काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई ८ हप्तापछि दोस्रो मात्रा दिने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयले कोभिड-१९ प्राविधिक सल्लाहकार समितिको प्रस्ताव अनुसार दोस्रो मात्रा खोप ८ हप्तापछि दिने निर्णय गरेको हो।
सिफारिस समितिले कोभिड विरुद्धको पहिलो खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा ८ देखि १२ हप्ताभित्र दिन मन्त्रालयलाई प्रस्ताव गरेको थियो।
सरकारले कोभिड खोप अभियान सुभारम्भ गर्दा दोस्रो मात्रा २८ दिनपछि दिने निर्णय गरेको थियो। उक्त निर्णय संशोधन गर्दा ८ हप्तापछि मात्र दोस्रो मात्रा दिने निर्णय गरिएको हो।
‘दोस्रो मात्रा ८ हप्तापछि दिइने छ। दोस्रो मात्रा लगाउने समयमा स्वास्थ्य मन्त्रालयले पुनः सूचना जारी गर्नेछ,’ मन्त्रालय स्रोतले भन्यो।
गत माघ १४ गतेदेखि नेपालमा कोभिड विरुद्धको खोप अभियान सञ्चालन भएको हो। मन्त्रालयका अनुसार आइतबारसम्म देशभर ४ लाख १५ हजार व्यक्तिले पहिलो मात्रा खोप लगाइसकेका छन्।
हालसम्म स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, सरकारी कार्यालयका कर्मचारी,पत्रकार, स्थानीय निर्वाचित जनप्रतिनिधि, नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, युएन एजेन्सीका कर्मचारीले खोप लगाइसकेका छन्।
परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले फागुन २३ गतेदेखि दोस्रो चरणमा समुदाय स्तरमा खोप अभियान सञ्चालन हुने बताए।
उनले भने, ‘पहिलो चरणको खोप अभियान निकै उत्साहपूर्ण देखिएको छ। जिल्लाबाट आएको तथ्यांक हेर्दा ८० प्रतिशतले खोप लगाइसकेका छन्। तीमध्ये कसैलाई कुनै गम्भीर समस्या देखिएको छैन। त्यही उत्साह लिएर अब समुदायमा खोप अभियान सञ्चालन हुनेछ।’
उनले अब देशभरका खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने बताए। उनले भने, ‘जिल्ला समन्वय समिति र स्वास्थ्य तहको निर्णय अनुसार थप खोप केन्द्र थपिने छन्। स्थानीय तहको जनसंख्याको आधारमा तय हुनेछ।’
उनले अहिले देशभरका खोप केन्द्रमा खोप वितरण गर्ने, खोप केन्द्र निर्धारण गर्ने र खोप लगाउने लक्षित समूहको यकिन गर्ने कार्य भइरहेको बताए। देशभर ७ हजार बढी खोप केन्द्र अभियान सञ्चालन हुने अनुमान गरिएको छ।
उनले तत्काल कोरोना संक्रमणबाट बच्ने एकमात्र उपाय खोप भएकाले सबैलाई निर्धक्क भएर खोप लगाउन समेत अनुरोध गरे।
नेपालका अक्सफोर्ड एस्ट्राजेनिका र सेरम इस्न्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप प्रयोग गरेको छ।
पहिलो चरणमा भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप प्रयोग गरिएको थियो।
दोस्रो चरणमा सरकारले सोही कम्पनीबाट २० लाख डोज खोप खरिद गरेको छ। २० लाख डोजमध्ये पहिलो चरणमा १० लाख डोज खोप आइतबार मात्र नेपाल आइपुगेको छ।