शर्मिला पोखरेल
किशोर-किशोरीले पर्याप्त प्रजनन जोखिमको सामना गरिरहेका छन्। विश्वव्यापी रूपमा प्रत्येक वर्ष ७० हजार किशोरी सही जानकारी र आवश्यक चेतनाको अभावले जटिल गर्भावस्थाको कारण मरिरहेका छन्। यसले पनि अभिभावकीय जिम्मेवारीको बोध पक्कै गरेको छ।
यौन र प्रजनन स्वास्थ्यमा किशोर-किशोरीको अधिकार बढ्दो विश्वव्यापी प्राथमिकता पनि हो। दिगो विकास लक्ष्यमा किशोर-किशोरीलाई स्पष्ट रुपमा समावेश गरिएको छ। संयुक्त राष्ट्रसंघले महिला, बच्चा र किशोर-किशोरीको स्वास्थ्यको लागि विश्वव्यापी रणनीति निर्माण गरेको अवस्था एकातिर छ भने अर्कोतिर दैनिक आफन्तबाटै हुने हत्या, हिंसा र बलात्कार पनि बग्रेल्ती नै सुनिइरहेका छन्।
'ह्या, हामीलाई कसले पो सिकाएको थियो र, ठूलो भएपछि आफैं सिकिहाल्छन् नि। यस्तो कुरा त बाआमाले कसरी सिकाउने हो र, यस्तो कुरा सिकाउने पूरै जिम्मेवारी स्कुल को पो हो त' भन्ने धारणा नै आम अभिभावको धारणा हो। यौन तथा प्रजनन स्वास्थ्य भन्ने बित्तिकै यौन सम्पर्कमा सीमित बुझाइ पक्कै पनि घातक सिद्ध भइरहेको छ।
सन्तानोत्पादन प्रक्रिया प्राकृतिक प्रदत्त कुरा हो। जत्ति सहज छ अभिभावक बन्न, त्यति नै जटिल छ, जिम्मेवार अभिभावक बन्न। दैनिक जीवनमा यस्ता कैयन् कुराकानी यौनसँग जोडिएर आएका हुन्छन्, हामीले कसरी समाधान गरेका छौं ती अनुत्तरित प्रश्नहरु? अभिभावकलाई योबारे सुन्दा जटिल अनुभव हुन्छ। तर त्योभन्दा जटिल हुन्छ, केटाकेटीको मानसपटलमा नसुल्झिएका यौनसम्बन्धी उत्सुकताहरु। मानौं, यो विषय खिल पल्टेर रहेको हुन्छ, उनीहरुको मानसिकतामा।
मेरो आठ वर्षको छोराको जिज्ञासाले मलाई पनि हैरान तुल्याउँछ। ऊ जान्न चाहन्छ, 'म कसरी जन्में, म केटा, दिदी केटी कसरी? मैले कपाल काटेर केटा, दिदी कपाल बाटेर केटी हो मामु?' यस्तैयस्तै प्रश्नहरु बारम्बार उसको मष्तिस्कमा छाइरहेका हुन्छन् र मेरो उत्तरले उसको उत्सुकता मेटाउन सकिरहेको छैन। उसको यस प्रकारको यौन जिज्ञासालाई हामी बेतुक प्रश्नको संज्ञा दिन्छौं किनकि सामाजिक मूल्यले यस्ता छलफललाई उच्छृंखलताको रुपमा लिन्छ।
यो उदाहरण मैले किन व्यक्त गरें भने हाम्रो आफ्नो बच्चासँग यौन सम्बन्धी सञ्चार, संवाद कस्तो भइरहेको छ भन्नेबारे अभिभावकीय चासो उठ्नु आवश्यक छ। सामान्य छलफलमा पनि हामी सहजै यो त स्कुलको जिम्मेवारी हो भनिदिन्छौं, मानौं यो शिक्षा दिनु अनैतिक कार्य हो।
हुन त अभिभावकहरुले आफ्ना सन्ततिको दुःखसुखको अनुभव बिना बोलेर नै सुन्ने गर्छन्। तर पनि जीवनका महत्वपूर्ण आयामहरूमा आफ्ना सन्तान केकस्तो अनुभव गर्छन् भन्ने विषयमा अभिभावकहरु आफ्नो सन्ततिको लागि चाहिने शिक्षाको विषयमा कति संवेदनशील छन् भन्ने कुरा पनि महत्वपूर्ण हुन आउँछ। सही सञ्चार नै मुख्य कडी हो, जसले अभिभावक, किशोर-किशोरी तथा शिक्षकलाई जोडेको हुन्छ।
यहाँ सन्देश पठाउने तरिका नै गलत भयो भने सन्देश प्राप्त गर्नेले कस्तो सन्देश प्राप्त गर्ला? भोलि त्यो सन्देश आफ्नो जीवनमा प्रयोग गर्दा उसले केकस्तो परिस्थितिको सामना गर्नुपर्ला भन्ने कुरातर्फ चासो बढाउन जरुरी छ। शिक्षाले युवा व्यक्तिको व्यवहार, मार्गदर्शन र स्वस्थ व्यवहार परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यौन र प्रजनन स्वास्थ्य शिक्षा प्रदान गर्न स्कुल शिक्षकहरूको महत्वपूर्ण भूमिका त हुन्छ नै तर पनि जीवनोपयोगी सम्वेदनशील शिक्षा पूर्ण रुपमै स्कुलको मात्र जिम्मा लगाउनु कत्तिको उपयोगी होला? के यसमा अभिभावकको कुनै भूमिका रहँदैन? यो सोचनीय विषय हो।
यौनिकता शिक्षा संसारमा धेरै समयअघि सुरू भए तापनि युनिसेफ २००१ का अनुसार, १२ करोड युवा विवाहपूर्व असुरक्षित यौन सम्बन्ध र असुरक्षित गर्भपतनमा संलग्न रहेको कुरा विश्वव्यापी तथ्यांकहरूले देखाउँछन्। यो अवस्था सुन्दा र यस्तो तथ्यांक पढ्दा कसको आङ सिरिङ्ग नगर्ला र? सहरीकरण र माइग्रेसनको रूपमा विश्वमा भइरहेका द्रुत परिवर्तनहरूले यौनिकताको बारेमा ज्ञान प्रदान गर्ने तरिकालाई प्रभावित गरेको छ। चाहे शिक्षक हुन्, चाहे अभिभावक, आजकल किशोरावस्थाका बारेमा विचारहरू विभिन्न मिडियामार्फत विश्वभरि फैलिएका छन्। किशोर-किशोरी पनि सहज रुपमा यस्ता साइटमार्फत सिक्न सकिरहेको बताउँछन्। यसरी अभिभावक वा शिक्षकको सही निर्देशन विना यस्ता साइटहरु हेर्नाले युवायुवतीमा गहिरो नकारात्मक प्रभाव पनि पर्न सक्छ।
अभिभावकको पालनपोषण र संलग्नताले बच्चालाई नैतिक मूल्य-मान्यता र सामाजिकीकरणमा प्रभावकारी सहयोग पुर्याइरहेको हुन्छ किनकि अभिभावक नै उनीहरुको लागि प्रेरणाका स्रोत हुन्। अभिभावकले आफ्ना बच्चालाई शारीरिक विकास, शारीरिक स्नेह, भद्रता, नग्नता, लैंगिक भिन्नता, यौन व्यवहार र विवाहको बारेमा सिकाउँछन्, जसले बच्चाहरूलाई सकारात्मक रुपमा स्वीकार गर्न मद्दत गर्छ। यो नै यौन समाजिकीकरणको एक प्रकार हो, जुन परिवारहरुमा प्रायः देखिन्छ। अभिभावकहरु थाहै नपाई यस्ता कुराहरु सिकाइरहेका हुन्छन्। चाहे धम्कीपूर्ण रुपमा प्रेम विवाहलाई अस्वीकार गरुन्, त्यो पनि यौन शिक्षा नै हो। यहाँ उनीहरुको चासो विवाहपूर्व यौन सम्पर्कको निरोध नै हो, जसले यौनजन्य जोखिमबाट आफ्ना सन्ततिलाई जोगाउने काम गर्छन्।
अभिभावकहरू घरमा यौनिकता शिक्षाबारे छलफल गर्न, किशोर-किशोरीसित छलफल गर्न हिच्किचाए तापनि स्कुलहरूद्वारा प्रदान गरिने यी कार्यक्रमहरूको समर्थन गर्छन् भन्ने कुराले पनि आफूद्वारा सिकाउन असहज भए तापनि अभिभावकले यो शिक्षाको आवश्यकताको अनुभूति गरेको कुरा बुझ्न सकिन्छ। अभिभावकहरु सचेत छन् भने वृहत् यौनिकता शिक्षाले पक्कै पनि युवाहरुको उत्सुकताको जुन आवश्यकता छ, त्यो पूरा गर्न सक्छ। यसैले यौनिकता शिक्षाले यौन स्वास्थ्य सम्बन्धी प्रभावकारी ज्ञान प्रदान गर्ने कुरामा दुईमत छैन भन्न सकिन्छ। पश्चिमा मुलुकमा मात्र होइन, हाम्रो देशभित्र गरिएका विभिन्न अध्ययनहरु यस विषयका प्रमाण हुन्।
युवा व्यक्तिमा स्वस्थ यौन कल्याणको लागि अभिभावकद्वारा गरिने यौन सञ्चार र संवादले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। अध्ययनहरुले यो पनि देखाएका पनि छन् कि अभिभावक र छोराछोरीबीच कसरी यौन सम्बन्धी कुराकानी हुनुपर्छ भन्नेबारे आवश्यक मार्गनिर्देशनको अभाव छ। जसले युवा पुस्ता आफ्ना अभिभावकसँग यौनसँग जोडिएका कुराकानी गर्न लज्जा अनुभव गर्छन्। सरल रुपमा कुरा गर्दा रजस्वलाका सुरुवाती दिनहरुमा एउटी आमाले छोरीलाई गर्नुपर्ने कुराहरु धेरै हुन्छन्। तर सामाजिक मूल्यमान्यता र धार्मिक पक्ष ठूला पर्खालका रुपमा देखिन्छन्। त्यसरी नै एक पिताले आफ्नो किशोर छोरालाई सम्झाउनुपर्ने कुराहरु धेरै हुन्छन्। उसको छट्पटी अनि पहिलो वीर्यस्खलन उसको भयग्रस्त मानसिकता एक छोरी पहिलो राजस्वलामा त्रसित बन्नुभन्दा कम दुःखदायी हुँदैन। यौन सम्बन्धी सञ्चार भनेको यौन सम्पर्कको मात्र कुरा होइन, योभन्दा विस्तृत र किशोर-किशोरीलाई सही मार्गनिर्देशनको लागि जान्नैपर्ने धेरै कुराहरु अभिभावक र छोराछोरीको संवाद र सञ्चार अन्तर्गत पर्छन् र यो अत्यावश्यक शिक्षाको सुरुवात घरबाटै सुरु हुनुपर्छ।
यसरी विद्यालयमा मात्र आफ्नो जिम्मेवारी सुम्पिनाले र किशोरकिशोरीको ज्ञान प्राप्त गर्न पाउने अधिकारबाट वन्चित गर्नाले उनीहरु अन्य अनाधिकृत माध्यम खोज्न बाध्य हुन्छन्। यसैले आजैबाट उनीहरुको मनोविज्ञान बुझेर नै अभिभावकले एक अभिभावकीय दायित्व निर्वाह गर्नुपर्छ।
हाम्रो सम्पत्ति नै छोराछोरी हुन्। उनीहरुले असल अभिभावकको मैत्रीपूर्ण व्यवहार र निर्देशनबाट नैतिक मार्ग अपनाउनु नै स्वस्थ समाज निर्माणको कोशेढुंगा हो। यसतर्फ अभिभावकको ध्यान जानु जरुरी छ।
(पोखरेल त्रिभुवन विश्वविद्यालय, स्वास्थ्य तथा जनसंख्या विभागकी उपप्राध्यापक हुन्।)