प्रेचन थपलिया
कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वका धेरै मुलुक अहिले लकडाउनमा छन्। नेपालमा पनि चैत ११ गतेदेखि सुरु भएको लकडाउन जारी छ। यसले सबै क्षेत्रलाई प्रभाव पारेको छ। पछिल्ला दिनमा नेपालमा संक्रमितको संख्या बढ्दै गइरहेको छ। संक्रमितको संख्या बढेजस्तै यो समयमा मानसिक रूपमा डर, त्रासको भयले पनि जरो गाडिसकेको छ।
स्वास्थ्य, शिक्षा, आर्थिक, समाजिक लगायत हरेक क्षेत्रमा कोरोना र लकडाउनको गम्भीर असर परेको छ। म आफू पनि एक स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रकै विद्यार्थी भएका कारण यो क्षेत्रका विषयमा राम्ररी बुझ्ने मौका पाएकी छु। लकडाउनका यो समयमा समस्याहरू अनुभव गर्ने अवसर मिलेको पनि छ।
लकडाउनको यो समयमा अहिले धेरै मानिसलाई अनुशासनको दायरामा राख्न कठिन परेको छ। कोरोना फैलन नदिन लकडाउनलाई सकारात्मक ढंगले लिएपनि लकडाउनको अवधि बढ्दै जाँदा मानिसहरुमा थप मानसिक तनाव सिर्जना भइरहेको छ।
शैक्षिक पाटोबाट हेर्दा अहिले धेरै विद्यालय, कलेजहरूले अनलाइन कक्षा सुरु गरेका छन्। कक्षाकोठामा गएर नियमित अध्ययनअध्यापन गर्न नमिल्ने अवस्थामा अनलाइन कक्षा सुरु हुनु सकारात्मक कुरा हो। यसले केही हदसम्म विद्यार्थी र शिक्षकहरुमा सकारात्मक ऊर्जा ल्याएको छ।
सबैभन्दा खुशीको कुरा लकडाउनको समयमा शैक्षिक क्षेत्रमा पूर्णविराम नलगाउन अनलाइन शिक्षाले ठूलो भूमिका खेलेको छ। विभिन्न स्कुल, कलेजले डिजिटल प्रणालीबाट पठनपाठन सुरु गर्नु राम्रो कुरा हो। विधार्थीलाई शिक्षाबाट टाढा नराख्न जुन अपिल गरिएको छ र जुन प्रयास भइरहेको छ त्यो साँच्चै प्रशंसनीय कदम छ।
म बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अध्यनरत छु। लकडाउनका कारण कलेजमा गएर अध्ययन गर्ने बाटो बन्द भएको छ। तर यो समयमा कलेजले सुरु गरेको अनलाइन कक्षाबाट धेरै सिक्ने र जान्ने मौका पाएको छु। कलेजको यो कदमलाई हामीले सकारात्मक रुपमा लिँदै अध्ययन गरिरहेका छौं।
डिजिटल शिक्षा भन्ने बित्तिकै सबैलाई समान सहजता छ भन्न सकिने अवस्था छैन। यो कठिन समयमा अभिभावकले अनलाइन शिक्षाका लागि आफ्ना छोराछोरीलाई सबै सामाग्री पुर्याउन सक्छन् नै भन्ने पनि हुँदैन। सबै विद्यार्थीको पहुँचमा इन्टरनेट नहुन पनि सक्छ। यो विषयमा पनि बहस हुन आवश्यक छ।
सुन्दा र देख्दा अनलाइन शिक्षा निकै राम्रो र प्रशंसायोग्य कदम देखिए पनि यसले धेरै अभिभावकलाई समस्यामा पारेको छ। परिवारको इच्छा हुँदाहुँदै पनि उनीहरुले बालबालिकालाई अनलाइन शिक्षाको व्यवस्था गर्न नसक्ने अवस्था छ। केही शिक्षण संस्थाले अनलाइन क्लासमा अनिवार्य सहभागिता जनाउनै पर्ने बाध्यात्मक निर्देशन जारी गरेका छन्। यसले विद्यार्थीमा पर्ने मनोसामाजिक असरलाई नजरअन्दाज गरेको छ। यस्ता विषयले विद्यार्थीको समस्या समाधान गर्ने भन्दा पनि झन् समस्या निम्त्याउन सक्छ। अनलाइन कक्षामा सहभागी नभएर कोर्स छुट्यो भने उसले आफैँले रिभिजन गर्नुपर्छ भन्ने जस्ता कुराले विद्यार्थीको भविष्यमाथि समस्या ल्याउन सक्छ। यसले विद्यार्थीहरुबीचमा नै फाटो ल्याउने काम गर्न सक्छ। त्यसकारण अनलाइन कक्षा सञ्चालन गर्दा विद्यार्थी र अभिभावकको पक्षबाट पनि सोच्नु पर्छ।
प्राविधिक समस्याका कारण विद्यार्थीले अनलाइन कक्षामा सहभागी हुन सकेन भने विकल्प के हुन सक्छन्? विद्यार्थीको कुनै दोष नहुँदानहुँदै पनि उसलाई कक्षा अगाडि बढिसक्यो, अब आफैँ उक्त कोर्सको तयारी गर, हाजिर काटियो भन्यो भने त्यसले विद्यार्थीमा मानसिक असर पर्छ।
अझ स्वास्थ्य क्षेत्रका विषयहरुको पठनपाठन हो भने त अनलाइन कक्षा त्यति धेरै प्रभावकारी नहुन पनि सक्छ। बिरामीको परिस्थितिलाई नियाल्दै प्रयोगात्मक तरिकाले जानुपर्ने स्वास्थ्य शिक्षामा अनलाइनमार्फत् सैद्धान्तिक ज्ञान मात्र दिएर त हुँदैन। यसले कोर्ष अगाडि बढाउन त मद्दत गर्ला त गुणस्तर कस्तो हुने हो? भोलिका दिनमा सैद्धान्तिक ज्ञान हुने तर प्रयोगात्मक सीप नहुने हो भने कस्तो अवस्था आउला? यसले त विद्यार्थीको नतिजामा मात्र होइन, दक्षतामा पनि असर गर्न सक्छ। त्यसकारण अनलाइन शिक्षाको सही सदूपयोग हुनुपर्छ। कोर्स सिध्याउने वा अगाडि बढाउने गरी भन्दा पनि विद्यार्थीलाई बुझाएर र समस्याको पहिचान गर्दै अगाडि जानु उपयुक्त हुन्छ।
लकडाउन जारी रहेको अवस्थामा अनलाइन शिक्षाबाहेकको विकल्प छैन। तर यसलाई कसरी व्यवहारिक र गुणस्तरीय बनाउने भन्नेमा ध्यान जान आवश्यक छ। यो समयमा विद्यार्थीलाई बाध्यात्मक रुपमा पढाउने भन्दा पनि अन्तरक्रियात्मक पठनपाठन गर्नु उपयुक्त हुन सक्छ। होइन भने भोलिको नतिजा कस्तो आउला?