ने। सफा गर्दा सुरुमा साबुन वा सरफपानीले पखाल्ने र त्यस पछि ०।१ प्रतिशत सोडियम हाइपोक्लोराइड घोल ९१००० पिपिएम बराबर० ले सफा गर्ने।
- शौचालय तथा नुहाउने ठाउँको सतहहरु कमसेकम दिनमा एकपटक सफा गर्ने तथा निर्मलीकरण गर्ने। सफा गर्दा सुरुमा साबुन वा सरफ पानीले पखाल्ने र त्यस पछि ०।१ प्रतिशत सोडियम हाइपोक्लोराइड घोल ९१००० पिपिएम बराबर० ले सफा गर्ने।
- बिरामीको कपडा, ओछ्यानमा प्रयोग हुने कपडा तथा नुहाउँदा वा हात धुँदा प्रयोग गर्ने कपडा वा रुमाल साबुन पानीले नियमित धुने वा मेसिनमा ६०(९० डिग्री सेल्सियस तापक्रममा सरफले धुने तथा सुकाउने। प्रयोग गरिएका कपडा छट्टै झोलामा राख्ने तथा उक्त कपडाहरुलाई अरु कपडा तथा छालाको सम्पर्कमा आउन नदिने।
- बिरामीले छोएका सतह तथा प्रयोग गरेका कपडाहरुको सरसफाइ गर्दा ग्लोब्स (पञ्जा) तथा सुरक्षा गर्ने कपडा (प्लास्टिकको एप्रोन) लगाउने। एकपटक मात्र प्रयोग गर्न मिल्ने ग्लोब्सको प्रयोग गर्दा उक्त ग्लोब्सलाई प्रयोगपछि सुरक्षित व्यवस्थापन गर्ने। पुन प्रयोग गर्न मिल्ने ग्लोब्सको प्रयोग गर्दा हरेक पटक प्रयोग पछि ग्लोब्सलाई साबुनपानीले राम्रोसँग धुने तथा ०।१ प्रतिशत सोडियम हाइपोक्लोराइड घोल ९१००० पिपिएम बराबर०ले सफा गर्ने। कुनै पनि ग्लोब्सको प्रयोग गर्नुअघि वा पछि साबुनपानीले हात धुने।
- घरमै हेरचाह गर्ने क्रममा प्रयोग भएका ग्लोब्स, मास्क तथा अन्य फोहोरलाई बिरामीको कोठामा छोप्न मिल्ने छुट्टै भाँडामा राख्ने तथा त्यसलाई सङ्क्रमित फोहोरको रुपमा व्यवस्थापन गर्ने। सङ्क्रमित फोहोरको व्यवस्थापनमा स्थानीय तहको जिम्मेवारी तथा भूमिका महत्वपूर्ण रहन्छ। (स्थानीय रुपमा उक्त सङ्क्रमित फोहोरहरु अनुगमन नगरी खुला ठाउँमा फाल्नु हुँदैन, स्यानिटरी ल्यान्डफिलमा व्यवस्थापन गर्नुपर्छ)
- बिरामीले प्रयोग गर्ने वस्तु वा उसका वरिपरिका वा कोठाको वस्तुको सम्पर्कमा नआउने, प्रयोग नगर्ने (जस्तैः दात माँझ्ने ब्रस, चुरोट, खाने भाँडा, खाना, पेय पदार्थ, रुमाल, तौलिया, ओछ्यानमा प्रयोग हुने कपडा तन्ना सिरक प्रयोग नगर्ने)
संक्रमित वा शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरुको व्यवस्थापन
संक्रमित वा शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरु जो प्रायः हेरचाह गर्ने आफन्त वा स्वास्थ्यकर्मी हुन्छन्, तिनीहरुको स्वास्थ्य अवस्था पछिल्लो सम्पर्कको कम्तीमा १४ दिनसम्म निगरानी गरिनु पर्छ।
संक्रमित वा शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरु भन्नाले शंकास्पद बिरामीमा लक्षण देखिनु भन्दा २ दिन अगाडि र देखिएपछिको १४ दिनसम्म तल उल्लेखित गतिविधिमा संग्लग्नलाई बुझ्नुपर्छ।
- कोभिड-१९ का बिरामीसँग १ मिटर वा सोभन्दा कम दूरीमा १५ मिनेटभन्दा बढी आमनेसामने भएको
- बिना पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट कोभिड-१९ को बिरामीलाई सिधा सम्पर्क हुनेगरी हेरचाह गरेको
- थोरै समयका लागि भए पनि कोभिड-१९ को बिरामीसँग एउटै बन्द वातावरणमा बसेको (एउटै कार्यक्षेत्र भएको, एउटै कक्षा कोठामा भएको, एउटै भेलामा संग्लग्न भएको)
- कोभिड- १९ को बिरामीसँग एउटै गाडीमा नजिक रही यात्रा गरेको
- स्थानीय तबरमा जोखिमपूर्ण भनी पहिचान गरिएका अवस्थाहरु
यस्ता संक्रमित वा शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरु र स्वास्थ्य सेवा प्रदायकबीच कुनै न कुनै माध्यमबाट नियमित सम्पर्क भइराख्नु पर्छ ताकि आवश्यक परेको खण्डमा संक्रमित वा शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण वा ल्याब टेस्ट गर्न सकियोस्।
यदि संक्रमित वा शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरुमा लक्षणहरु देखा परेमा, उल्लेखित कदमहरु चाल्नुपर्छ।
- कोरोना संक्रमणको उपचारको लागि तोकिएको स्वास्थ्य संस्थामा जानकारी दिने
- संक्रमित वा शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरुले गुणस्तरीय मेडिकल मास्क लगाउने
- संक्रमित वा शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरुले सार्वजनिक यातायात प्रयोग गर्नु हुँदैन, सम्भव भएसम्म एम्बुलेन्स वा व्यक्तिगत गाडी प्रयोग गर्ने
- संक्रमित वा शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरुले अन्य स्वस्थ व्यक्तिसँग कम्तीमा १ मिटरको दूरी कायम गर्ने
- संक्रमित वा शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरुको थुकको छिटा वा शरीरको कुनै तरल पदार्थ रहनसक्ने सतहलाई साबुनपानीले धुने र ०.५ प्रतिशत ब्लिचको घोलले सफा गर्ने।
विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका यी विधिहरु अहिले उपलब्ध तथ्यांक तथा जानकारीमा आधारित हुन्। स्थानीय परिवेश देशैपिच्छे फरकपर्ने हुनाले सरकारले अबलम्वन गर्ने रणनीति पनि फरकफरक हुन्छन्। यद्यपि महामारी फैलिसकेपछि अपनाइने कुनै पनि रणनीति रोकथाम गर्नुभन्दा उत्तम हुँदैन।
नेपालको प्रसंगमा महामारी रोक्न अझै सम्भावना रहेकै हुनाले आम जनताले लकडाउन अनुशासित भई पालना गर्नुको विकल्प छैन।