काठमाडौं- भरतपुर महानगरपालिकामा दुई जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको छ। भरतपुर अस्पतालको पिसिआर प्रयोगशालामा पोजिटिभ देखिएका पाँच जनामध्ये २ जनामा जिन सिक्वेन्सिङका क्रममा डेल्टा भेरियन्ट पुष्ट भएको हो।
भरतपुर अस्पतालले पाँच वटा नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो। जनस्वास्थ्य प्रयोगशाला मार्फत २ वटा नमुना अन्तराष्ट्रिय प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्न पठाइएको थियो। सो क्रममा दुवै नमुनामा डेल्टा भेरियन्ट प्रमाणित भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पहिलो लहरको अल्फा भेरियन्ट भन्दा कोरोनाको डेल्टा भेरियन्ट बढी संक्रामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले हिजो आइतबार स्याङजा र गोरखामा पाँच जनामा कोरोना भाइरसको डेल्टा भेरियन्ट पुष्टि भएको सार्वजनिक गरेको थियो।
यस्तै, नुवाकोटमा पनि डेल्टा र डेल्टा प्लस भेरियन्ट भेटिएको छ।