बैतडी- जापानिज इन्सेफलाइटिसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।
कैलालीको घोडाघोडी नगरपालिकामा दुई जनाको मृत्यु भएको हो। स्वास्थ्य कार्यालय कैलालीले घोडाघोडी नगरपालिकाका ९ वर्षीय बालक र ६० वर्षीय पुरूषको जापानिज इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु भएको बताएको छ।
लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट जिल्लाको गौरीगङ्गा, घोडाघोडी र धनगढी उपमहानगरपालिकामा थप चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले बताइन्।
उनले गौरीगङ्गामा ६ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा १ जना एक ४६ वर्षीय महिला र धनगढीमा ५ महिनाको बालकमा संक्रमण पुष्टि भएको बताइन्।
संक्रमितको उपचार विभिन्न अस्पतालमा भइरहेको निमित्त प्रमुख जोशीले बताइन्। पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस रोग सर्छ। यो रोग लामखुट्टेले सुँगुर, बुँगुर र हाँस आदिलाई टोकेर मानिसलाई सार्छ। तर संक्रमित मानिसबाट मानिसमा भने सर्दैन।
खोप लगाउने तयारी
स्वास्थ्य कार्यालय कैलालीमा आइतवार आपतकालीन बैठक बसी संक्रमण फैलिन नदिन सरोकारवालाहरूसँग छलफल गरिएको छ।
छलफलमा स्थानीय तहहरूसँग समन्वय गरेर संक्रमण फैलिन नदिने, बिरामीको प्रभावकरी उपचार गर्ने र संक्रमण देखिएको क्षेत्रको अनुगमन गरी खोप लगाउने निर्णय भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।
संक्रमण थप फैलिन नदिन खोपको व्यवस्थापन गरेर अहिले बिरामी फेला परेको ठाउँमा खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय कैलालीले लामखुट्टेको टोकाइबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा आग्रह गरेको छ।