काठमाडौं- वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीको जीवन रक्षाका लागि नेपाल चिकित्सक संघले चाल्नुपर्ने कदमबारे शुक्रबार छलफल हुने भएको छ।
नेपाल चिकित्सक संघले डा. केसीको जीवन रक्षाका लागि सरकारसँग तत्काल वार्ता गर्न र उनका जायज माग सम्बोधन गरी समस्याको समाधान खोज्न जोडदार माग गरेको छ।
संघले आज जारी गरेको प्रेस विज्ञप्तिमा डा. केसी विगत आठ दिनदेखि आमरण अनशनमा रहेको र स्वास्थ्यमा गम्भीर जटिलता देखिन थालेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।
डा. केसीले उठाएका माग जायज रहेको र सरकारले यसअघि नै ती माग पूरा गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको भन्दै संघले दुःख व्यक्त गरेको छ। उनको स्वास्थ्यमा देखिएका जटिलतालाई ध्यानमा राख्दै जीवन रक्षाका लागि तत्काल वार्ता गरी माग सम्बोधन गर्न संघले सरकारसँग आग्रह गरेको छ।
यसैबीच, डा. केसीका माग सम्बोधन गर्न सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न संघले आगामी शुक्रबार २० गते दिउँसो १ बजे केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गर्ने भएको छ।
छलफलमा संघका पूर्वअध्यक्ष, पूर्वमहासचिव, विशेषज्ञ चिकित्सक समाज, अस्पताल निर्देशक, आवासीय चिकित्सकसहित सम्पूर्ण चिकित्सकलाई सहभागी हुन संघले अनुरोध गरेको छ।
डा. केसीको जीवन रक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि सबैको सहयोग र समर्थन आवश्यक रहेको संघले जनाएको छ।