काठमाडौं- जुम्ला सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुविधासम्पन्न ब्लड बैंक स्थापनाका लागि अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)ले एक करोड २२ लाद रुपैयाँ सहयोग गर्ने भएको छ।
कर्णालीमा ब्लड बैंक नहुँदा उपचारका लागि आउने धेरै बिरामीलाई समस्या परिरहेको अवस्था छ। बिरामीको स्वास्थ्यलाई ख्याल गर्दै एएनएमएफले प्रतिष्ठानमा ब्लड बैंक स्थापना गर्न सहयोग गर्ने घोषणा गरेको हो।
प्रतिष्ठानमा रगत आवश्यक पर्ने बिरामीका लागि अहिले प्रतिष्ठानमै कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी, कर्मचारी एवं कर्णालीमा रहेका नेपाली सेना तथा प्रहरीले प्रत्यक्ष रगत दान गर्दै आइरहेका छन्।
एएनएमएफले कीर्तिपुरको बर्न सेन्टरको विकास र विस्तारका लागि एक करोड ३० लाख नेपाली रुपैयाँ सहयोग गरेको विषय केही दिन अघि मात्र सार्वजनिक गरेको थियो। एएनएमएफले नेपालको स्वास्थ्य क्षेत्रमा सन् १९९७ देखि नै सहयोग गर्दै आइरहेको छ। हालसम्म एएनएमएफले नेपालमा तीनसय भन्दा बढी परियोजनामा सहयोग गरिसकेको छ।
यसैबीच, एएनएमएफको यस वर्षको वार्षिक साधारण सभा शिकागोमा हुने छ। उक्त साधारण सभामा सहभागी हुन एएनएमएफले सबैसँग आग्रह गर्दै आएको छ। साधारण सभा जुन ७ देखि ९ सम्म हुने छ।