बैतडी- जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन्। आन्दोलित चिकित्सक र स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन्।
प्रदेश सरकार सुदूरपश्चिम सरकारले आफूहरुको मागको सुनुवाई नगरेको भन्दै सेवा ठप्प गर्नु परेको निमित मेसु हरिचन्द्र बिष्टले बताए। प्रदेश सरकार समाजिक विकास मन्त्रालयले आफूहरुले काम गरेको अतिरिक्त भत्ता नदिएको भन्दै चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलन थालेका हुन्।
अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले अस्पतालबाट र्यालीसहित जिल्ला प्रशासन कार्यालय बैतडी पुगेर प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मासंग छलफल गरेको छन्।
अतिरिक्त समय र सार्वजनिक बिदाको दिन गरेको कामको अतिरिक्त भत्ता नपाएकाले आन्दोलनमा उत्रिनुपरेको डा सुरेस नेपालीले बताए । उनले भने, ‘प्रदेशले बेला बेला दिन्छु दिन्छु भनेर ११ महिला हामीलाई ठगेको छ। भोको पेटमा काम गर्ने सकिँदैन।’
डा हरिशचन्द्र विष्टका अनुसार चालु आर्थिक वर्षमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अतिरिक्त भत्ता, जोखिम भत्ता लगायतका सुविधाहरु नपाएको र बेलाबेलामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएपछि आन्दोलनमा उत्रिनुपरेको हो।
अतिरिक्त भत्ता र जोखिम भत्ताका बिषयमा सबै निकाय र सामाजिक विकास मन्त्रालयको समेत ध्यानाकर्षण गराइसकेको तर कुनै सुनुवाई नभएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पताल प्रशासनकमा आन्दोलित डाक्टरहरुको समूहले तालाबन्दी गरेका छन् भने जिल्ला प्रशासन कार्यालयलाई निमित्त मेसु विष्टले राजीनामा बुझाए।
आफूहरुलाई बेलाबेलामा झुटो अश्वासनमात्रै दिने गरेको तर समस्याको समाधान नभएपछि आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गर्ने अवस्थामा पुगेको उनले बताए। प्रयोगशाला विभागमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने जोखिम भत्ता नपाइएको उनले बताए।
आफूहरुका समस्याका विषयमा ठोस पहल र निर्णय नभएकाले आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरिएको उनले जानकारी दिए।
अस्पताल विकास समितिका अध्यक्ष पार्वती भट्टले सामाजिक विकास मन्त्रालयले रकम निकासा नदिँदा समस्या भएको बताइन्। यो समस्याका विषयमा मन्त्रालयको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएको उनले जानकारी दिइन्।
यसबारेमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नागरिकहरुलाई अप्ठ्यारो हुने काम नगर्न चिकित्सकहरुलाई सुझाएका छन्। ‘जायज मागको बारेमा मैले सचिवसँग कुरा गरेको छु। आशा छ समस्या समाधान होला, नागरिकहरुलाई तथा बिरामीहरुलाई मर्का पर्ने काम गर्नु भएन्’ उनले भने।